Comments Add Comment

जुम्लामा पहिलोपटक सुरू भयो अक्सिजन उत्पादन

Photo Credit : अनलाइनखबर फाइल

१५ माघ, काठमाडौँ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज, काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।

प्रतिष्ठानले पहिलो पटक आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको छ ।

कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ ।

यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ । अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करिब दुई करोड २३ लाखको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी गत आइतबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरिएको जानकारी दिए । उनले भने,’अब जुम्ला अस्पतालले अक्सिजनको अभावमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।’

तीन सय शैय्याको प्रतिष्ठानअन्तर्गतको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भइआएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ । अहिले अस्पतालमा दैनिक १०/१२ सिलिण्डर अक्सिजन खपत हुन्छ ।

एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ । ‘हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म छ’, प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले भने ।

विशेषगरी चिसोको समयमा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुन्छ । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनका अनुसार फोक्सो, छाती तथा दमका रोगी कर्णाली प्रदेशमा धेरै छन् ।

नेपालगञ्जबाट अक्सिजन ढुवानी गर्दा यसअघि प्रतिष्ठानले धेरै दुःख र सास्ती ब्योहोर्नुपरेको थियो । अस्पतालमा अक्सिजनको अभावमा शल्यक्रियासमेत रोक्नुपर्थ्यो । अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता पनि थियो ।

प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सीधै श्ययासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । कर्णाली प्रदेशमा सम्भवतः यस किसिमको प्रबन्ध पहिलो पटक गरिएको हो ।

प्रतिष्ठान चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तथा एमजिडिपी तहका कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । जुम्ला अस्पताललाई कर्णाली प्रदेशकै केन्द्रीय विशेषज्ञ अस्पतालमा रुपान्तरणसमेत गरिँदैछ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्ले चिकित्सा शिक्षा र सेवाका लागि भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति तीनै क्षेत्रमा प्रतिष्ठान बनाउनेतर्फ बढिरहेको बताए । ‘अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका रोगी धेरै सेवा लिन आउने गर्दछन् । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादनले ती बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्छ ।’ उनले भने ।

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन सुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ । ‘पहिले अक्सिजन नेपालगञ्जदेखि भरेर ल्याउनुपर्ने बाध्यता थियो’, अस्पताल निर्देशक धर्मराज गोसाईंले भने, ‘पहिला नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति आउन सक्थ्यो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ ।’

कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्ति गर्न समस्या हुन्थ्यो । ‘अब त्यो समस्या टरेको छ । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको छ’, उनले भने ।

दैनिक ५० सिलिण्डरसम्म अस्पतालमा अक्सिजन आपूर्तिका साथै आठदेखि १० सिलिण्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ । उपकरण जोड्न भारतको कानपुरदेखि आएका सञ्जीव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजीकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ ।

उपकरण बिग्रेको र बिजुली नियमित आपूर्ति नभएको खण्डबाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने उनले बताए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सिजनका ८० सिलिण्डर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment