Comments Add Comment

भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि दबाव

बलरामको कुरो सुनेर वक्तव्यमा प्रचण्डको हस्ताक्षर

१३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकी नीतिको निन्दा गर्दै जारी गरेको वक्तव्यले सरकारलाई दबावमा पारेको छ । यसबारेमा सरकारको आधिकारिक धारणा माग हुन थालेपछि प्रधानमन्त्रीले वक्तव्यबारे चासो राखेको स्रोतले जनाएको छ ।

नेकपाको तर्फबाट प्रचण्डले जारी गरेको वक्तव्यमा भेनेजुएलाको निर्वाचित सरकारविरुद्ध विपक्षी पार्टीका नेताले आफूलाई राष्ट्रपति घोषणा गरेको सन्दर्भमा अमेरिकाले समर्थन गरेको भन्दै आलोचना गरिएको छ । अमेरिका र उसका गठबन्धन मुलुकको नीतिप्रति कटाक्ष गरेको नेकपाको वक्तव्यले सरकारलाई दबाब परेको छ ।

सत्तारुढ पार्टीको अध्यक्षको विज्ञप्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले पनि कुटनीतिक च्यानलबाट असन्तुष्टि व्यक्त गरेको सरकारका उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।

नेकपाको विज्ञप्तिमा भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मडूरोको समर्थन गरिएको छ । मडूरो अमेरिका बिरोधी दक्षिणी अमेरिकी बामपन्थी नेता स्वर्गीय हृयुगो चाभेजका उत्तराधिकारी हुन् ।

प्रचण्डको वक्तव्यका बारेमा शनिवार प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विमानस्थलमै पत्रकारले प्रश्न गरेका थिए । तर, ओलीले कुनै जवाफ नदिई ‘भट्टराई लडेर घाइते’ भन्ने किस्सा सुनाएर तर्किएका थिए ।

ओलीले यसबारेमा पहिले प्रचण्डसँगै बुझ्ने सम्भावना छ । तर, आइतवार विहानसम्म सरकारको धारणा के हुने भन्ने बारे परामर्श भएको छैन । प्रचण्ड बिरामीका कारण घरैमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘प्रचण्डको वक्तव्य अलि कडै आएको छ । अमेरिकाको नाम नलिई भेनेजुएलाको आन्तरिक मामिला त्यहीँका जनताको बीचमा समाधान हुनुपर्छ भन्नुपथ्र्यो । अहिले हाम्रो सरकारले भन्ने पनि त्यही हो । संवैधानिक र कानुनी बाटोबाट कोही पनि विचलित हुनु हुँदैन, भेनेजुयलाका जनताको अभिमत नै सर्वेसर्वा हुन्छ ।

यो पनि पढ्नुहोस भेनेजुएलामा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै प्रचण्डको कडा विज्ञप्ति

कतिपय वैदेशिक राजनीतिक घटनाक्रममा नेपाल सरकारले नबोल्न पनि सक्छ । तर, पार्टीले आफ्नो धारणा सार्वजनिक गर्दा सरकारकै नीतिका रुपमा बुझ्न नहुने नेकपाका एक नेताले बताए ।

‘नेकपाको भाइचारा सम्बन्ध भएका पार्टीहरु हुन्छन्, त्यस आधारमा पार्टीले वक्तव्य दिए पनि सरकारले त्यही वक्तव्य दिनुपर्छ भन्ने छैन, सरकारको आफ्नो परराष्ट्र नीति छ’ उनले भने ।

नेकपा स्रोतका अनुसार भेनेजुएला प्रकरणमा आएको नेकपा अध्यक्ष प्रचण्डको कडा वक्तव्यमा नेकपाका एक नेताको हालैको भेनेजुएला भ्रमणले पनि मलजल गरेको रहेछ । नेकपा नेता तथा किसान महासंघका उपाध्यक्ष बलराम बास्कोटा एक साताअघिमात्रै भेनेजुएलामा थिए ।

उनी एक कार्यक्रममा भाग लिन कारकस पुगेका थिए । त्यसबेला भेनेजुएलाको राजनीतिक द्वन्द्व सतहमा आइसकेको थियो । बास्कोटाले त्यतिबेलै फेसबुकबाट भेनेजुएलामा अमेरिकी हस्तक्षेपको बिरोध गरेका थिए । उनी फर्किएलगत्तै नेकपाको वक्तव्य उनकै भाषामा आउनु संयोगमात्र थिएन ।

स्रोतका अनुसार बास्कोटाले नै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई यस प्रकरणबारे वक्तव्य जारी गर्न दबाव दिएका थिए । ओली विदेशमा रहेका बेला अरु शीर्षनेताबीच सल्लाह भएरै प्रचण्डको वक्तव्य आए पनि वक्तव्यको कडा भाषाबारे भने नेताहरुले बाहिर आएपछिमात्रै थाहा पाए ।

सुरुमा तयार पारिएको विज्ञप्तिको भाषाभन्दा फरक ढंगले जारी भएपछि नेकपाभित्रै खैलाबैला मच्चियो । मुलुकको परराष्ट्र नीतिभन्दा फरक ढंगले सरकार सन्चालन गर्ने पार्टीको अध्यक्षको वक्तव्य आउँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि पनि दबाव परेको छ ।

केही नबोल्दा पनि हुने र बोले पनि सामान्य कुटनीतिक भाषासहितको वक्तव्य जारी गरे हुने ठाउँमा विद्रोहकालीन माओवादीको भाषा शैलीमा विज्ञप्ति जारी भएकाले सरकारमाथि दबाव परेको हो ।

नेकपाका अध्यक्ष प्रधानमन्त्री र स्थायी कमिटी सदस्य परराष्ट्रमन्त्री भएको अवस्थामा प्रचण्डको वक्तव्यलाई पार्टीको धारणामात्र भनेर सरकार पन्छिन सक्ने अवस्था पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment