Comments Add Comment

पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’ घोषणा

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चलचित्रको घोषणा गरिएको हो ।

यो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ ।

चलचित्रका लागि अन्य केही कलाकार फाइनल हुन बाँकी रहेको निर्माणपक्षले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै नायिका पूजा शर्माले भनिन्–‘दर्शकले हाम्रो चलचित्रलाई विश्वास गर्नुभएको छ । यसैले यसपटक भने हामी राम्रो चलचित्र निर्माण गर्ने तयारीमा छौ । दर्शकले मलाई ‘गीत’को क्यारेक्टरमा फेरि हेर्न चाहनुभएको छ । यसपटक यो भन्दा पनि विशेष भूमिकामा दर्शकले हेर्न पाउनुहुनेछ ।’

नायक आकाश श्रेष्ठले भने–‘दर्शकको माया र टिमको विश्वासका कारण म यो चलचित्रमा जोडिएको छ । राम्रो काम गर्नेछु ।’ नव–नायक तथा गायक सोनम तोप्देनले भने–‘म नेपाली चलचित्रमा आउँदैछु । दर्शकले पक्कै पनि माया दिनुहुनेछ ।’ कार्यक्रममा सोनमले चलचित्रमा समावेश एउटा गीत गाएर पनि सुनाएका थिए ।

निर्देशक सुदर्शन थापाले दर्शकले यसअगाडि दिएको मायालाई यसपटक पनि कमजोर हुन नदिने बताए । चलचित्रले प्रेमको कथालाई बोल्ने उनको भनाई छ । चलचित्रको छायांकन यूके र नेपालमा गरिनेछ । फेव्रुअरी ९ बाट यो चलचित्रको छायांकन यूकेमा गरिनेछ ।

चलचित्रको छायांकन लागि निर्देशक थापासहितको ४ जनाको टिम मंगलबार यूके उड्दैछ भने कलाकारको टोली फेव्रुअरीको पहिलो साता यूके प्रस्थान गर्नेछ । चलचित्रलाई अमित बस्नेतले निर्माण गर्दैछन् । चलचित्रमा, परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् भने यो चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् । कार्यक्रममा कलाकारको इन्ट्री उनीहरुकै हिट गीतमा नृत्य गरेर गराइएको थियो । ५ जना डान्सरले उनीहरुको हिट गीतमा नृत्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment