Comments Add Comment

४ दशकपछि फेरिँदै त्रिभुवन विमानस्थलको धावनमार्ग

स्तरोन्नतिको काम चैतबाट

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम चैतको तेस्रो हप्ताबाट सुरु हुने भएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको यो पित त्यसपछि फेरिएको छैन । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी काम गर्न लागिएको हो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति गर्ने जिम्मा पाएको हो ।

नागरिक उड्डयन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीकाअनुसार अप्रिल १ अर्थात् चैत १८ बाट विमानस्थलको रन-वेलाई स्तरोन्नतिको काम सुरु हुनेछ । यो काम ७० दिनमा सकिने अनुमान छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वर्षायाम लागेपछि निकै बढ्छ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । तर, बल्ल निर्माण कम्पनी छनोट भएको छ ।

धावन मार्गमा मात्रै नभएर ट्याक्सी-वेमा पनि यस्तो समस्या पटक-पटक दोहोरिन्छ ।

समस्या स्थायी रूपमा समाधानका लागि १ वर्ष लगाएर अब विमानस्थलको धावनमार्गलाई पूर्ण रुपमा नयाँ बनाउने योजना छ । अहिलेको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ ।

अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्गलाई भित्री भागबाट स्तरोन्नती गरिनेछ । भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाउने योजना छ ।

‘लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना र ठूला छिद्रहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भू-बनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर रिह्याबिलिटेसन गर्नुपर्छ,’ अधिकारीहरु भन्छन् ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो रुप दिइनेछ । यो रिहृयाबको काम गरे २२ घन्टा मात्र चल्ने गरेको विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुनेछ ।

यो काम गर्न राति १० बजेपछि मात्रै सुरु हुनेछ र विहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य भइसक्नेछ । एक रातमा धावनमार्गको ५ वा अवस्था हेरेर १० मिटरसम्ममा मात्रै काम हुन सक्छ । यो समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान-अवतरण सेवा रोकिनेछ ।

यो काम गर्न उपकरण, जनशक्ति र प्रविधिक दक्ष र स्तरीय नै आवश्यक हुनेछ । रातभर काम गरेपछि विहान उडान सुरु हुने बेलासम्म खनिएको धावनमार्गको भाग स्तरोन्नति गरेर तयार गरिसक्नुपर्नेछ ।

विमानस्थलका अनुसार यो काम कम्ता चुनौतीपूर्ण हुने छैन । धावनमार्ग स्तरोन्नतीका क्रम सानो समस्या आएपनि उडान अवतरण प्रभावित हुनसक्ने नागरिक उड्डयन सम्बद्ध अधिकारी बताउँछन् ।

‘राति धावनमार्गको निश्चित भाग खनेपछि कालोपत्रे गर्नुअघि ठूलो बर्षा भए त्यसले विमानस्थल नै अवरुद्ध पनि हुन सक्छ,’ एक बरिष्ठ उड्डयन अधिकारी भन्छन्, ‘लुम्बिनीमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्रै यो काम सुरु गर्दा उत्तम हुन्छ ।’

अहिले विमानस्थलको धावनमार्गमा समस्या दखिएपछि तत्कालै धावनमार्ग ममर्त गर्न ‘क्विक रेसपोन्स टिम’ बनाएको छ, जुन टिम धावनमार्गको पिचमा समस्या देखिएको खबर पाउनासाथै मर्मतका लागि दौडन्छ ।

जति छिटो गर्दा पनि संवेदनशील धावनमार्गमा फाटेको धाँजा भर्न र व्यवस्थापन गर्न समय लागिहाल्छ । धावनमार्गमा वर्षायाममा समस्या पिच उप्किने दोहारिरहँदा व्यवस्थापनमा ठूलो चुनौति थपिएको विमानस्थल कार्यालय बताउँछ ।

यसै पनि त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जामको समस्या ब्याप्त छ । त्यसमाथि धावनमार्गको पिच उप्किएपछि नियमित तालिकामा झण्डै एक घण्टा अवधिको दबाव सिर्जना हुन्छ ।

जसलाई व्यवस्थापन गर्न एयर ट्राफिक कन्ट्रोलरलाई धौ-धौ पर्छ भने आकाशमा विमान होल्ड हुँदा यात्रुमाथि मानसिक दबाव पनि कम हुँदैन । उड्न तयार भएका यात्रुलाई पनि प्रतीक्षा गर्न सहज हुँदैन ।

धावनमार्गको दक्षिणतर्फको भाग (ल्याण्डिङ एरिया)तर्फ पिच उप्किने समस्या बढी छ । धावनमार्गलाई रिहृयाब नगरेसम्म यो समस्याबाट पार पाउने अवस्था नरहेको प्राधिकरण बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment