Comments Add Comment

डाक्टर पढ्न चीन र बंगलादेश जाने विद्यार्थीलाई मेडिकल काउन्सिलको नयाँ शर्त

२१ माघ, काठमाडौ । चीन र बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि नेपाल मेडिकल काउन्सिलले नयाँ शर्त राखेको छ ।

काउन्सिलले चीनमा चिकित्साशास्त्र अध्ययन गर्न जानेहरुका लागि चिनियाँ भाषामै चिनियाँ विद्यार्थी सरह नै पढ्नु पर्ने र बंगलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सरकारी मेडिकल कलेजमा पढ्का लागि मात्र स्वीकृति दिने शर्तसहितको मापदण्ड बनाउन शिक्षा मन्त्रालयलाई पत्र पठाएको छ ।

चीनमा अध्ययन गर्न जाने विद्यार्थीहरुको गुणस्तर खस्केको पाएपछि नेपाल मेडिकल काउन्सिलले यस्तो मापदण्ड तोक्न मन्त्रालयलाई पत्र पठाएको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले बताए ।

त्यस्तै, बंगलादेशको हकमा त्यहाँ सय वटाको हाराहारीमा निजी मेडिकल कलेज रहेको तथा करिब २५ वटा सरकारी मेडिकल कलेज रहेको जसमध्य करिब ३७ वटा निजी मेडिकल कलेजलाई त्यहीको मेडिकल काउन्सिल तथा बोर्डले पहिले नै व्याक लिस्टमा राखेका कारण नयाँ विद्यार्थीलाई समस्या नहोस् भन्नका लागि पनि यो निर्णय गर्न सल्लाह दिएको उनले बताए ।

‘चिनियाँहरु अंग्रेजी बोल्दैनन् । चीनमा अध्ययन गर्न जाने विद्यार्थीहरुले अंग्रेजीमै पढ्ने गरेका कारण उनीहरुले बिरामी तथा त्यहाँका अन्य व्यक्तिहरु संवाद गर्न सकेको पाइएन । जसले गर्दा त्यहाँ अध्ययन गरेर आउने धेरैजसो विद्यार्थीहरु यहाँ फेल भएको पाइयो,’ डा.बास्कोटाले प्रष्ट पार्दै भने, ‘त्यो नहोस् भन्नका लागि र जसरी चाइनिज विद्यार्थीहरुले पढ्छन् त्यही वर्गमा रहेर नेपाली विद्यार्थीहरुले पढ्न सकुन र अरुसित संवाद गर्न सकुन् भनेर नै हामीले यो मापदण्ड तय गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाएका हौ ।’

यो मापदण्ड लागू भएमा चिनियाँ भाषा अध्ययन गरेका विद्यार्थीहरुले मात्र चीनमा पढ्न जान स्वीकृति पाउनेछन् ।

त्यस्तै, बंगलादेशको हकमा विशषेगरी, बंगलादेशमा अवस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरुलाई निजी मेडिकल कलेमा नपठाउन वर्षौदेखि कुरा उठाउँदै आएको र सय भन्दा बढी निजी मेडिकल कलेज रहेको बंगलादेशमा ती मेडिकल कलेज कहिले कालो सूचीमा रहन्छ र बन्द हुन्छ भन्ने निश्चित नभएका कारण बंगलादेशमा सरकारी मेडिकल कलेजमा अध्ययन गर्न जाने विद्यार्थीलाई मात्र स्वीकृति दिन मन्त्रालयलाई पत्र लेखेको काउन्सिलले जनाएको छ । यद्यपि, मन्त्रालयले भने यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

स्मरण होस्, चिकित्सा शिक्षा अध्ययन गर्नजाने नेपाली विद्यार्थीहरुको सूचीमा बंगलादेश र चीन अंग्रपक्तिमा रहेको छ ।

त्यस्तै, नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको लाइसेन्स परीक्षामा पटक पटक फेल हुनेमा पनि यी देशबाट अध्ययन गरेर आउने विद्यार्थीहरु नै धेरै हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment