Comments Add Comment

‘रणवीर’मा दुई ‘बाघ’को भिडन्तः प्रशान्त, मेरो डेब्यू फिल्मः सुशिल

शुक्रबार अर्थात् माघ १८ गतेबाट चलचित्र ‘रणवीर’ रिलिज हुदैछ । एक्सन लभ स्टोरी चलचित्रमा प्रशान्त ताम्राकार, सुशिल सिटौला, सुवेक्षा खड्का, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका छ । गोविन्द सिंह भण्डारी निर्देशित यस चलचित्रलाई गोमा विष्ट र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

रिलिज मिति नजिकिदै गर्दा चलचित्रका कलाकारहरु निकै उत्साहित छन् । नायक सुशिल सिटौला चलचित्रलाई लिएर निकै आशावादी देखिएका छन् । उनी भन्छन्–‘यो चलचित्रका लागि हाम्रो टिमले नै मिहिनेत गरेको छ । हाम्रो मिहिनेतलाई दर्शकले रुचाउनुहुन्छ ।’

सुशिलाई धेरै दर्शकले कमेडी कलाकारको रुपमा चिन्ने गरेका छन् । ‘होस्टेल रिटन्र्स, सुन्तलीलाई भगाई लग्यो झिल्केले, गाँजा बाजा’ लगायतका चलचित्रमा कमेडी भूमिका निर्वाह गरेका सुशिल यो चलचित्रमा भने एङ्ग्री र रोमान्टिक अवतारमा देखिएका छन् । ‘मेरो कमेडी कलाकारको परिचयलाई यो चलचित्रले बदल्नेछ । अब मलाई दर्शकले एक्सन हिरो भनेर चिन्नु हुनेछ । आफ्नो परिचय बदल्ने गरी नै चलचित्रमा मैले कडा मिहिनेत गरेको छु ।’, सुशिलले भने ।
सुशिलकै भाषामा भन्नुपर्दा, यो उनको डेब्यू चलचित्र हो । उनले भने–‘अभिनयका हिसाबले त होइन । तर, लिड हिरोको रुपमा यो मेरो डेब्यू चलचित्र नै हो ।’

चलचित्रमा सुशिल सिटौला र ‘ऐश्वर्य’ चलचित्रबाट चर्चामा आएका कलाकार प्रशान्त ताम्राकारको भिडन्तलाई देखाइएको छ । चलचित्रको ट्रेलर हेरेका दर्शकले उनीहरुको जुधाईलाई ‘बाघ र स्याल’को उपमा दिएका छन् । सानो कद भएका सुशिललाई ‘स्याल’ बनाएर बलियो शरीर भएका प्रशान्तलाई ‘बाघ’ भनिएको छ ।

तर, प्रशान्त ताम्राकारले चलचित्रमा ‘बाघ र स्याल’को जुधाई नभएर ‘बाघ–बाघ’को भिडन्त भन्न रुचाउँछन् । उनी भन्छन्–‘चलचित्रका लागि त्यस्तै क्यारेक्टर चाहिएको भएर नै उ कलिलो र म पाको उमेरको देखिएका हौँ । तर, चलचित्र हेरिरहँदा दर्शकले दुई बाघ जुधेको पाउनु हुनेछ ।’ प्रशान्त सुशिलको काममा आफू निकै खुसी भएको बताउँछन् ।

चलचित्रको एक्सन खिच्दा कतिपटक साच्चिकै कुटाई खाएको अनुभव प्रशान्त र सुशिलसँग छ । ‘हामीले त्यहाँ फाइट खेल्दा धेरै चोटी साच्चिकै हानिएको छ । प्रायस् फाइट रियल छन्’, सुशिलले भने, ‘एक चोटी त प्रशान्त दाईको सर्ट च्यातिएर रगत नै आएको थियो ।’

चलचित्रको एक्सनको छायांकनको क्रममा खुबै मिहिनेत गरेको उनले सुनाए । ‘हामीले निर्देशकलाई खुशी पार्ने गरी काम गरेका छौ । जब निर्देशकको अनुहारमा खुसी देखिन्छ तब चलचित्र राम्रो भएको संकेत पाइन्छ ।’

यसै चलचित्रबाट दुई नायिकाले डेब्यु गर्दैछन् । सुवेक्षा खड्का र सुपुष्पा भट्टले यसै चलचित्रबाट चलचित्रको यात्रा तय गर्दैछन् । उनीहरु पनि आफ्नो डेब्यु चलचित्रलाई लिएर निकै उत्साहित छन् । सुवेक्षाले भनिन्–‘चलचित्रलाई लिएर निकै उत्साहित छु । यदि यो चलचित्र सफल भयो भने मैले मेरो डेब्यु चलचित्र हिट भयो भन्ने ठाँउ पाउँछु नि त हैन ।’ सुपुष्पाको भनाई पनि त्यस्तै थियो ।

सुवेक्षा चलचित्रको कथा मन परेकाले यस चलचित्रमा काम गरेको बताउँछिन् । उनले भनिन्–‘यो चलचित्रको कथा एकदमै राम्रो छ । त्यसैले पनि मैले यो चलचित्रमा काम गरेकी हुँ ।’ उनी राम्रो चलचित्र बन्नको लागि आफ्नो क्यारेक्टर मात्र राम्रो भएर नहुने बताउँछिन् । ‘मैले मेरो क्यारेक्टमात्र हेरेर चलचित्रमा काम गरे भने राम्रो चलचित्र बन्नेमा विश्वास हुन्न । तर, कथा राम्रो छ भने पक्कै चलचित्र राम्रो बन्छ’, सुवेक्षाले भनिन् ।

‘मिस नेपाल २०१२’की सेकेन्ड रनरअप तथा मोडलिङ क्षेत्रमा चिनिएको नाम हो सुवेक्षा ।  चलचित्रमा दुई नायिका हुँदा आफू हराउने डरबाट आफू बाहिर निस्किएको नव–नायिका सुपुष्पा भट्ट बताउँछिन् ।

सुवेक्षासँगै स्क्रिन शेयर गरेर डेब्यु गर्न पाउँदा आफू निकै खुसी भएको सुपुष्पाले बताइन् । ‘मलाई त चलचित्रमा प्रशान्त दाई, सुशिल र सुवेक्षा दिदी भएर निकै सजिलो भएको छ । त्यसमाथि चलचित्रमा दुई नायिका हुदाँ त्यसले चलचित्रमा सुगन्ध थपेको छ ।’

सुवेक्षा र सुपुष्पा दुबैलाई चलचित्रको सोलो हिरोइन बन्ने रहर पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment