Comments Add Comment

स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न बजेट अभाव

११ माघ, काठमाडौँ र पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैय्याको अस्पताल स्थापना गरी सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि हाल पालिकामा रहेका सम्भावित स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने कामलाई अगाडि बढाएको छ । ती अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताए ।

मन्त्रालयका अनुसार अझै पनि पालिकाअन्तर्गतका एक हजार २०० वडामा कुनै स्वास्थ्य सेवा गर्ने संस्था रहेका छैनन् । स्थानीय तथा प्रदेश तहसँग समन्वय गरी वडा तहबाट स्वास्थ्य सेवा तत्काल शुरु गर्न मन्त्रालयले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी सेवा सुरु गर्ने जनाएको छ ।

हाल कति पालिकामा १५ शय्याको अस्पताल सञ्चालन छन् ? यसको विवरण मन्त्रालयले सङ्कलन गरिरहेको छ । राज्यमन्त्री डा यादवले भने, ‘पालिकाबाट आएका विवरणका आधारमा कति स्वास्थ्य संस्थालाई स्तरोन्नति आवश्यक हुन्छ जानकारी पाइन्छ ।’

पालिका तहमा अस्पताल सञ्चालन गर्न आर्थिक अभाव रहेको र आवश्यक बजेट अर्थमन्त्रालयसँग माग गरिएको उहाँले जानकारी दिनुभयो । साथै चिकित्सा उपकरण तथा औषधि खरीद प्रक्रियालाई सरल बनाउन सार्वजनिक खरीद ऐन तत्काल संशोधनको आवश्यकता रहेको राज्यमन्त्री डा यादवले बताए ।

सङ्घीयता कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय अग्रणी 

सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयअन्तर्गतका संरचना तथा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण तथा प्रत्यायोजन सम्पन्न गरेको छ ।

संविधानको अनुसूचीअनुसार मन्त्रालयअन्तर्गतका संरचना तथा विभिन्न ११ वटा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरी सङ्घीयता कार्यान्वयनमा मन्त्रालयले उदाहरणीय काम गरेको हो ।

राज्यमन्त्री डा यादवले भने, ‘यसले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई सहयोग पुग्छ ।’

यसअघि मन्त्रालयले स्थानीय तहलाई संविधानका अनुसूचीले निश्चित गरेका संरचनालाई हस्तान्तरण गरेको थियो । विशेषज्ञता स्वास्थ्य सेवा दिने केही अस्पताल तथा प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयले सङ्घअन्तर्गत राख्ने निर्णय संविधानअनुसार नै गरेको छ ।

हस्तान्तरण गरिएको संरचनामा मन्त्रालय साविकका क्षेत्रीय स्वास्थ्य निर्देशनालय, तालीम केन्द्र, मेडिकल स्टोर, उपक्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय, तोकिएका क्षेत्रीय , अञ्चल , जिल्ला अस्पताल, क्षेत्रीय आयुर्वेद चिकित्सालय, अञ्चल आयुर्वेद औषधालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment