Comments Add Comment

महावीर, हुन् या सीताराम, लोकतन्त्रमा प्रश्न सोध्न पाइन्छ

कसैलाई पनि 'देवत्वकरण' वा 'दानवीकरण' नगरौं

१८ माघ, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनको फेसबुक स्टाटस हेर्ने हो भने आविष्कार केन्द्रका लागि सहयोगी हातहरुले गरेको सहयोगको राशी र रसिद देख्न पाइन्छ ।

राष्ट्रिय आविष्कार केन्द्रका लागि देश-विदेशका दानवीरहरुले खुल्ला दिलले लगातार सहयोग गरिरहेका छन् ।

महावीर पुन एकजना विकासप्रेमी नेपाली नागरिक हुन् । उनले समाजमा निकै उदाहरणीय कामहरु गरेर आम जनताको विश्वास जितेका छन् । र, यही विश्वासका कारण आम नेपाली नागरिकले पुनको अभियानलाई दिलैदेखि सहयोग र समर्थन जनाइरहेका छन् ।

यसो भन्दैमा महावीर पुनसँग आविष्कार केन्द्रका लागि हालसम्म कति रकम उठ्यो र त्यसको हिसाब-किताबको अवस्था के छ भनेर प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? पक्कै पनि मिल्छ ।

तर, हामीकहाँ कस्तो ‘ट्रेन्ड’ छ भने कसैले आविश्कार केन्द्रको आर्थिक संकलनको अवस्थाबारे जान्न चाह्यो भने त्यस्तो प्रश्नकर्तामाथि ‘विकासविरोधी’, ‘नकारात्मक सोचको व्यक्ति’ ‘आफू पनि केही नगर्ने र अरुले गरेको राम्रो काममा अवरोध गर्ने’ भँडुवा वा ‘कसैबाट परिचालित व्यक्ति’ इत्यादि आक्षेपहरु लाग्ने गर्छन् ।

यस्तो अवस्थामा हामीसँग एउटै विकल्प के बाँकी रहन्छ भने महावीरले कुनै गल्ती गर्दैनन् भन्ने विश्वास गर्नु र चुपचाप उनको अभियानलाई समर्थन एवं सहयोग गर्नु ।

तथापि आविश्कार केन्द्रको काम अहिलेसम्म कहाँ पुग्यो, कति आर्थिक संकलन भयो र अहिलेसम्म के-के काम हुँदैछ भनेर सार्वजनिक रुपमा खोजीनीति हुँदा यसले महावीरको व्यक्तित्वमाथि कुनै नकारात्मक असर पार्दैन । बरु यसले त उनको अभियानलाई पारदर्शी बनाउन र आम जनतामा थप विश्वास बढाउन नै मद्दत गर्दछ ।

अमेरिकामा रहेर राम्रो जीवन बिताइरहेका बेला आफ्नै देशका लागि केही गर्ने उद्देश्यले नेपालमा फर्केर ग्रामीण वस्तीहरुलाई सूचना प्रविधिमा जोड्न महत्वपूर्ण भूमिका खेलेका महावीर पुन लोकतान्त्रिक विचार र संस्कारका अग्रणी व्यक्तित्व हुन् । त्यसैले उनीमाथि, उनको अभियानमाथि आम जनमानसबाट खोजीनीति र चासो राखिनुलाई पक्कै पनि उनले नकारात्मकरुपमा लिँदैनन् । तर, पुनलाई देवत्वकरण गर्नेहरुले उनीमाथि अलिकति पनि प्रश्न उठाएको सुन्न चाहँदैनन् भने त्यो महावीर पुनको कमजोरी होइन ।किनभने, लोकतन्त्रमा नागरिकले नेता र सरकारमाथि मात्रै होइन, सामाजिक अभियन्ताहरुमाथि पनि प्रश्न उठाउन पाउँछन् भन्ने कुरा अमेरिकामा बसेर आएका महावीरलाई पक्कै पनि राम्रोसँग थाहा छ ।

कुरा धुर्मुस सुन्तली फाउन्डेसनको

महावीर पुनजस्तै समाजमा राम्रो काम गरेर चर्चा कमाएका पात्रहरुको खोजी गर्दा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को नाम अग्रपंक्तिमा आउँछ ।
महाभूकम्पपछि समाजसेवामा धुर्मुस र सुन्तलीले जति काम गरेका छन्, त्यति काम सरकारले समेत गर्न सकेको छैन । उनीहरुले समाजलाई दिएको योगदानको जति प्रशंशा गरे पनि थोरै हुन्छ ।

तर, यसको अर्थ यो होइन कि धुर्मुस र सुन्तलीलाई देवत्वकरण गर्नुपर्छ । उनीहरु पनि मानिस नै भएकाले कामको सिलसिलामा कमजोरी नहोस् भन्नेतर्फ सबै सुभेच्छुकहरुले सचेत हुनुपर्छ र निरन्तर सचेत गराइरहनुपर्छ । र, यसरी आफूमाथि प्रश्न उठाउने, वा आलोचना गर्नेहरुलाई धुर्मुस सुन्तलीले पनि नराकात्मक आँखाले हेर्नु भनेको लोकतान्त्रिक सोचाइ होइन ।

समाजमा आफूलाई महान बनाउन चाहने व्यक्तिहरुले आलोचनालाई पचाउनुपर्छ । आफ्ना आलोचकहरुलाई स्वागत एवं सम्मान गर्नुपर्छ । उनीहरुका कुरा सुन्नुपर्छ र आफूलाई सकारात्मक बाटोतर्फ उत्प्रेरित गर्नुपर्छ । जसले आलोचना सुन्दैन, उसले प्रगति गर्न सक्दैन भन्ने संसारभरिका विद्वानहरुले मानी आएको धारणा हो ।

हामीले ‘कहाँ पुग्यो धुर्मुस सुन्तलीको नमूना नेपाल ?‘ भन्ने प्रश्न गर्नुको अर्थ धुर्मुस सुन्तलीले बनाउने भनेको क्रिकेट रंगशालाकै विरोध गर्न खोजेको विल्कुल होइन ।
विगतमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेका सबै कामहरुमा अनलाइनखबरले साथ दिँदै र उनीहरुको कामलाई प्रोत्साहित गर्दै आएको हो । यो कुरा स्वयं धुर्मुस र सुन्तलीले पनि मुक्तकण्ठले बताउने गरेका छन् ।

तथापि मुसहर वस्ती निर्माण सकेपछि धुर्मुस सुन्तली फाउन्डेसनले ५ अर्बको नमूना नेपाल परियोजना सार्वजनिक गरेको थियो र आर्थिक संकलनसमेत सुरु गरेको थियो । त्यो परियोजना अहिले कहाँ पुग्यो र त्यसमा कति पैसा उठेको थियो ? यति कुरा सोध्नु कुनै अपराध वा पाप हैन ।

धुर्मुस सुन्तलीले अघि सारेको नमूना नेपालको परियोजना कहाँ पुग्यो भनेर प्रश्न उठाउनेहरुमाथि नै अनर्गल गाली गर्नु वा धुर्मुस सुन्तलीमाथि आँखा चिम्लेर विश्वास गरियोस् भन्ने ठान्नु देवत्वकरणै लक्षण हो । र, यो लोकतान्त्रिक समाजलाई सुहाउने संस्कार होइन ।

नव नेपाल निर्माणका लागि रकम उठाइसकेका धुर्मुस-सुन्तलीले त्यसबारेमा आम जनमानसलाई स्पष्ट पारेर अगाडि बढ्दा रंगशालाका लागि थप सहयोग जुटाउन विश्वास आर्जन गर्ने वातावरण बन्छ भन्ने सकारात्मक सोचको जरुरी देखिन्छ ।

‘ममाथि कुनै प्रश्न नउठाओ, तर आँखा चिम्लेर सहयोग मात्रै गरिराख’ भन्ने सोचाइ धुर्मुस सुन्तली फाउन्डेसनले पनि राख्नुहुँदैन र आविष्कार केन्द्रले पनि राख्नुहुँदैन । बरु उठेका प्रश्नहरुको जवाफ दिँदै जाँदा सहयोगीहरुमा थप विश्वास र भरोसा बढ्छ । त्यसर्थ कोही पनि सामाजिक अभियन्ताले जवाफ दिनका लागि झिँझो मान्नुहुँदैन ।

लोकतन्त्रको विशेषता के हो भने कसैलाई पनि देवत्वकरण वा दानवीकरण गरिनुहुँदैन । लोकतन्त्रमा कोही पनि ‘दैवी’ मानिँदैन । तर, लोकतन्त्र संस्थागत नभइसकेको र सामन्तवादको अवशेष बाँकी नै रहेको समाजले मानिसहरुलाई या त भगवानजस्तै दोषमुक्त ठान्छ, यात राक्षसजस्तै विद्रूपीकरण गर्छ ।

लोकतन्त्रमा राष्ट्रपति वा प्रधानमन्त्रीमाथि समेत प्रश्न उठाउन पाइन्छ । कसैका बारेमा प्रश्नै उठाउन नपाइने भन्ने कदापि हुँदैन । सार्वजनिक चासोका विषयहरुमा प्रश्न सोध्न पाइन्छ र पाउनुपर्छ । प्रश्नै सोध्न नपाइने बन्द समाजमा लोकतन्त्र फस्टाउन सक्दैन ।

एक समय पत्रकार रवि लामिछानेको सामान्य आलोचना गरेको पनि नसहने उनका फ्यानहरुको ठूलो जमात थियो । रविकी पूर्वपत्नीको दुःखेसो मिडियामा प्रकाशित हुँदा मिडियालाई नै गाली गर्नेहरुको जमात पनि ठूलै थियो ।

तर, जब रविले सम्बन्धविच्छेदलगत्तै अर्को विवाह गरे, त्यसपछि उनका फ्यानहरुले आफैं रविलाई ‘देवत्वकरण’ गरिएछ भन्ने महसुस गर्न थाले ।
विकासमैत्री चक्रपथ !

यहाँ अर्को पनि विषयको चर्चा गरौं- चक्रपथ विस्तारमा देखिएका त्रुटीहरुबारे ।

अनलाइनखबरले यसैसाता कोटेश्वर-कलंकी चक्रपथ विस्तारमा देखिएका त्रुटिका विषयमा एउटा भिडियो सामग्री प्रस्तुत गरेको थियो । त्यो सामाग्रीमा नेपालको

ट्राफिक व्यवस्थापनमा लामो अनुभव प्राप्त गरेका पूर्वप्रहरी अधिकारी सीताराम हाथेछुको साथ रहेको थियो ।

तर, विकासप्रेमी सीतारामले गरेको विश्लेषणलाई चक्रपथ विस्तारकै विरोध गरेको, बाटो भत्काउन खोजेको, पुरानै बाटो ठीक थियो भन्न खोजेको र विकासविरोधी तर्क गरेको जस्ता आरोपहरु लगाउनु ‘ग्राउण्ड रियालिटी’ सँग मेल नखाने विषय हुन् ।

विस्तारित चक्रपथ जनतामैत्री बन्यो कि बनेन भन्ने कुरा काठमाडौं बाहिर बस्ने वा विदेशमा बस्नेलाई भन्दा बढी त्यहीँका स्थानीयवासीलाई थाहा हुने विषय हो । यदि कसैलाई विस्तारित चक्रपथमाथि प्रश्नै उठाउने ठाउँ छैन भन्ने लाग्छ भने एकपटक त्यहाँ आएर हेर्दा प्रत्यक्ष अनुभूति गर्न सकिने छ । कुनै कोठामा कम्प्युटरको स्कृनमा बसेर मात्रै त्यहाँको वस्तुस्थिति बुझिँदैन ।

चक्रथप विस्तार हुनु राम्रो हो । चीनले त्यो बनाइदिएर राम्रो भएको छ । तर, त्यसलाई कसरी दुर्घटना कम हुने किसिमको बनाउने, कसरी जनतामैत्री बनाउने र कसरी विकासलाई जनताको सुखमा रुपान्तरण गर्ने भन्नेबारेमा सम्बन्धित निकायले सोच्नुपर्छ भन्ने आशयलाई विकास विरोधी भन्न मिल्दैन । र, सीताराम हाथेछुको आशय पनि त्यही देखिन्थ्यो । स्थानीय जनताको माग पनि त्यही देखिएको छ ।

विस्तारित चक्रपथलाई सकारात्मक प्रगति मान्दै अब त्यसमा पास वे, आकाशे पुल आदि कसरी बनाउने र कसरी स्थानीयबासीको आवागमनलाई सहज बनाउने भन्ने विषयमा सम्बन्धित निकायले सोचोस् भन्नु विकासविरोधी तर्क होइन । बरु विकासलाई जनतामैत्री बनाउनुपर्छ भन्नु विकासकै पक्षको सकारात्मक भावना हो ।
यसै प्रशंगमा निर्मला पन्त हत्या प्रकरणका विषयमा कुरा गरौं ।

निर्मला पन्त हत्या प्रकरणको विषयमा पनि मिडियाहरुमाथि केही प्रश्नहरु उठेका, उठाइएका छन्, यसको जवाफ मिडियाले दिनैपर्ने भएको छ । निर्मला पन्त जुन घरबाट हराएकी थिइन्, सो घरमा बस्ने व्यक्तिहरुमाथि पनि अनुसन्धान हुनुपर्छ भन्ने विषयमा चर्चा गर्दा त्यसलाई मिडियाको दोष भन्ने ढंगबाट प्रचार गर्ने प्रयास भइरहेको छ ।

निर्मला पन्तका हत्यारा पत्ता लाग्नुपर्छ र उनीहरुमाथि कारवाही हुनुपर्छ भनेर बोल्नुको साटो छानविनको दायरामा तानिएकाहरुको पक्षमा वकालत गर्नुले यो प्रकरणलाई विषयान्तर गर्न खोजेको देखिन्छ ।

अहिले कतिपय तेस्रो पक्षले अनुसन्धानको दायरामा तानिएका व्यक्तिहरुमाथि मिडियाले अन्याय गरेको भन्ने ढंगबाट जुन प्रचार गर्न खोजिरहेका छन्, त्यो एकप्रकारले मिडियामाथिको हस्तक्षेप नै हो ।

प्रहरीले ज-जसमाथि शंका गर्‍यो र पक्राउ गर्‍यो, तिनीहरुमाथि आशंका गरिएको विषयमा समाचार नै लेख्नुहुँदैनथ्यो भन्ने जिरह लोकतन्त्र र प्रेस स्वतन्त्रताको खिलाफमा छ ।

हामी निर्मला पन्तको न्यायका पक्षमा उभिने कि अभियोग लागेका व्यक्तिहरुमाथि पर्न गएको परिबन्दमा केन्दि्रत हुने ? प्राथमिक सवाल कुन हो र गौण सवाल कुन हो ? यस विषयमा पनि हाम्रो समाजमा पर्याप्त बहसको खाँचो देखिएको छ ।

निर्मला प्रकरणमा जोजोमाथि दोष लागेको छ र छानबिन भएको छ, ती सबै दोषी नहुन सक्छन् । तर, जब वास्तविक दोषी पत्ता लाग्छ, त्यसपछि मात्रै शंकाको घेरामा परेकाहरु पूर्णतः निर्दोष सावित हुनेछन् ।

अन्त्यमा यो पनि भन्नैपर्ने हुन्छ, जसरी विभिन्न सार्वजनिक सरोकारका विषयमा मिडियाले प्रश्नहरु उठाउँछन्, मिडियाका विषयमा पनि आम जनसमुदायले प्रश्न उठाउन र जवाफ माग्न पाइन्छ । आम पाठकहरुको खबरदारीले नै मिडियालाई पनि सकारात्मक बाटोमा अभिप्रेरित गर्न सक्छ । त्यसर्थ अनलाइनखबरले आम पाठकहरुबाट आउने प्रतिक्रियाहरुलाई स्वागत र आत्मसात गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment