Comments Add Comment

रवि ओड प्रकरण : लोकदोहोरी प्रतिष्ठानबाट अलग्गिएको बसन्तको घोषणा

पशुपति शर्माको बसन्तलाई सुझाव : फेसबुकका कमेन्ट नपढ्नुस्

२३ माघ, काठमाडौं । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् ।

बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

यनले अघि भनेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’

अषट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाए ।

तर, रविका फ्यानहरुले उनलाई गालीगलौज गरे । रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको बताएका छन् । रविले बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् ।

बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा जोड दिँदै आएका छन् ।

तर, यो प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेकोमा बसन्त असन्तुष्ट छन् । अनलाइनखबरसँगको कुराकानीमा बसन्तले भने, ‘म अहिले एकदमै डिस्टर्व छु । प्रतिष्ठानबाट अलग्गिने मेरो आत्मनिर्णय हो । कसैसँग सल्लाह गरेर निर्णय लिएको होइन । यो विषयमा अहिले थप केही बोल्न चाहन्न ।’

यो पनि पढ्नुहोस रवि ओडको स्पष्टीकरण : बाध्यताले ‘सालको पात’ गाएको हुँ

लोकदोहोरी प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्माले भने बसन्तले उठाएको विषय जायज भएको बताए । प्रतिष्ठानको फागुन १ गते वैठकमा यसबारे कुराकानी हुन सक्ने भन्दै उनले फेसबुकमा आएको गालीबाट विचलित नहुन आग्रह गरे ।

उनको भनाइ जस्ताको तस्तैः

म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन् बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म लोकदोहोरी प्रतिष्ठानको सचिव थिए । प्रतिष्ठानले त्यो इस्यूमा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैंले व्यक्तिगतरुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।

अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छु । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ । त्यो गरेको देखिएन ।

यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी प्रतिष्ठानको वैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थियो कि थिएन थाहा भएन । उहाँले संस्थागत ढंगले जानुपर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर विचलित नहुन उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु । अरु केही लेख्दिनँ ।

प्रतिष्ठानको फागुन १ गते वैठक बस्दैछ । सम्भवत त्यस वैठकमा यो विवादबारे छलफल भएर कुनै निष्कर्षमा पुग्न सकिन्छ । तर, मुलभुत कुरा भनेको स्रष्टाको सृजना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ, तर, ती गीत सिर्जनामा कति मेहनत, दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।

यो पनि पढ्नुहोस ‘सालको पात…’ गाउँदा विवादमा परे रवि ओड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment