Comments Add Comment

आमाको मिर्गौलाले बाँचिरहेका युवा वाद्यवादक

छोराको लागि आफूलाई रित्याएकी आमाको कथा

‘लाइफ यू नेभर फेल टु सरप्राइज मी’ (जिन्दगी, तिमीले मलाई अचम्भित बनाउन कहिल्यै छोडेनौं ।)

दुई वर्ष पहिले अस्पतालको शय्याबाट आशिष राजकर्णिकारले फेसबुक वालमा आफ्नो जिन्दगीको जञ्जाललाई यसरी पोखेका थिए । त्यसको केहीबेर अगाडि मात्र २६ वर्षीय आशिषलाई डाक्टरले भनेका थिए, ‘अब तिम्रो दुवै मिर्गौलाले काम गर्दैन ।’ यो उनलाई जिन्दगीले दिएको पछिल्लो ‘सरप्राइज’ थियो ।

****

आशिष एक ड्रमर हुन् । ड्रम पिटेपछि निस्कने ध्वनीले उनलाई छुट्टै संसारमा पुर्‍याउँछ ।

उनी कन्सर्टका लागि इटहरी पुगेका थिए । गिटार र स्नेयर बोकेर आफू बस्ने होटेलको तला उक्लन थाले । केही खुड्किला उक्लने बित्तिकै उनका खुट्टा फत्रक्कै गले । शरिर धरमर भयो । जसरी-तसरी अर्को खेपको लागि फेरि भुइँतला झरे । तर, यसपटक खुडि्कलामै विश्राम लिनुपर्‍यो । स्टेज नै बोकेर हिँडाल्न सक्छु भन्ने जोश बोकेका उनलाई उत्तिनैखेर के भयो यो ? बडो अन्यौलमा थिए ।

तर, आत्मबलका साथ आशिषले त्यो साँझ मुक्ति एण्ड रिभाइवलको कन्सर्टमा ब्यान्ड हेल्पिङ  गरे । अर्को दिन भने एक्कासी खुट्टा-हातको आकारमा बदलाव आयो । आशिष भन्छन्, ‘मेरो त मोटाउने रहर थियो, मोटाएँ भनेर खुशी लाग्यो, तर खुशी एकछिन पनि टिकेन । केको मोटाउनु ? मोटाए भनेका हातखुट्टा त करकरी दुख्न थाले ।’

अर्को हप्ता काठमाडौंको कन्सर्टमा पुग्नु थियो उनलाई । त्यसैले काठमाडौं फर्किहाले । तर, उनलाई बोकेको गाडी बसन्तपुर दरबारभन्दा अगाडि बढ्न सकेन । भर्खर भूकम्पबाट भत्किएका घरले बाटो ब्लक गरेको थियो । गाडीबाट झरेपछि उनको पाइला केले रोक्यो-रोक्यो । ड्रम सेट बोकेर दुई सय मिटर पर काष्ठमण्डपको घर पुग्न उनलाई जीवनकै दुर्लभ संघर्ष गर्नुपर्‍यो ।

आशिष भन्छन्, ‘म जतिजति छिटो हिँड्न खोज्थेँ, त्यतित्यति पाइला सर्दैनथ्यो । श्वास फेर्नै गाह्रो पर्थ्यो ।’

चारपटक बिसाएर कछुवा गतिमा घरको तेस्रो तलासम्म उक्लिन त सके उनी, तर धानिन नसकेर ढलिहाले । त्यसपछि आशिषका एकपछि अर्को कन्सर्टहरु रोकिँदै गए । उनकी आमा पद्मतारा एकपछि अर्को हस्पिटलको ढोका ढक्ढक्याउन पुगिन् ।

पद्मताराका लागि अस्पताल अजिंगरसरह बन्यो । उनको शरिरभरिका गहना निल्यो । पद्मतारा र उनको श्रीमानको जीवनभरिको पसिना निल्यो । काष्ठमण्डपको चार तले घर निल्यो र डेरामा हुत्याइदियो । र, फेरि एउटा मिर्गौला निल्न आइपुग्यो ।

तर, पद्मताराबाट छोरा आशिषलाई भने खोस्न सकेन । उनको अविचलित संघर्ष र मातृस्नेहले सायद भगवान पनि हच्किए ।

****

त्यसो त आशिष जन्मिएदेखि नै पद्मताराको अस्पताल यात्रा शुरु भएको हो । आशिषको आँशु र पिसाब एकै पटक झर्थ्यो । तीन महिनाको भएपछि यसको कारण खोज्न पद्मतारा कान्ति बाल अस्पताल पुगिन् । त्यतिबेला अस्पताल जाँदा उनको हात, घाँटी, कान सुनका गहनाले धपक्क बलेका थिए ।

उनलाई फिलिंगो छुट्यो । ‘एउटी आमालाई डाक्टरले त्यस्तो भन्दा कस्तो होला ?’ पद्मतारा भन्छिन् । तर, उनले हिम्मत हारिनन् । सात महिनापछि अर्कै हस्पिटल लगिन् ।तर, दिन प्रतिदिन उनको अनुहार खाली बन्दै गयो । दशैं, तिहार अस्पतालमै बिताइन् पद्मताराले । तिहारपछि झुल्किएका डाक्टरले प्याच्च भनिदिए, ‘जति गरे पनि तिम्रो छोरा ८-९ वर्षभन्दा बाँच्दैन, के दुःख गर्छेउ ?’

डा. ऋषिकुमार काफ्लेले सल्लाह दिए, ‘सक्नुहुन्छ भने उपचारको लागि बाहिर लैजानुस् ।’

त्यसपछि एक वर्षको बच्चालाई काखी च्यापेर पद्मतारा र उनका श्रीमान फूलपातीको दिन नयाँदिल्ली उडे ।

अल इन्डिया इन्स्टिच्युटमा पुगे । त्यहाँ नेपालको कागजपत्रले कुनै काम गरेन । चिनजानको कोही छैन । हस्पिटलको कुर्सीमा छोरा च्यापेर बसेकी पद्मताराले एप्रोन लगाएको कोही देख्यो कि सोधिहाल्थिन् । कसैले चार महिनापछि आऊ भन्थे, कसैले ६ महिनापछि ।

‘बिहानै जान्थेँ र राति अवेरसम्म कुर्थेँ । अहँ भर्ना लिएन । छोरा सुकेनाश लागेर कुपोषित बच्चाजस्तो भएको थियो,’ पद्मतारा भन्छिन्, ‘हस्पिटलमा कुरिरहन्थेँ, भोक लाग्यो भने आशिषको बुवाले पुरी लिएर आउनुहुन्थ्यो, त्यहीँ बसेर खान्थ्यौं ।’

एकपटक बिरामीको नाम लेख्ने रेकर्डको फाइलमा ग्याप छाडिएको देखिन् पद्मताराले । उनलाई कैफियत लाग्यो । ‘खाजा खाने बेला लेखन्दासकै पछि लागेर क्यान्टिन पुगेँ र, त्यो ग्यापमा हाम्रो नाम लेख्न मिल्दैन ? भनेर सोधेँ । आफ्नो वास्तविक अवस्था पनि बताएँ ।’

लेखन्दासले सर्त राखे, ‘उसो भए तिमीले औषधी हामीसँग किन्नुपर्छ ।’ पद्मतारालाई छिटोभन्दा छिटो भर्ना गर्नुपर्ने थियो । सर्तमा मन्जुर भइन् ।

नाम त लेखाइन् । भर्ना गर्न फेरि सकस । एउटा डाक्टर भन्छ, ब्लड प्रेसर हाई छ, नर्मल रिपोर्ट नआई भर्ना हुँदैन । अर्कोले भन्छ फरक पर्दैन । जसरी तसरी पद्मताराले मनाइन् । १६ दिनपछि भर्ना लियो । पद्मताराले राहतको श्वास फेरिन् ।

६ महिना हस्पिटलमा बिताएर उनी नेपाल फर्किइन् । अनि तीन महिनापछि फेरि पाँच लाख बोकेर दिल्ली पुगिन् । १४ महिनामा आशिषको पहिलो अप्रेशन भयो । पेटको तीन ठाउँमा प्वाल पारियो । आशिषको मुत्राशयबाट होइन, त्यही प्वालबाट पिसाब झर्थ्यो । ब्लाडर नै प्वाल पारिएको थियो उनको ।

अब त पद्मताराको लागि इन्डिया घर र नेपाल माइतजस्तो भयो । तीन महिना नेपाल बस्थिन्, अनि फेरि पैसाको जोहो गरेर ६ महिना इन्डिया । आशिषको त्यसपछि कतिपटक अप्रेशन भए पद्मतारालाई हेक्का छैन । आशिषको लागि अप्रेशन गर्नु भनेको खोकीको औषधि खाएजस्तो भयो ।

अप्रेशन गरेर प्वाल टालिन्थ्यो, फेरि मुत्राशयबाट पिसाब नबगेपछि खुलाइन्थ्यो । एक समय त दुई हप्तामा तीनपटक अप्रेशन भएको थियो । ‘त्यतिबेला पाँच दिनसम्म केही बोलेन, हेरिमात्र रहन्थ्यो, खाना राखिदियो भने घुटुक्क निल्थ्यो’, पद्मताराको आँखामा आँशु टिल्पिलाउँछन्, ‘त्यतिबला छोरालाई स्याहारिरहँदा मलाई आफंैलाई सम्हाल्न गाह्रो परेको थियो ।’

यता पैसाको खोलो बगिरहेको थियो, उता पद्मतारा र उनका श्रीमानको आम्दानीमा ब्रेक लाग्यो । पद्मतारालेे हस्तकलाको काम गर्थिन्, राम्रै आम्दानी हुन्थ्यो । विस्तारै छोराको उपचारका लागि शरीरका गहनाहरु बेच्न थालिन् । फुर्सद पाउँदा हस्तकलाको काम भने गरिहाल्थिन् । ‘कुन बेला हस्पिटल दौडाउनुपर्छ भन्ने थाहा हुन्थेन, राति तीन-चारबजेसम्म काम गरेर बस्थेँ’, उनी अतितमा फर्किइन् ।

एक-दुई वर्ष होइन, नौ वर्षसम्म पद्मतारा अल इन्डिया धाउनुपर्‍यो । पद्मताराका अस्पतालका दुःख भनिसाध्य र गनिसाध्य छैनन्, ‘राति आएर इमरजेन्सी अप्रेशन भन्छ, कहाँ पर जानुपर्छ । रातिमा महिला लिफ्ट नचढ भन्छ, रिपोर्ट लिन बच्चालाई हातमा समाएर १०-१५ तला उक्लनुपर्छ । खुट्टाको कति पटक मासु फर्किए, खुट्टा कति सुनिए, सुनिए ।’

यता उनी परिवार र समाजले उनलाई हतोत्साही बनाइरहन्थे । मान्छेहरु भन्थे, ‘यो असम्भव कुराको पछि किन लागेको ?’ पद्मताराको मनमा झन् करुणाको भेल उर्लन्थ्यो ।

परिवारको अवस्था दिनप्रतिदिन नाजुक बन्यो । ‘एक दिन हामी तीनजना यत्तिकै सडकमा हिँडिरहेका थियौँ । बाटोमा एउटा सानो टुक्रा सुन भेटाएँ । त्यो बेचेर १६ हजार आयो । लाग्यो भगवान रहेछन्,’ उनी भन्छिन् ।

डायलोसिसले आशिष कालो न कालो भएका थिए । हस्पिटलको बेडमा लडिरहन्थे । ‘ड्रमलाई खुब मिस गर्थे । हातहरु यत्तिकै चलिरहेको हुन्थ्यो,’ उनी भन्छन्, ‘मसँग किटहरु पनि थिए । तर, हात सुन्निएकाले बजाउनै सक्थिनँ ।’

यता आशिषको पढाई लयमा थिएन । पिसाब आउने प्वालमा आमाले कपडा बाँधिदिएर स्कुल पठाउँथिन् । तर, १५-१५ मिनेटको अवधिमा फेररहनुपर्थ्यो ।

बल्ल नौ वर्षको उमेरपछि आशिषको कम्मरको प्वाल टालियो । मुत्राशयबाट पिसाब गर्न थाले । पद्मतारालाई लाग्यो, अब दुःखको प्वाल पनि टालियो । उनी नियमित सिलाई बुनाईको काममा फर्किइन् । ‘ओमेन्स हेन्डिक्राफ्ट’ नै सञ्चालन गरिन् ।

आशिषले पनि सबै काम गर्न सक्थे । रेसरजस्तो माउन्टेन बाइक, साइकल चलाउँदै डल्लु, स्वयम्भु पुग्थे । एसएलसी पनि पास गरे ।

ठमेलमा मामा निखिल तुलाधरले पर्फम गरेको देखेपछि उनको जीवनले अर्को बाटो लियो । ड्रम सेट बजाउन शुरु गरेका आशिष विस्तारै विट सिक्दै मामाजस्तै ड्रमर बने । त्यसपछि रोडिजअप, मुक्ति एण्ड रिभाइबल, व्याण्डसँग आबद्ध भएर ठमेल र महोत्सवमा पर्फम गर्न थाले ।

****

निको भएको १८ वर्षपछि आशिषलाई अर्को बज्रपात पर्‍यो । उनको दुवै मिर्गौलाले काम गर्न छोड्यो । पानी भरिएर उनको छातिसम्म आइपुगेको थियो । उनी हलचल गर्न नसक्ने भए ।

त्यसपछि ड्रम बोकेर स्टेज जानुपर्ने आशिष डायलोसिसका लागि आमासँग अस्पताल धाउन थाले ।

डायलोसिसले आशिष कालो न कालो भएका थिए । हस्पिटलको बेडमा लडिरहन्थे । ‘ड्रमलाई खुब मिस गर्थे । हातहरु यत्तिकै चलिरहेको हुन्थ्यो,’ उनी भन्छन्, ‘मसँग किटहरु पनि थिए । तर, हात सुन्निएकाले बजाउनै सक्थिनँ ।’ एक वर्षसम्म डायलोसिस गरेपछि आशिषलाई ‘प्यासन’ले स्टेजमा तानेको थियो ।

डाक्टरहरु नै आशिषलाई बचाउन गाह्रो छ भन्थे । तर, पद्मताराले कहिल्यै आश मारिनन् । उनले डाक्टरसँग भनेकी थिइन्, ‘डाक्टर म आफ्ना मिर्गौला छोरालाई दिनेछु ।’

आशिषले आमाको मिर्गौला लिन मान्दै मानेनन् । एक वर्ष डायलोसिसमै बिताए । ‘पहिलेदेखि नै कडा काम गरिरहनुहुन्थ्यो । किड्नी दिएपछि उहाँ कमजोर हुनुहुन्छ भनेर लिन मन लागेन,’ आशिष भन्छन्, ‘बरु म आकासतर्फ हेरेर तारा गन्थे र प्रार्थना गर्थें ।’

पद्मतारालाई पनि सबैले भन्थे, ‘मिर्गौला चाहिँ दिँदै नदिनू है । ऊ त मर्न लागेको मान्छे । तपाईंले त काम गर्नुपर्छ नि !’

तर डाक्टरले नै सम्झाए आशिषलाई । आमाको मिर्गौला लिन राजी गराए । फेरि आशिषलाई टीबी रोग लाग्यो, ज्वरो आयो । मिर्गौला लिनै नसक्ने गरी कमजोर भए ।

१८ महिनापछि बल्ल प्रत्यारोपण भयो । विगत चार महिनादेखि आमाको मिर्गौला लिएर बाँचिरहेका छन् उनी । पद्मतारा एउटा किड्नीमा पनि भरिली देखिन्छिन् । सन्तानको लागि आफूलाई रित्याएर खुशी हुन्छन् नी आमाहरु !

‘मम इज मम ! ममबारे वर्णन नै गर्न सक्दिनँ,’ आशिष भुत्भुताउँछन् ।

****

यतिबेला पद्मतारा लाजिम्पाटको एउटा फल्याटमा छिन् । महिनाको २० हजार भाडा तिर्नुपर्छ । छोराको उपचारमा एक करोडभन्दा बढी खर्च भइसकेको छ । घर बेचिसकेकी छन् । साथमा आफ्नो एउटा मिर्गौला पनि छोरालाई दिइन् । बञ्जरा स्कुल अफ डान्सका मेहेर मलिक, आशिषका साथी र निखिल तुलाधरको सहयोगले प्रत्यारोपणको खर्चलाई केही सहज बनाइदियो ।

बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आशिषलाई औषधि खुवाउने तालिका छ । औषधीमा हजारौं खर्च हुन्छ । छोराको स्याहारमै उनको दिन बित्छ । लामो समय हस्तकलामा व्यस्त हुन सक्दिनन् । परिवारलाई आर्थिक संकटले गाँजेको छ ।

श्रीमान ज्यादै सोझा भएकाले परिवारको जिम्मेवारी पद्मताराले नै बहन गर्दै आएकी छिन् । तर, पद्मतारालाई केही गुमाएको भन्दा धेरै पाएको जस्तो लाग्छ । ‘मैले आफ्नो मायाले नै छोरालाई बचाएँ । योभन्दा अर्को खुशी र गर्वको विषय एउटा आमाको लागि के हुन सक्छ ?’ पद्मतारा प्रश्न गर्छिन् ।

आशिष विस्तारै रिकभर हुँदैछन् । उनी भन्छन्, ‘यो मेरो दोस्रो जीवन हो । निको भएपछि संगीतमै आफूलाई समर्पित गर्छु र आमाको मुहारमा खुशी फर्काउँछु ।’

तस्वीर ः  चन्द्रबहादुर आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment