Comments Add Comment

तीनकुनेमा शान्ति मण्डला बनाउने योजना अलपत्र, अझै मुआब्जा विवाद टुंगिएन

२१ माघ, काठमाडौं । मुआब्जा विवादका कारण काठमाडौंको तिनकुनेस्थित खाली जग्गामा शान्ति मण्डला बनाउने योजना अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाले ०७३ असारमा घोषणा गरेको योजना जग्गा मुआब्जा विवादका कारण हालसम्म अघि बढ्न नसकेको हो ।

अलपत्र परेको खाली ठाउँलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गरी शान्ति मण्डला बनाउन महानगरपालिकाले सम्भाव्यता अध्ययनको काम समेत गरिसकेको छ ।

तर, केही स्थानीयसँगको मुआब्जा विवाद कारण काम अघि बढाउन नसकिएको महानगरपालिकाका सम्पदा विभागका प्रमुख रामबहादुर थापाले अनलाइनखबरलाई जानकारी दिए ।

चलनचल्तीको भाउ नपाएसम्म मुआब्जाको पैसा नलिने जग्गाधनीहरुको अडान छ । तर, महानगरपालिका भने पहिल्यै अधिग्रहण गरिसकेको जग्गाको मुआब्जा अहिलेको भाउमा दिन नसकिने बताउँछ ।

महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ । जसमध्ये २१ रोपनीको मुआब्जा बितरण भइसकेको छ ।  सरकारले मुआब्जाका लागि १५ करोड रुपैयाँ छुट्याएकोमा प्रतिआना ३ लाखका दरले २१ रोपनी ११ आना २ पैसा १ दशमलब ९ दाम जग्गाका धनीलाई १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ ।

तर, बाँकी २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरुले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् । अहिलेको चलनचल्तीको भाउमा मुआब्जा दिए राज्यलाई दोब्बर व्ययभार पर्ने सरकारी अधिकारीहरु बताउँछन् ।

तिनकुनेको सडक छेउका स्थानीयले पनि मुआब्जाको दाबी गर्दै आएका छन् । सिनामंगलतर्फ र कोटेश्वर तर्फको सडक क्षेत्रको झण्डै ८ रोपनी जग्गामा स्थानीयको मुआब्जा दाबी छ ।

महानगरपालिकाका अधिकारीका अनुसार जग्गाधनीले सडकको बीचबाट २५ मिटर दायाँबायाँको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गरेका छन् ।  तर, सडक क्षेत्राधिकार (राइट अफ वे) भित्रको जग्गा पहिल्यै अधिग्रहण गरिसकेकाले त्यसको मुआब्जा दिन नमिल्ने महानगरपालिकाका अधिकारी बताउँछन् ।

महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल सरकारले पहल गरेर मुआब्जा बिवाद सुल्झाइदिए तिनकुनेमा शान्ति पार्क निर्माण तत्काल अघि बढ्ने बताउँछन् ।  तिनकुनेको जग्गा संरक्षणका लागि हाल जस्तापाताले घेरेर राखिएको छ । यो जग्गा पूरै प्रयोगविहीन छ ।

जस्तापाताले घेर्नुअघिसम्म यो ठाउँ पशु चर्ने, फोहर फाल्ने, ड्राइभिङ सिकाउने, निर्माण सामग्री थुपार्नेहरुको अखडा बनेको थियो । हिउँदमा धुलाम्मे र वर्षामा हिलो एवं झाडीले ढाकिने यो स्थानलाई एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने योजना रहेपनि सरोकारवालाले त्यति पहलकदमी लिएको देखिँदैन ।

तयार छ डिजाइन

‘तिनकुने शान्ति मण्डला’को नक्सा तयार भइसकेको छ । महानगरपालिकाको सम्पदा विभागका अनुसार आर्किटेक्ट डिजाइन एसोसिएसनसँगको सहकार्यमा नक्सा तयार पारिएको हो ।  विभागका अनुसार ४५ मध्ये ३५ रोपनी जग्गामा शान्ति मण्डला तयार पार्ने योजना छ ।

त्यसको बीच भागमा ५४ फिट अग्लो तीनतले स्तुपा निर्माण गर्ने परिकल्पना गरिएको छ । जसलाई माटोले भरिने छैन । स्तुपाभित्र तीनतलाको संरचनाहरु निर्माण हुनेछ ।

बाहिरी भागमा भने दुबो सहितको चौर रहनेछ । जसमा विभिन्न मण्डला जनाउने क्रसहरू रहनेछन् । स्तुपाको तल्लो तलामा तीन सय कार र दुई सय ५० मोटरसाइकल अट्ने पार्किङ हुनेछ ।

दोस्रो तलामा ध्यान केन्द्र निर्माण गरिनेछ भने तेस्रो तलामा क्युरेटर सपहरु रहनेछन् । ध्यान केन्द्र अर्थात ‘मेडिटेसन’ हल विभिन्न आध्यात्मिक कार्यक्रम गर्न प्रयोग गरिनेछ । शंख चक्र पार्कसहितको हलमा एकैपटक दुई सय जनाले योग गर्न सक्नेछन् ।

क्युरेटर सपमा भने विभिन्न धार्मिक वस्तु र सजावटका सामाग्रीहरु किन्न सकिने छ । त्यही स्तुपाको माथि बानेश्वरतर्फ फर्किएको १६ मिटर अग्लो बुद्धको मूर्ति सजाइनेछ । यसले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनेछ ।

मूर्तिको छेउमा दुईवटा मन्दिर जस्तै संरचना राख्न प्रस्ताव गरिएको छ । तर, त्यसमा मूर्ति राख्ने योजना महानगरको छैन । मण्डलाको तीनै कुनालाई बौद्ध र हिन्दु धर्मको मर्मसँग फ्युजुन गर्ने योजना छ । तीन कुनालाई हिन्दूधर्मको ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिन सकिने सोचमा यसको डिजाइन भएको छ ।

यस्तै बौद्ध धार्मावलम्वीहरुले तीनै कुनालाई आफ्नाे दर्शनअनुसार बुद्ध धर्ममा ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’लाई मान्न सक्नेछन् ।  ‘यहाँ प्रतीक झल्किने कुनै चीज हुनेछैन । पार्कको प्रत्येक कुनामा चक्र र शंखको पेभिलियन निर्माण हुनेछ । पार्क वरपर नेपालका झण्डा राखेर राष्ट्रिय गौरवको स्थलमा रुपमा पनि पार्कलाई विकास गरिनेछ ।

मण्डलाभित्र हरियाली पार्कसमेत निर्माण हुनेछ । त्यसका लागि रुख बिरुवाहरु रोपिनेछन् । संरचनाको तीनवटै कोणमा वाटर फाउन्टेन जडान गरिनेछ । बेलुकीको समयमा यसलाई रंगीन म्युजिकल फाउन्टेनका रुपमा प्रयोग गरिनेछ ।

यसलाई पूर्ण धार्मिकभन्दा पनि धार्मिक विम्वयुक्तस्थलका रुपमा विकास गर्ने सोच महानगरको छ । पार्कमा परिक्रमा मार्ग घुमिसकेपछि आगन्तुकको मन शुन्यतामा जाने अर्थात् शहरी कोलाहल र तनावबाट मुक्ति पाउने डिजाइनको सोच छ ।

गोलाकारबाट मूर्तिसम्म पुग्न १२ वटा प्रवेश कक्ष हुनेछन् । १२ घण्टाको दिन र १२ घण्टाको रात तथा असीमित समयको भावको प्रवेशद्वार निर्माण हुनेछन् । पार्क र बाहिरी भागको वीचमा पानीको फोहोराले सीमाना बनाउने ढाँचामा उल्लेख छ ।

पार्कभत्र बस्ने मानिसलाई बाहिरी सवारी साधनको हल्लाले असर नगर्ने गरी नयाँ प्रविधि जडान गरिनेछ । पार्कमा पानीको कलकल आवाज सुन्न पाइने भएकाले पार्क प्राकृतिक हुने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment