Comments Add Comment

बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम शुरु

१७ माघ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम शुरु भएको छ । सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइट निर्माणको जिम्मा पाएसँगै काम शुरु गरेको हो ।

प्रारम्भिक चरणमा निर्माणस्थलको माटो परीक्षण गर्न नमूना संकलनको काम थालिएको मन्त्रालय मातहतको भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।

ठूलो क्षेत्रफल भएकाले पाँच ठाउँमा खाल्डो खनेर नमूना संकलन गरिएको मैनालीले बताए । माटो परीक्षणको नतिजाअनुसार ल्यान्डफिल साइटको डिजाइन तयार गर्ने विभागको योजना छ ।

‘पाल टाँगेर हामीले काम शुरु गरिसकेका छौं’, उनले भने, ‘सोइल टेस्टपछि हामी डिजाइन तयार गरेर बाँध निर्माणको काम थाल्छौं ।’  ५ ठाउँमा ४० मिटर गहिराे खाल्डाे खनेर नमूना संकलन गरिनेछ ।

आगामी फागुनभित्र कस्तो ल्यान्डफिल साइट निर्माण गर्ने भन्नेबारे डिजाइन तयार पारेर अन्य काम अघि बढाउने योजना रहेको उनले बताए ।

बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा विभागका उपमहानिर्देशक मैनाली, महानगरपालिकाका सहसचिव भरत अर्याल, महानगरपालिकाको वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल र वातावरण व्यवस्थापन र पूर्वाधार विकास विभागका अधिकारी लगायत सिसडोल हुँदै बञ्चरेडाँडासम्मको स्थलगत अवलोकनका लागि गएका थिए ।

मेयर शाक्यले बर्खाका बेला उपत्यकाको फोहर व्यवस्थापनमा समस्या पर्ने गरेको भन्दै त्यसअगावै अल्पकालीन साइट निर्माणको काम सक्न आग्रह गरेका थिए । जवाफमा विभागका उपमहानिर्देशक मैनालीले समस्या ननिम्त्याउन सक्दो प्रयास गर्ने बताए ।

१७ वर्षअघिको योजना बल्ल अघि बढ्यो

१७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउने योजना अघि सारिएको थियो । तर, ढिलासुस्तीका कारण यो काम अघि बढेन ।

सरकारले फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सन् २००९ मा अन्तर्राष्ट्रिय बोलपत्र आहृवान गरेर नेपवेस्टसहितका कम्पनीलाई छनोट गर्यो । सन् २०११ मा स्थानीय विकास मन्त्रालयले नेपवेस्टसँग द्विपक्षीय सम्झौता गर्‍यो । सन् २०१३ पछि यो परियोजना लगानी बोर्ड मातहत आयो ।

उपत्यकाको फोहोर व्यवस्थापन परियोजनाको जिम्मा पाएको कम्पनी हो, नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेसन प्रालिको जोइन्ट भेन्चर ‘नेपवेस्ट’ । तर, नेपवेस्टले ल्यान्डफिल साइट भने आफूले नबनाउने शर्त राख्यो ।

त्यस दौरान बञ्चरेडाँडामा ल्यान्डफिल साइट कसले बनाउने भन्ने अन्योल रहृयो । यो पूरै उपत्यकाको समस्या भन्दै केन्द्र वा प्रदेश सरकारले ल्यान्डफिल साइट बनाइदिनुपर्ने भन्दै काठमाडौं महानगरपालिका पछि हट्यो ।

त्यसपछि गत मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले ल्यान्डफिल साइट निर्माणको जिम्मा सहरी विकास मन्त्रालयलाई दियो ।

मन्त्रालयले करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको ल्यान्डफिल साइट निर्माणको काम दुई वर्षभित्र सक्ने बनाएको छ । ल्यान्डफिल साइट तयार गर्नका लागि झण्डै ६५ करोड लाग्ने मन्त्रालयको अनुमान छ ।

ल्यान्डफिल साइट निर्माणका लागि झण्डै ३ वर्षअघि नै एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।  धादिङको छत्रेदेउराली-९ र नुवाकोटको ओखरपौवा-४ मा पर्ने बन्चरेडाँडामा ल्यान्डफिल साइट बनेपछि २० वर्षका लागि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने छ ।

हाल फोहर फालिँदै आएको सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने झण्डै दुई किलोमीटर सडकको निर्माण सडक विभागले ठेकदार छनोट गरेर शुरु गरेको छ ।

फोहोर बिसर्जन गर्ने स्थलसम्म पुग्ने कोल्पुखोलामाथिको पुल बनिसकेको महानगरपालिकाको वातावरण विभागका इञ्जिनियर निर्मल बरालले अनलाइनखबरलाई जानकारी दिए ।

सिसडोलमा भरिँदा नजिकैको आलेटारमा र आलेटारमा भरिँदा सिसडोलमा लगेर काठमाडौंको उपत्यकाको फोहर विसर्जन गरिँदै आएको छ ।

वर्षातका बेला बाटो बिग्रिएर त्यहाँ पुग्नै नसकिने र काठमाडौंमा फोहर नउठ्ने समस्या आउने गरेकाले पूर्व तयारीका लागि स्थलगत निरीक्षण गरिएको मेयर शाक्यले बताए ।

‘ल्यान्डफिल साइट निर्माण नभइन्जेलसम्मको अवधिका लागि अल्पकालीन व्यवस्थापनको पूर्व तयारीमा जुटेका छौं’, मेयर शाक्यले भने ।

२ वर्षका लागि भनेर विस २०५८ मा सिसडोलमा बनाइएको ल्याण्डफिल साइट हालसम्म प्रयोग भइरहेको छ । तर, वर्षातका बेला गाडी जान नसक्ने र थुप्रिएको फोहरको पहिरो जाने खतरा हुन्छ । वैज्ञानिक व्यवस्थापन नहुँदा सिसडोल क्षेत्रका स्थानीयले समेत दुर्गन्ध फैलिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment