Comments Add Comment

भेनेजुएलाका राष्ट्रपतिद्वारा आर्थिक सहायता अस्वीकार, भन्छन्– हामी भिखारी होइनौं

२२ माघ, काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस माधुरोमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गइरहेको छ । अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, स्पेन लगायत युरोपीय संघका करिब १६ देशले विपक्षी दलका नेता ख्वान ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

राष्ट्रपति माधुरोविरुद्ध आन्दोलनरत ग्वाइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । माधुरोले भने राजनीतिक संकटका कारण देशमा गृहयुद्ध हुने आशंका व्यक्त गरेका थिए । तर, ग्वाइदोले त्यसलाई खण्डन गर्दै यो माधुरोको कल्पना मात्र भएको बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले माधुरो तानाशाही बनेको आरोप लगाएका छन् । उनले आफ्ना देशका जनतालाई दाउमा राखेर कुर्सीमा टाँसिइरहेको आरोप लगाए ।

भेनेजुयला भयानक आर्थिक मन्दीबाट गुज्रिरहेको छ । औषधि, खाद्यान्न जस्त अत्यावश्यक चिजको कमी भएको छ । भेनेजुयलाका नागरिक महंगीको मारमा परेका छन् । गत वर्ष भेनेजुयलामा हरेक १९ दिनमा बस्तुको मूल्य औसत दोब्बर वृद्धि हुने गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ देखि हालसम्म ३० लाख जना देशबाट बिस्थापित भएका छन् ।

भेनेजुयलाका जनताले यिनै मुद्दा उठाएर सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन रोक्न सैन्य बल प्रयोग गरेको आरोप सरकारलाई लाग्दै आएको छ । यसबीच हालै भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षी नेता ख्वान ग्वाइदोले आफैंले अन्तरिम राष्ट्रपति घोषणा गरे र, अमेरिकासहित विश्व शक्तिराष्ट्रहरुको समर्थन पाए ।

तर, चीन र रुस भने माधुरोको पक्षमा छन् । भेनेजुयलामा विदेशी हस्तक्षेपको रुसले निन्दा गरेको छ । रुसले भनेको छ ‘यो जबर्जस्ती खोसिएको सत्तालाई वैध ठहर्‍याउने कोशिस हो ।’

युरोपीय देशको आर्थिक सहायता

यसबीच ग्वाइदोलाई मान्यता दिएका देशहरुले भेनेजुयलाका जनतालाई औषधि र खाद्यान्नका लागि सहयोग गर्ने बताएका छन् । यसका लागि उनीहरुले करोडौं डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

ग्वाइदोले देशका सेनालाई आवश्यक सामानहरु जनतासमक्ष पुर्‍याउन अपिल गरेका छन्, जसबाट लाखौं जनताको जीवन रक्षा हुन्छ ।

यो सहयोग कोलम्बियासँग जोडिएको सीमाबाट ल्याइने छ । ग्वाइदो चाहान्छन् सेनाले यी सामान त्यहाँबाट ल्याएर जनतालाई वितरण गरोस् । तर, भेनेजुयलाको सेना अहिलेसम्म राष्ट्रपति निकोलस माधुरोको पक्षमा छ ।

माधुरोले युरोपीय संघको सहयोग अस्वीकार गरेका छन् र भनेका छन् भेनेजुयलाका जनता भिखारी होइनन् । भेनेजुयला मानवीय सहयोगको झूठो आश्वासनमा नफस्ने बताउँदै उनले भनेका छन्, ‘भेनेजुयला काम गर्छ, उत्पादन गर्छ र आफ्नो अर्थव्यवस्थालाई अगाडि बढाउँछ । हामी भिखारी होइनौं ।’

यसैगरी राष्ट्रपति माधुरोले घोषणा गरेका छन् कि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुल्ला चिठ्ठी लेख्नेछन्, जसका लागि देशका जनताको हस्ताक्षर संकलन भइरहेको छ । यस चिठ्ठीमा विदेशी हस्तक्षेप भेनेजुयलाले अस्वीकार गर्छ भन्ने कुरा उल्लेख हुनेछ ।

इटली कसको समर्थक ?

भेनेजुयला संकटलाई लिएर इटलीको सत्ताधारी गठबन्धनको राय बाझिएको छ । लीग पार्टी ख्वान ग्वाइदोको पक्षमा छ भने उसको सहयोगी फाइब स्टार मुभमेन्ट विपक्षमा छ ।

फाइभ स्टार मुभमेन्टका अनुसार कुनै पनि देशलाई यो गर, ऊ गर भन्ने काम युरोपीय संघको होइन ।

फाइभ स्टार मुभमेन्टका एक सांसदले भनेका छन् – युरोपले अमेरिकी आदेश मान्न बन्द गर्नुपर्छ ।

यसैगरी इटलीका राष्ट्रपति सर्गियो मातरेलाले दुवै पार्टीलाई ख्वान सहमतिमा आउन अपिल गरेका छन् । उनले भनेका छन्, ‘भेनेजुयला र इटलीको सम्बन्ध निकै मजबुत छ । इटलीका धेरै मानिस भेनेजुयलामा र भेनेजुयलाका धेरै मानिस इटलीमा बस्छन् । युरोपीय संघका सहयोगीसँग एकमत हुनु पनि हाम्रो जिम्मेदारी हो । जनताको इच्छा, लोकतन्त्र र सेनाको लडाइँ तथा जनताको पीडामा कुनै एक रोज्न हामीले संकोच मान्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment