Comments Add Comment

टी–२० सिरिज भोलिबाट, नेपाल बलियो कि यूएई ?

१६ माघ, काठमाडौं । यूएईविरुद्ध एकदिवसीय सिरिज २–१ ले जितेसँगै नेपालको ध्यान अब टी–२० सिरिजमा छ ।

यो सिरिज नेपालका लागि सहज छैन । किनकी यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट खेल्न माहिर छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमताको एक झलक तेस्रो एकदिवसीयमा देखिएको थियो । ४७ रन जोड्दा ४ विकेट गुमाएको टिमलाई २५४ रनसम्म पुर्‍याउने क्रममा पछिल्लो १६ ओभरमा १५४ रन हानेका थिए । यूएईले पहिलो ३४ ओभरमा सय रन पुर्‍याएको थियो । त्यसक्रममा सन्दीप लामिछानेले समेत महंगो देखिएका थिए ।

त्यसैले टी–२० सिरिजमा पनि यूएईलाई खुलेर खेल्न नदिनु नेपालका लागि महत्वपूर्ण हुनेछ । नेपाली बलरहरु डग्मगाए यूएईका ब्याट्सम्यान हाबी हुन सक्छन् ।

तर, निलम्बनमा परेका रोहन मुस्तफा लगायतका महत्वपूर्ण चार खेलाडी एकदिवसीय सिरिजमा जस्तै टी–२० मा पनि उपलब्ध हुने छैनन्, यो एड्भान्टेज कायमै रहनेछ ।

नेपाली टिमको कुरा गर्दा पहिलो खेल गुमाएर पनि उत्कृष्ट कमब्याक गर्दै एकदिवसीय सिरिज जित्न सफल भएका खेलाडीहरुको मनोबल उच्च हुनु स्वभाविक छ ।

साथै नेपालले पछिल्लो समय एकपछि अर्को टी–२० फ्रेन्चाइज लिग खेलेका कारण लयमा छ । युवा खेलाडीहरु पनि टी–२० मै राम्रो प्रदर्शन गरेकै कारण टिममा परेका हुन् । ओपनिङमा उपकप्तान ज्ञानेन्द्र मल्लसँग विनोद भण्डारी र प्रदिप ऐरी मध्ये एक आउन सक्छन् । दुबै टी–२० मा विस्फोटक ब्याट्सम्यान मानिन्छन् ।

भण्डारीले तीन वटै एकदिवसीयमा मौका पाएका थिए । तर, अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

कप्तान पारस लयमा देखिएका छन् । उनले तेस्रो एकदिवसीयमा यूएईविरुद्ध ११५ रन बनाएका थिए ।

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल मात्र होइन, टोलीका नयाँ सदस्यहरु सन्दीप जोरा र भीम सार्की पनि घरेलु लिगमा चलेका ब्याट्सम्यान हुन् ।

करण केसीलाई ‘पिन्च हिटर’को रुपमा प्रयोग गर्न सकिन्छ । उनी पछाडिका ओभरहरुमा आएर आक्रमक ब्याटिङ गर्ने गर्छन् । यद्यपि, उनको ब्याटिङमा धेरै भर पर्न सकिँदैन ।

क्रिकेट प्रशिक्षक राजु बस्न्यात भन्छन्, ‘हाम्रा धेरै खेलाडीहरु टी–२० फम्र्याटकै छन् । त्यसैले हामी सहज परिस्थितिमा छौं । सिरिज जित्छौं भन्नेमा आशावादी छु ।’

बलिङतर्फ सन्दीप लामिछाने र सोमपाल कामी दुबै निकै लयमा देखिएका छन् । करण केसीसँगै युवा खेलाडी ललितनारायण राजवंशी र पवन सरार्फ पनि टोलीमा छन् । समग्रतामा यूएईको भन्दा नेपालको बलिङ राम्रो मान्न सकिन्छ ।

तीन म्याचको सिरिजको पहिलो खेल भोलि बिहीबार नेपाली समयअनुसार पौने ३ बजे दुबईमा हुनेछ । दोस्रो फेब्रुअरी १ मा र तेस्रो फेब्रुअरी ३ मा हुनेछ ।

कसको प्रदर्शन कस्तो ?

तीन एकदिवसीयको सिरिज नेपालले आफ्नो कब्जामा पार्‍यो । तर, ब्यक्तिगत प्रदर्शनलाई हेर्ने हो भने आशा गरिएका खेलाडीबाट पनि राम्रो हुन सकेन ।

कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, आरिफ शेख र ज्ञानेन्द्र मल्लले राम्रो प्रदर्शन गरे । तर आशा गरिएका खेलाडी विनोद भण्डारी र दीपेन्द्रसिंह ऐरीले न्याय गर्न सकेका छैनन् ।

युवा खेलाडी दीपेन्द्रबाट निकै अपेक्षा गरिएको थियो । तर, युएईविरुद्ध तीन खेलमा उनले १६ रन मात्रै बनाउन सफल भए । पहिलो खेलमा शुन्य रनमै आउट भएका दीपेन्द्रले दोस्रो खेलमा १० र अन्तिम खेलमा ६ रन बनाएका थिए ।

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी फेरि एकपटक चुके । ओपनरको भूमिकामा आएका उनले तीन खेलबाट ३५ रन मात्रै बनाए । उनले पहिलो खेलमा ५, दोस्रोमा २१ र तेस्रो खेलमा ९ रन बनाएका थिए । त्यस्तै, नयाँ अनुहारको रुपमा मैदानमा छिरेका पवन सरार्फले पनि दुई खेलमा १२ रन मात्रै बनाए । उनले पहिलो खेलमा चार र दोस्रो खेलमा आठ रन बनाएका थिए ।

एकदिवसीयमा मौका नपाएका प्रदिप ऐरी र भीम सार्की टी–२० मा मौका पाउन सक्छन् ।

नेपालले खेलेका टी–२० सिरिज

नेपालले अहिलेसम्म टी–२० सिरिज दुई देशसँग मात्र खेलेको छ ।

हङकङ १–० नेपाल

सन् २०१४ बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा सन्तोषजनक प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिएको थियो । त्यही वर्ष नोभेम्बरमा नेपालले हङकङसँग पहिलोपटक ऐतिहासिक सिरिज खेल्ने मौका पायो तर, वर्षा बाधक बनेपछि एक खेल मात्रै भयो ।

एक मात्र खेलमा नेपालले कम स्कोर बनायो । त्यसमा १० औं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले विश्व कीर्तिमान कायम गरेका थिए । सोमपालले ३१ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ४० रन बनाएर नेपालको इनिङ उकास्ने प्रयास गरे । तर, नेपाल २० ओभरमा अलआउट हुँदै ७२ रनमै समेटियो । ७३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हङकङले तीन विकेटको जित हात पार्दै सिरिज जितेको थियो । दुई खेल भने वर्षाको कारण रद्द भए ।

नेदरल्यान्ड्स ३–१ नेपाल

टी–२० क्रिकेटको मान्यता पाएको करिब एक वर्षछि नेपालले दोस्रो सिरिज नेदरल्यान्ड्ससँग खेल्यो ।

नेपालले चार खेलको सिरिज खेलेको थियो, जसको नतिजा ३–१ ले सुम्पियो । पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १८ रनले पराजित भएको थियो । दोस्रोमा १०३ रनको लज्जास्पद हार व्यहोर्‍यो । तेस्रो खेलमा १८ रनले पराजित भयो । अन्तिम खेलमा भने नेपालले तीन विकेटको सान्त्वना जित हात पार्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment