Comments Add Comment

क्रिकेटरलाई विमानस्थलमै कसले बाँड्यो पैसा ?

२१ माघ, काठमाडौं । सोमबार त्रिभुवन विमानस्थलमा क्रिकेट खेलाडीहरुलाई स्वागत गर्ने उभिनेहरुको लामै लाइन थियो । ठूलो सख्यामा रहेका क्रिकेट समर्थकहरुको लगातारको हुटिङका कारण वातावरण अस्तव्यस्त थियो ।

त्यही बीच एउटा नाटकीय देखियो । एक महिला क्रिकेट खेलाडीहरुलाई समाउँदै हातमा खाम थमाउन प्रयासरत थिइन् । उनको हातमा खामको ठूलै बिटो थियो ।

सुरुमा उनले ललित राजवंशीलाई खाम थमाइन् । ललित जिल्ल पर्न नभ्याउँदै उनले अरु दुई–तीन खेलाडीको हातमा खाम राखिदिइन् । त्यसपछि ‘क्याप्टेन… क्याप्टेन’ भन्दै कप्तान पारस खड्काको खोजी भयो । तर, पारस सञ्चारकर्मीहरुले घेरिएका थिए । त्यो देखेपछि नेपाली टिमका म्यानेजर रमण शिवाकोटीले ‘एकमुष्ट दिनुस्’ भन्दै खामको बिटो जिम्मा लिए ।

यसरी भटाभट खेलाडीहरुलाई खाम थमाउँदा कौतुहल बढ्यो कि ती महिला को हुन् र खाममा के छ ?

बुझ्दै जाँदा थाहा भयो, उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाकी पत्नी रहिछन् । तिमल्सिनाले नै त्यहाँ खेलाडीहरुलाई पुरस्कार बाँड्न लगाएका थिए ।

तिमल्सिनाका प्रेस विज्ञ अशोक पौडेलका अनुसार नेपाली टोलीमा रहेका २१ जनालाई जनही १० हजारको दरले नगद पुरस्कार बाँडिएको हो । ‘अध्यक्षज्यूले आफ्नो व्यक्तिगत तर्फबाट जम्मा २ लाख १० हजार पुरस्कार खेलाडीलाई प्रदान गर्नुभएको छ,’ उनले अनलाइनखबरलाई जानकारी दिए ।

तर, त्यस्तो कोलाहलमा मरिहत्ते गरेर बाँड्नुको साटो व्यवस्थित किसिमले सम्मानपूर्वक पनि वितरण गरेको भए हुन्थ्यो नि ? भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यस्तो अस्तव्यस्त होला भन्ने सोचिएन । खेलाडीहरुलाई छुट्टै राखेर अध्यक्षज्यूले नै प्रदान गर्ने योजना थियो । तर, त्यस्तो परिस्थिति नदेखिएपछि हतारमा बाँड्नुपर्‍यो ।’

पौडेलका अनुसार अध्यक्ष तिमल्सिना क्रिकेटप्रेमी हुन् । उनी नेपाली क्रिकेटका बारेमा निकै अपडेट छन् र प्रत्येक खेलाडीलाई चिन्छन् । ‘उहाँ नेपालको क्रिकेटबारे चासो राख्नु हुन्छ, त्यसैले खेलाडीलाई थोरै भए पनि प्रोत्साहन गर्ने उद्देश्यले सानो नगद पुरस्कार प्रदान गनुएभएको हो,’ पौडेलले भने ।

निश्चय पनि तिमल्सिनाले आफ्नो व्यक्तिगत पैसाबाट खेलाडीलाई पुरस्कृत गर्नु सह्राहनीय छ । तर, ठाउँ र समयको विषयमा अलि विचार पुर्‍याएको भए राम्रो हुन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment