Comments Add Comment

गोरखामा भूकम्पपीडितका लागि सामान घुम्तीकोष

१६ माघ, गोरखा । गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन सुरू गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष सुरु गरिएको छ ।

पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर निर्माणको काम सुरु गर्न लगाइएको हो ।

पैसा दिँदा खर्च गर्ने र घर बनाउनै नथाल्ने भएपछि वडा कार्यालय साक्षी बसेर घर बनाउन आवश्यक पर्ने सामग्री झिकाइदिने गरेको वडा नं २ का अध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिए । ‘ढुङ्गा, गिट्टी, इँटा बालुवा सिमेन्टलगायत डिपिसीसम्म गर्न आवश्यक पर्ने सबै निर्माण सामग्री हामी जिम्मा बसेर झिकाइदिन्छौँ”, उनले भने–’घर बनाउन सुरू गरेसँगै उहाँहरूको दोस्रो किस्ताको रकम आएपछि सामान ल्याएको ठाउँमा बुझाइदिने गरेका छौँ ।’

गाउँपालिकाका तीन वटा वडामा सामान घुम्तीकोष सुरु भएकोे वडाध्यक्ष गुरुङको भनाइ छ । सरकारले लाभग्राही भूकम्पपीडितलाई घर निर्माणको समयसीमा तोकेको भए पनि केही भूकम्पपीडितले रकम अभावका कारण घर बनाउन शुरु नै गर्न नसक्ने अवस्था भएपछि वडा कार्यालय घुम्तीकोष सञ्चालन गरेको उनले बताए ।

वडाध्यक्ष गुरुङले घुम्तीकोषबाट अहिलेसम्म गण्डकी गाउँपालिकाको वडा नं १, २ र ६ मा गरी नौ घर निर्माण भइसकेको जानकारी दिए ।’समान घुम्तीसेवा शुरु नगरेको भए उहाँहरूले घर बनाउनु हुन्थेन’, वडाध्यक्ष गुरुङले भने– ‘कसरी छिटो पुनःनिर्माण सम्पन्न गर्न सकिन्छ भन्ने विचार गर्दा यो उपाय लगाएका हौँ ।’

घुम्तीसेवा लिएर अहिले १८ घर निर्माणको चरणमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘यो सेवा लिएका भूकम्पपीडितको घर बनाउँदै गर्दा किस्ता आए उहाँकै किस्ताबाट तिरिदिन्छौँ”, उनले भने–’किस्ता ढिलो गरी आए वडा कार्यालयले तिरेर उहाँको किस्ता आएपछि कटाएर लिने गरेका छाैं ।’

घुम्तीकोष सुरू भएपछि घर बनाउन आँट नगर्ने भूकम्पपीडित पनि घर बनाउन आतुर देखिएको वडाध्यक्ष गुरुङको भनाइ छ । घर निर्माणका लागि तीनवटै वडामा नेपाल आवास निर्माण परियोजनाले निःशुल्क नक्सा बनाइदिने, घर निर्माणको लागत, योजना र सामग्रीको छनोटसमेत गरिदिने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment