Comments Add Comment

सांस्कृतिक गन्तव्य बन्दै धनुषाधाम

२ नं प्रदेशको पर्यटकीय गन्तव्य

त्रेतायुगीन हाम्रा आराध्यदेव श्रीराम र सीताको बारेमा जे जति तथ्य र प्रमाणहरू छन् ती सबै वेद, पुराण र जनविश्वासमा आधारित छ । त्यस्तो जनविश्वासलाई ठोस आधार प्रस्तुत गर्न सीता स्वयम्बर बेला अयोध्याका राजकुमार रामद्वारा पिनाक धनुष भाँचेको र त्यो धनुषा तीन खण्डमा विभक्त भई उछिट्टिएर दुई अन्यत्र झरे पनि एक टुक्रा यही पृथ्वीमा झरेको र त्यो धनुष धाम भएको ठाउँमा रहेको जनविश्वासलाई यसै ओझेलमा पार्न सकिँदैन ।

जनकपुरधाममा जगत् जननी सीताको दर्शन गर्न आउने दर्शनार्थीहरू धनुषाधाम अवश्य पुग्ने गर्दछन् । त्यहाँ रहेको धनुषखण्डको दर्शन–पूजा गरी धन्य हुन्छन् ।

मिथिला महात्म्यमा धनुषदर्शनले मात्र पनि सबै पापको नाश हुन्छ भनिएको छ । तर, धनुषाधामलाई गन्तव्य बनाउने काम भएन ।

धनुषाधाम किन जाने ?

धनुषाधाममा एउटा शीलाखण्डजस्तो देखिने लामो धनुषको टुक्रा राखिएको छ । यो टुक्रा तीन–चार वर्षमा एकचोटी आफैं बढ्छन् । टुक्रा बढ्दै जाँदा धनुषलाई घेर्न पर्खाल पनि त्यसै अनुरूप बढाइँदै लगिन्छ । पिनाक धनुषको साबुत टुक्रा रहेको जनविश्वासमा यसलाई पूजन–दर्शन गर्न सालभरि नै दर्शनार्थी आउने गर्दछन् । माघ महिनामा प्रत्येक आइतबार यहाँ लाखौं दर्शनार्थी, श्रद्धालु आउँछन् र दर्शन–पूजा गरी मनोकामना पूरा भएको वा हुने प्रार्थना गर्दछन् ।

‘धनुष’जीको मूल मन्दिरमा हनुमानको मूर्ति राखिएको छ भने मन्दिरभन्दा केही दक्षिणतिर राम–जानकी मन्दिर पनि छन्, जसको निर्माण पछि आएर गरिएको छ । त्यहाँ धर्मशाला पनि छ । प्राप्त शिलालेख अनुसार दरभंगाका राजा लक्ष्मेश्वर सिंहकी आमा महेश्वर लतादेवीले शाके १७९७ मा धर्मशालाको निर्माण गराई दिएकी छिन् ।

पुरानो जीर्ण मन्दिरलाई सम्बत् १९९५ मा बलियाका रघुनाथ राम जयसवालले मन्दिरको पुननिर्माण गराई दिएका थिए भने पुरानो धर्मशालाको पनि जिर्णोद्धार १९४१ ई.मा पटना, कदमकुआ (बिहार, भारत)का ताराचन्द्र अग्रवालले गराई दिएका थिए ।

धनुषाधाम पचास वर्षपूर्व जंगलमध्य नै रहेको थियो । आज पनि धनुषा जिल्लामा जंगल हेर्न चाहे धनुषाधाम नै जानु पर्दछ । केही पुराना रूखहरूको संरक्षण गर्ने काम गरिएको छ भने त्यही जंगलभित्र चट्टीबाबाको प्रभावबाट अखण्ड संकीर्तन महायज्ञ विगत केही वर्षदेखि निरन्तर चालु रहेको छ ।

धनुषा जंगलमा पर्यटकीय आकर्षणका लागि वन विभागले हरिण पाल्ने काम पनि गरेको थियो । तर त्यसको उचित रख–रखाव नहुँदा केही हरिण मर्न थालेपछि त्यहाँबाट अन्यत्र सारिएको छ ।

जनआस्था

प्रथम त रामद्वारा तोडिएको शिवजीको पिनाक धुनषको यो खण्ड हो र त्यसको दर्शन, पूजाले समस्त पापको नाश र मंगल हुने विश्वास सयौं वर्षदेखि चल्दै आएको छ । ‘मिथिला महात्म्य’को लेखन अढाई सय वर्षभन्दा पहिला भएको र त्यसमा धनुष महिमा वर्णित रहेकोले पनि यो विश्वासको निरन्तरता निकै प्राचीन रहेको अनुमान गर्न सकिन्छ ।

दोस्रो विश्वास मन्दिरमा अवस्थित बटवृक्षको जरामा रहेको प्वालको बारेमा छ । यस क्षेत्रका वासिन्दा सुख्खाको समयमा त्यस प्वालमा दूधको भाँडो खन्याएर भर्ने प्रयास गर्दछन् । त्यो प्वाल पुरियो भने वर्षा हुने र कृषि कार्य राम्ररी सम्पन्न हुने, यदि त्यो पुर्न सकिएन भने त्यो वर्ष पानी नहुने, अकालको सम्भावना रहने जनविश्वास छ ।

तेस्रो धनुषको मन्दिरमा भाटाको भार चढाइने गरिन्छ । बाँसको झिक्रामा रोपिएका दुइटा भण्टाको भारलाई दर्शनार्थीहरू चढाउने गर्दछन् । मेलामा त्यस्ता भारहरू प्रशस्त बिक्री भैरहेका हुन्छन् । यो चढाउँदा मनोकामना पूरा हुने त हुन्छ नै जीउमा कतै कोठी छ भने त्यो पनि आफैं निको हुन्छ ।

यिनै जनविश्वासले धनुषाधामको महत्तालाई दशकौंदेखि स्थापित गर्दै आएको छ ।

मेलाको विशेषता

धर्म र आस्थाका कारण जुट्ने विशाल जनसमूहको लागि वर्षमा एकचोटी मेलाको आयोजन गर्ने गरिन्छ । मकर मेलाको नाउँले प्रचलित यस मेलामा नेपाल–भारतका लाखौं श्रद्धालु आउँछन् । मेलामा खाने–पिउने, लत्ता–कपडा आदि सबै खाले सामग्री बिक्रीको लागि हुन्छन् ।

तर, यस मेलाको थप आकर्षण भने पहाड र तराईको संगमस्थलमा आयोजना हुनु र त्यसमा दुवै समुदायका दर्शनार्थी, श्रद्धालुहरूको विशेष उपस्थितिलाई मान्नु पर्दछ । मेलामा पहाडबाट सुन्तला, तेजपत्ता, कुकुर, खुकुरी, कम्बल, जडिबुटी आदि ल्याएर बेचिन्छन् भने मधेसबाट लगिएका लत्ता–कपडा, भाँडाकुडा, जुत्ता–चप्पल, नून, फलामका घरायसी सामग्री, केसौर
(फलविशेष) पहाडी समुदायको लागि आकर्षक खरिददारी हुन्छ ।

मेलाको अर्को आकर्षण हुन्छ–महिलाहरूको बृहद् उपस्थिति । गाउँ–घरमा महिलाहरूलाई हत्पत् घरबाहिर जान छुट पहिले त छँदै थिएन, अहिले पनि नियन्त्रित रूपमा नै रहेको छ । तर धनुषा मेलामा महिलाहरूलाई जान घरबाट पहिलेदेखि नै छुट रहँदै आएको छ । यसको फाइदा एकअर्कासँग भेट्ने थलोको रूपमा पनि यसको प्रयोग हुने गर्दछ ।

नजिकका गाउँहरूमा बिहे भएकी छोरी, बहिनी, दिदीसँग भेट्न घरकी महिला मेलामा अवश्य जाने गर्दछिन् । भेटेपछि सँगै लगिएको पुरी–तरकारी, चूडा–दही खुवाई, हालचाल सोध्ने र जाने बेलामा जेरी किनेर सन्देश दिने प्रचलन रहेको छ । युवाहरू माइतीमा रहेकी आफ्नी श्रीमती, सालीहरूसँग भेट्ने सुअवसरको रूपमा पनि यसको प्रयोग गर्दछन् । त्यहाँ पनि पान, सुपारी, बिँडी–सिगरेटदेखि लिएर जेरी–मिठाइसम्मको सन्देशको आदान–प्रदान हुन्छ । यसकोलागी बिचलामकर लाई प्राथमिकतामा राख्ने गरिन्छ । दुई मकर पछिको मकर लाई बिचला मकर भनिन्छ । यसमा लाखौं श्रद्धालु पुग्ने गर्दछन् ।

मेलामा सर्कस, खेल–तमाशाहरू पनि हुन्छन् । मेला भर्नेहरूको लागि मनोरञ्जनको भरपूर व्यवस्था गरिन्छ । रक्सी, माछा–मासु, जुवा–तासको पनि व्यवस्था रहेको हुन्छ । महिनाभरिको रमाइलो वासको निम्ति प्रत्येक प्रबन्ध मेलामा मिलाइएको हुन्छ ।

यसपाली जंगललाई तारवारले घेरेर सुरक्षित बनाउने काम गरिएकोछ ।

२ नं प्रदेशको पर्यटकीय गन्तव्य

शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वतःस्पूmर्त रूपमा अध्यात्मिक केन्द्र विन्दु रहँदै आएको धनुषाधामलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम गरेको छैन । धनुषाधाममा बाह्रैमहिना श्रद्धालुहरू पुग्ने गरेको भए पनि माघभरिको मेला अवधिलाई नै प्याकेजको रूपमा विकसित गरी अहिले बाँचिरहेको जंगलमा अस्थायी कटेजहरूको निर्माण गरी पर्यटक भित्र्याउन सकियो, त्यो निकै लाभदायी हुन सक्तछ । धार्मिक पर्यटकहरूको लागि रामलीला, भजन–कीर्तन आदिको व्यवस्था गरेर बसाइलाई भक्तिमय बनाउन सकिन्छ ।

त्यहाँ रहेको पवित्र वाणगंगा नदी र पोखरीको जीर्णोद्धार गरी आकर्षक बनाउन सकिन्छ । श्रद्धालुहरू यहीँ नुहाएर मन्दिरमा जल–फूल चढाउने गर्दछन् ।

धनुषाधाममा बाँकी रहेको जंगललाई व्यवस्थित गरेर त्यहाँ पशुपंक्षी पालेर आकर्षक गन्तव्य बनाउन सकिन्छ । त्यसमा वनभोज जस्तै व्यवस्थापन र स्थानीय नृत्यहरूको प्रस्तुति देखाउने व्यवस्था गरेर समुद्रपारी पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिन्छ । धनुषाधाम क्षेत्रमा पाहुना बनेर बस्ने प्रचुर सम्भावना रहेकोले पनि त्यसलाई प्याकेज अन्तर्गत व्यवस्थित गर्नसक्नु पर्दछ । २नं प्रदेशका पर्यटन विभागले यसलाई ब्यबस्थित गर्न सके यो बाह्रै महिना पर्यटकीय गन्तब्यको रुपमा विकसित हुन सक्तछ ।

धनुषाधाम पुग्ने बाटो

धनुषाधाम पुग्न अब बाटो निकै राम्रो बनिसकेकोले यात्रुलाई निकै सहज भएको छ । जनकपुरधामबाट १८ कि.मी. उत्तरपूर्व रहेको धनुषाधाम जान मुजेलियाबाट १६ कि.मी. र पूर्वपश्चिम राजमार्गको धारापानीबाट १० कि.मी. दक्षिणमा पर्ने भएकोले पूर्वपश्चिमबाट र उत्तरबाट आउनेहरूको लागि यो बाटो नै उपयुक्त हुन्छ । त्यहाँबाट पनि बस,टेम्पू सेवा नियमित छ । बाटो पनि फेरी फराकिलो बन्दैछ ।

तेजपात मुख्य आकर्षण

धनुषाधाम एउटा धार्मिक आस्थाको केन्द्र भएकोले दर्शन, पूजा गरेपछि मनमा शान्ति र विश्वास लिएर फर्कने त सहज हुने नै भयो । तर धनुषामा मेला भर्ने उद्देश्य राखेर पनि जाँदा आउँदा घरमा खर्चिन सालभरिको लागि तेजपात किनेर ल्याइने गरिन्छ ।

पहाडबाट ल्याइएका तेजपातका डोकोहरू सस्तो मोलमा किनेर ‘देशवाली’ विक्रेताहरू महंगामा बेच्छन् । तर, त्यो पनि सहर–बजार र गाउँ–घरमा भेट्नेभन्दा निकै सस्तो हुने भएकाले सामान्यतः धनुषा मेलाबाट फर्कनेहरूको हातमा तेजपातको विण्डो अवश्य पनि हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment