Comments Add Comment

विद्या सुन्दरका ६ महिनाका काम : रानीपोखरीलाई बजेटदेखि सडकमा डस्टविन !

१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो ६ महिनामा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलनगरी महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले ६ महिनामा गरिएका कामलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।

स्थानीय तहको निर्वाचनपछि महानगरपालिकाको नेतृत्वमा विद्या सुन्दर शाक्य आएपछि पहिलो पटक पत्रकार सम्मेलनगरी कामकारवाहीको अवस्था पत्रकारमार्फत सार्वजनिक गरिएको हो ।

वडा नम्बर १५ का वडाअध्यक्ष समेत रहेका प्रवक्ता डंगोलका अनुसार अबदेखि प्रत्येक महिना विभागीय प्रमुखलाई समेत राखेर महानगरपालिकाले गरेका कामको अवस्थाबारे जानकारी दिइनेछ ।

महानगरपालिकाले सोमबार सार्वजनिक गरेको प्रगति विवरणमा शुरु नै नभएका र तयारी हुँदै गरेका कागजी योजनालाई पनि उपलब्धिका रुपमा देखाउन खोजिएको छ ।

सबभन्दा विवादित बनेको रानीपोखरी पुनर्निर्माणमा पनि महानगरपालिकाले हालसम्म ठोस उपलब्धि प्राप्त गरेको छैन ।
प्रगति विवरणमा भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माणका लागि १७ करोड बजेट छुट्याइएको मात्र उल्लेख गरिएको छ ।

पछिल्लो पटक रानीपोखरी पुनर्निर्माणका लागि पुनः टेण्डर आहृवान गर्ने कि स्थानीय उपभोक्ता समिति बनाएर पुनर्निर्माणको जिम्मा दिने भन्नेबारे छलफल भइरहेपनि टुंगो लागेको छैन ।

विज्ञ सम्मिलित स्थानीय उपभोक्ता समितिलाई दिइएको काष्ठमण्डप पुनर्निर्माण सन्तोषजनक देखिएकाले रानीपोखरीमा पनि त्यस्तै मोडेल अपनाउन सकिनेबारे छलफल भइरहेको प्रवक्ता डंगोल बताउँछन् ।

यस्तै महानगरपालिकाले सबै ३२ वटा वडा कार्यालयको आफ्नै भवन बनाउन २५ करोड बजेट छुट्याएकोमा नम्बर ६ र ७ को कार्यालय निर्माणाधीन रहेको जानकारी दिएको छ ।

वडा नम्बर २६ र १८ को शिलान्यास भएर काम शुरु भएको प्रवक्ता डंगोलले बताए । वडा ४, ८, ९ र १४ को कार्यालय भवन खरिद गर्ने प्रक्रिया अघि बढाएको उनले बताए ।

यो वर्ष कम्तीमा थप तीन वटा आकाशे पुल निर्माण गर्ने योजना रहेकोमा दुई वटाको डिजाइन तयार गरेर कार्यान्वयनमा गएको महानगरपालिकाले जनाएको छ ।

यसैवर्ष भित्र सर्वोच्च अदालत अगाडि र चावहिल चोकनेर स्थानान्तरण गर्न मिल्ने आकाशे पुल बनाउने योजना छ । महानगरलाई अन्धकारमुक्त बनाउने उद्देश्यले ल्याइएको मेयर उज्यालो कार्यक्रमअन्तर्गत हालसम्म ६५० थान सडक बत्ती जडान गरिएको प्रवक्ता डंगोलले जानकारी दिए ।

उनका अनुसार ३२ वटा वडाबाट ८ हजार ५ सय सडक बत्ती माग भएको छ । मेयर उज्यालो कार्यक्रमका लागि महानगरपालिका ५ करोड बजेट बिनियोजन गरेको छ ।

काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डीपीआरको लागि सम्झौता भएको, महानगरका विभिन्न स्थानमा ६० वटा स्मार्ट सोलार डस्टविन जडान गरिएको कुरालाई महानगरपालिकाले ६ महिनाको उपलब्धिमा समेटेको छ ।

यस्तै वडा नम्बर २२ को धर्मपथमा आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ईओआई सूचना जारी गरेको र त्यसमा प्राप्त प्रस्तावहरुमाथि अध्ययन भइरहेको प्रवक्ता डंगोल बताउँछन् ।

सडकमा रहेका ढलको सरसफाई कार्यलाई अघि बढाएको, घर बनाउँदा बाहिर राखिएका निर्माण सामग्री घरधनी आफैलाई सफा गराउने काम गरिएको, सडक सफा गर्न सडक विभागको ब्रुमर प्रयोग गरिएको, चाँडै इटालीबाट महानगरपालिकाको आˆनै पाँच वटा ब्रुमर ल्याउने ६ महिने प्रगति विवरणमा उल्लेख छ ।

‘टुँडिखेल वरिपरिको जाम हटाउन पिक एण्ड ड्रप प्रणाली लागू गरिएको छ, केही गुनासो आएपनि नतीजा राम्रो देखिएकाले अब कोटेश्वरको जाम हटाउन पनि स्थलगत अध्ययन शुरु भएको छ’, प्रवक्ता डंगोलले बताए ।

वडा नम्बर १ स्थित कमलपोखरी पुनर्निर्माण र सौन्दर्यकरण कार्यको लागि टेण्डर प्रक्रियामा गइसकेको, स्मार्ट शौचालय निर्माणको लागि उपप्रमुखको अध्यक्षतामा अधिकारसम्पन्न कार्यदल गठन गरिएको लगायतका ५८ वटा कामलाई महानगरपालिकाले पछिल्लो ६ महिनाको उपलब्धिका रुपमा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment