Comments Add Comment

रेष्टुरेन्ट तथा बारका मजदुरको हड्ताल स्थगित, २७ गते रेवानसँग वार्ता

Photo Credit : मुक्ति दाहाल

२३ माघ, काठमाडौं । रेष्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क खारेजीको विरुद्ध हड्तालमा उत्रिएका मजदुरहरुले आन्दोलन स्थगित गरेका छन् ।

श्रम विभागले होटल एशोसियनलाई सेवा शुल्क खारेज गर्न नपाइने कानुनी व्याख्यासहित पत्राचार गर्ने बताएकाले आन्दोलन स्थगित गरिएको मजदुर संगठनहरुले जनाएका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गरी रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) ले पनि माघ २७ गते द्विपक्षीय वार्ता गर्ने जनाएको उल्लेख गरेका छन् ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवान (काठमाडौं, पोखरा र सौराहा) को गत सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको थियो । लगत्तै मजदुरहरु विरोधमा उत्रिएका थिए ।

मंगलबारदेखि देशव्यापी हड्ताल गर्ने घोषणा गरेका मजदुर संगठन श्रम विभाग वार्ताका लागि बोलाएपछि पछि बुधबारदेखि हड्ताल गर्ने भन्दै पछि हटेका थिए । तर, उक्त वार्तामा रेवानका प्रतिनिधि थिएनन् ।

तत्कालीन माओवादी र अन्य मजदुर संगठनहरुले दबाव दिएपछि होटल व्यवसायी र मजदुर संगठनबीच अनिवार्यरुपमा ग्राहकबाट १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो । सन् २००६ देखि यसरी ग्राहकबाट १० प्रतिशत अनिवार्य शुल्क लिन थालिएको थियो ।

झण्डै सात महिनाअघि होटल संघ नेपाल र मजदुरबीच ग्राहकबाट लिइने १० प्रतिशत सेवा शुल्क भागबण्डा गर्ने सहमति भएको थियो ।

त्यसमध्येको ७२ प्रतिशत कामदारलाई, २३ प्रतिशत प्रतिष्ठानलाई, ३ प्रतिशत तीन ठूला टे्रड युनियन संगठनलाई र २ प्रतिशत होटल संघलाई दिने सहमति थियो ।

यसले कामदारहरुलाई केही राहत दिन्थ्यो । तर, ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त १० प्रतिशतसमेत जोडेर रकम लिन थालिएको भन्दै चौतर्फी विरोध भएपछि सोमबार रेवानले उक्त शुल्क हटाएको घोषणा गरेको थियो ।

मजदुर र तीनका संगठनहरुले पाउँदै आएको रकम नपाउनेपछि होटल एशोसिएसन र टे्रड युनियनबीच मतभेद देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले समेत सेवा शुल्क हटाउने रेवानको निर्णयमा सहमति जनाएको छ ।

यो पनि पढ्नुहोस सेवा शुल्कको आन्दोलन : ट्रेड युनियनको कमाइ जोगाउने दाउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment