Comments Add Comment

‘क्याप्टेन’ ट्रेलरः युटुबको ट्रेन्डिङमा किन आएन ?

हुनत, कुनै पनि चलचित्रको ट्रेलर वा गीत युटुबको ट्रेन्डिङमा आउँदैमा त्यसले हलमा बम्पर कारोबार गर्ने त होइन । युटुबको ट्रेन्डिङको पहिलो नम्बरमा लामो समय बसेका चलचित्रका प्रचार सामाग्रीले पनि हलमा हावा खाएका छन् । तर, अहिले नेपाली चलचित्रका मेकरका लागि युटुबको ट्रेन्डिङ सफलताको एउटा कडी नै बनेको छ ।

एक दिनमै ८ लाख भन्दा बढी भ्यूज पाएको र ३६ घन्टा नवित्दै १० लाख भ्यूज पाएको नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको ४ दिन बित्दा पनि युटुबको ट्रेन्डिङमै नपर्दा यसका निर्माता भूवन केसीलाई टाउको दुखाइको बिषय बनेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको ‘क्याप्टेन’को ट्रेलरले युटुबमा तहल्का नै मच्चाएको छ भने सामाजिक संजालमा पनि खुबै शेयर गरिएको छ । तर, यति हुँदा हुँदै पनि युटुबको ट्रेन्डिङमा नआउँदा दर्शक र मिडियाले यसको निर्माणपक्षसँग प्रश्न राख्न थालेका छन् ।

यस बिषयमा नायक भूवन केसीले भने–‘यो हामीसँग जोडिएको बिषय होइन । ट्रेन्डिङमा किन आएन भन्ने कुरा ओएसआर डिजिटललाई नै बढी थाहा होला । तर, दर्शकले जुन तरिकाले हाम्रो चलचित्रको ट्रेलरलाई मन पराइदिनु भएको छ, लाइक र कमेन्ट गरिदिनुभएको छ, यसले हामीलाई खुशी दिलाएको छ ।’

नायक केसीले ‘क्याप्टेन’को ट्रेलरले युटुबमा पाएको दर्शकको माया नै आफूहरुका लागि ठूलो कुरा भएको बताए । उनले अगाडि भने–‘ट्रेन्डिङमा नपर्नुको कारण ओएसआरको प्राविधिक समस्या हो या लापरवाही हो, मलाई थाहा भएन ।’

यता, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले अनलाइनखबरसँग भने–‘अहिले हामी पनि यो प्रश्नले हैरान भएका छौ । यो प्राविधिक कुरा हो । हाम्रो नै च्यानलबाट बिहिबार अर्को चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक भएको थियो । जसले ट्रेन्डिङमा आफ्नो स्थान बनायो । एउटै च्यानलबाट सार्वजनिक भएका २ वटा सामाग्री युटुबको ट्रेन्डिङमा आउन सक्दैनन् । यसैले ‘क्याप्टेन’ ट्रेन्डिङमा नआएको हो ।’

उनले अगाडि भने–‘हामीले यस बिषयमा युटुबलाई इमेल पनि गरेका छौ । अहिले ‘यात्रा’को टिजर भन्दा ‘क्याप्टेन’को ट्रेलरको दर्शक नेपालमा पनि माथि छन् । तर, युटुबमा आएको समस्याको कारण अपडेट नभएको हो । आशा गरौ, चाडै नै अपडेट हुनेछ ।’

के तपाइहरुले भ्यूज बुष्ट गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने–‘हामीले त्यस्तो केही गरेका छैनौ, तपाइहरु हाम्रै कार्यलयमा आएर पनि हेर्न सक्नुहुनेछ । यात्राको टिजर र क्याप्टेनको ट्रेलर दुबैलाई दर्शकले मनपराइदिनुभएको छ ।’
उनले ‘क्याप्टेन’को ट्रेलरले युुटुबमा निकै राम्रो प्रतिक्रिया पाएको बताउँदै भ्यूजमा पनि रेकर्ड तोडेको बताए ।

फागूण १७ गतेबाट रिलिज हुन लागेको दिवाकर भट्टराई निर्देशित यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको मेकिङ र नायक अनमोल केसीको कामको प्रशंसा खुबै भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment