Comments Add Comment

पश्चिम सेती : ऊ त गयो-गयो माया मारेर !

‘ ऊ  त गयो गयो माया मारेर’ कुनैबेला यो गीत रेडियो नेपालबाट पटक-पटक बज्थ्यो । चर्चित लोक गायिका लोचन भट्टराईले ०५१/०५२ सालतिर गाएको गीत हो जस्तो लाग्छ । सर्जक/श्रष्टाहरुले त्यतिकै कुनै पनि रचना गर्दैनन् । त्यसका पछाडि कुनै घटना वा कुनै उत्प्रेरक तत्व हुन्छ । सायद कुनै घटनाले उनलाई यो गीत रचना गर्न प्रभावित गरेको हुन सक्छ ।

लोचन भट्टराईले २३ बर्षअघि गाएको गीतको जस्तै नियती भएको छ, सुदूरपश्चिम प्रदेशका चार जिल्लाहरु (डोटी, बझाङ्ग, डडेल्धुरा र बैतडी) का जनताका लागि । पश्चिम सेती परियोजना बन्ने आशमा जीवनमा उर्वरक ३८ बर्ष पार गरेका स्थानीयले बुधवार ठुलो नैराश्यता झेल्नुपर्‍यो ।

परियोजना निर्माण गर्ने भन्दै तीन बर्षअघि डुवानस्थल डोटी, आदर्श गाउँपालिका वडा नं. ५ को तलारामै जमीन भाडामा लिएर अस्थायी घरहरु निर्माण गर्दा स्थानीयहरु अव साँच्चै परियोजना निर्माण हुने भयो र बर्षौं देखिको अन्यौलता हट्ने भयो भन्ने आश लगाएका थिए ।

त्यसमाथि अध्ययनसँग सम्वन्धित केही र निर्माणसँग सम्वन्धित केही उपकरणहरु आए, एक गाडी नियमित भाडामा लिएर केही चानियाँ नागरिकहरु परियोजना क्षेत्रमा आउ जाउ गर्ने, उतै बस्ने गरेको देखेपछि बिश्वस्त भएका स्थानीयहरुले अब परियोजनाको निर्माण कार्यसँगै आफ्नो पस्तौनी थलो छोडेर अन्यत्र बसाई सार्नु पर्ने दिन नजिकिन थाले भन्ने सोच लगाए ।

वर्तमान अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते आर्थिक वर्ष ०७५/७६ का लागि संसदमो पेश गरेको बजेट भाषणमा पश्चिम सेती परियोजना आन्तरिक स्रोतबाट बनाउने भन्ने थियो । तर, त्यो भाषण पनि संसद् भवनमै सीमित रह्यो

‘अब हामीलाई कहाँ पुनस्थापना गर्ने होला !’, ‘सबैलाई एकै ठाउँमा पुनस्थापना गर्ला की फरक फरक ठाउँमा !’, ‘हामीलाई नगदै मुआव्जा देला कि जमिन खोजेर देला !’, ‘मुआव्जा कुन आधारमा निर्माण गर्ला !’, ‘पहाडमा पुनस्थापित गर्ला कि तराईमा गर्ला !’, ‘अव पुनस्थापना हुने ठाउँको हावापानी यहाँको जस्तो होला कि फरक होला !’, यस्तायस्तै बिषयमा चर्चा हुन थालेका थिए स्थानीयहरुबीच । त्यसमाथी स्थानीयलाई शेयर लिन पाउने भनेपछि कसले कति शेयर किन्ने भन्ने बिषयमा पनि चर्चा हुन थालेको थियो । आफुसंग भएको पैसाले शेयर किन्नेसम्मको कुरा पनि हुन थालेको थियो ।

बैतडीको सिगास गाउँपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, बझाङ्गको केदारस्यूँ र थलारा गाउँपालिका र डोटीको आदर्श र सायल गाउँपालिकाका झण्डै १० हजार जनसंख्यालाई बिस्थापित गरि बैतडीको ढुङ्गाड भन्दा अलि तल “तिमिला” भन्ने ठाउँ नजिक सेती नदीमा जमिनको सतहदेखि एक सय ९५ मिटर उचाईको बाँध निर्माण गर्ने र सायली गाडको दोभानबाट करीव ६.७ किलोमिटरको हेडरेस सुरुङ्ग निर्माण गरि नदीको बहाव मार्ग परिवर्तन गर्ने योजनाको डिपीआरमा छ ।

पानी निस्कने ठाउँ शिखर नगरपालिका वडा नं. ११ को रातामाटीमा दुई सय ५० मेगावाट क्षमताका तीन टवाईन जडान गरि सात सय ५० मेगावाट बिद्युत निकाल्ने सपना देखाइएका स्थानीयहरु पटक पटक उत्साहित भए र पटक पटक निराश भए । डुवान क्षेत्रका जनताले आफ्नो ठाउँको विकासका लागि आफुहरु बिस्तापित हुनु पर्छ भन्ने मान्यता वनाईसकेका थिए भने आसपासका बासिन्दाले परियोजना बनेपछि बिद्युत बाल्न पाइने, सानोतिनो रोजगारी पाइने, व्यापार व्यवसाय बढ्ने, एक सय ९५ मिटर उचाईको करीव २५ किलोमिटर लामो जलासय बन्ने भएका कारण पर्यटकीय क्षेत्र हुने आश गरेका थिए । तर उनीहरुको त्यो आश “मनको लड्डु घिउसंग खानु” वाहेक अरु कुनै हुने देखिदैन ।

पश्चिम सेती परियोजना बन्ने र पछि यो क्षेत्र डुवानमा पर्ने भन्दै सरकारले कुनै ठुला योजना निर्माण गरेन उक्त क्षेत्रमा । आफ्नो नाममा रहेको उर्वरक फाँटहरु बर्षेनी नदीले कटान गर्दै जाँदा समेत उनीहरुले भू–क्षय नियन्त्रणका लागि प्रभावकारी योजना पाएनन्, कारण पश्चिम सेती आयोजना निर्माण हुने हल्ला । नदीले कटान गर्दै जाँदा कयौं परिवार त ‘जग्गा विनाका जग्गाधनी’ भइसके अर्थात जग्गाधनी प्रमाण पूर्जा भएका सुकुम्वासी । जमिन जति नदीको हिस्सामा परिसक्यो तर प्रमाण पूर्जा छ र सोही अनुसार तिरो पनि तिरिराख्नुपर्छ ।

यति हुँदा समेत सरकारले नदी नियन्त्रण गर्ने तर्फ कुनै चाँसो दिएन । भौतिक पूर्वाधारका नाममा न सडक छ, न बिद्युत छ, न खानेपानी छ । राम्रोसंग फोनमा कुरा गर्नका लागि एक टावरसम्म पनि उक्त क्षेत्रमा निर्माण हुन सकेको छैन । परियोजनाले आश देखाई देखाई ३८ बर्ष पछाडी धकेलेको छ यस क्षेत्रको पूर्वाधार विकासलाई ।

सरकार फेरिन्छ, अर्को सरकार बन्छ । प्रतिपक्षमा हुँदा ‘पश्चिम सेती वनाएरै छोड्छौं’ भन्ने नेताहरु सत्तामा पुगेपछि पुच्छर लुकाएर बस्छन् । फेरि प्रतिपक्षमा आउँछन् ‘अव हाम्रो सरकारको पालामा अवश्य बनाउँछौं’ भन्छन्, फेरि सत्तामा पुग्यो उही ताल । गायत्री मन्त्र जस्तै भएको छ पश्चिम सेती परियोजना ।

स्थानीयवासीको आशामा एकाएक बुधबार तुषारापात भयो । जब थ्रि–गर्जेजका केही कर्मचारीहरु आएर सामान हेलिकोप्टरमा राखेर लैजान थाले

सबैले सुदूरपश्चिमको समृद्धिका लागि पश्चिम सेती परियोजनालाई अपरिहार्य ठान्छन् तर कसैले पनि परियोजना निर्माणका लागि ठोस कदम चाल्दैनन् । वर्तमान अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते आर्थिक बर्ष २०७५/०७६ का लागि संसदमो पेश गरेको बजेट भाषणमा पश्चिम सेती परियोजना आन्तरिक श्रोतबाट बनाउने भन्ने थियो । तर, त्यो भाषण पनि संसद भवनमै सीमित रह्यो ।

नदीको पानीको बहाव नाप्ने काम सन १९८१ बाटै हुँदै आएका कारण परियोजना बनिहाल्छ भन्नमा बिश्वास थिएन स्थानीयबासीलाई । तर, जब थ्रि–गर्जेजले संरचनानै निर्माण गर्‍यो र थुप्रै उपकरण पनि ल्यायो, जन परिचालन बढ्न थाल्यो तव स्थानीयहरु अव परियोजना पक्कै बन्ने भयो भन्ने तहको मानिसकता वनाएर बसेका थिए । स्थानीयवासीको आशामा एकाएक बुधबार तुषारापात भयो । जब थ्रि–गर्जेजका केही कर्मचारीहरु आएर सामान हेलिकोप्टरमा राखेर लैजान थाले ।

करीव ३० बर्ष अगाडि पनि त्यसैगरी उक्त क्षेत्रमा एक हेलिकोप्टर आएको थियो रे । केही नेपाली र केही बिदेशीहरु उक्त हेलिकोप्टरमा आएका थिए रे । बिजुली निकाल्ने भन्दै तलमाथि हिँडेका थिए रे । त्यो हेलिकोप्टरले बिजुली बाल्ने सपना देखाएर गएको थियो जनतालाई । तर, ३० बर्षपछि बुधवार आएको अर्को हेलिकोप्टरले ३० बर्ष पहिलेको उक्त सपना उडाएर लग्यो ।

लोचन भट्टराईले गाएको “उ त गयो, माया मारेर” भनेझैंं भएको छ स्थानीयबासीहरुका लागि । पाँच वर्षमै पश्चिम सेती परियोजना निर्माण गरिसक्ने भनेर आएको चिनियाँ कम्पनी “थ्रि–गर्जेज” त गयो गयो माया मारेर…।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment