Comments Add Comment

जाडो जानैलाग्दा भारी वर्षा ! हिमपात पनि हुनसक्ने

पहिरोको जोखिम रहेकाले सतर्क रहन अपिल

२३ माघ, काठमाडौं । केही दिनयता दिनहुँ लागेको चर्को घाम देखेर धेरैले ठानेका छन् अब यस वर्षको जाडो सकियो । तपाईंले पनि यस्तै ठानेर न्याया कपडा र हिटर थन्काइसक्नु भएको हुनसक्छ । तर तीन दिनसम्म भारी वर्षा र हिमपात हुने भएकाले अझै केही दिन चिसो बढ्ने भएको छ । त्यतिमात्र होइन, माघ महिनाको अन्तिम सातामा बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन सूचना नै जारी गरिएको छ ।

पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले आज बिहानैबाट पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । आज दिउँसोदेखि नै यो बादल मध्य र पूर्वतर्फ सर्न थालेको छ । साँझसम्म यसले नेपालको मध्य भाग पनि ढाकिसकेको हुनेछ । यो बादल पूर्वी नेपाल हुँदै नबाहिरिएसम्म मौसममा गडबडी जारी रहन्छ ।

त्यसैले बिहीबारदेखि शनिबारसम्म देशभर वर्षा र हिमपात हुने मौसमविद मञ्जु बासीले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौंमा भोलि र पर्सि पनि वर्षा हुन्छ । शनिबारबाट मात्र देशभर मौसममा सुधार आउन थाल्ने छ ।’

सतर्क रहन र ट्रेकिङ नजान सुझाव

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा छ । त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविद बासीले भनिन्, ‘हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुन्छ, त्यसैले केही दिन नगएकै राम्रो ।’

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मौसम विज्ञान विभागका अनुसार माघ २३ गते बुधबार दिउँसो पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्य उच्च हिमाली भागमा हल्का हिमपात हुने छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्यका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ । पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

माघ २४ गते बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागको एक-दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना मौसमविदले औंल्याएका छन् । पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना छ ।

बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको र उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

यसैगरी माघ २५ गते शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानहरुमा भारी हिमपातको पनि सम्भावना देखिन्छ्र ।

शुक्रबार राति देशभर सामान्य बदली रहने छ । केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले बुलेटिनमा उल्लेख छ ।

औसतभन्दा बढी वर्षा

जनवरी महिनामा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो । तर यस वर्ष औसतभन्दा बढी पानी परिसकेको छ । साथै गत वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष तीन गुणा बढी पानी परेको मौसम विज्ञान विभागको रेकर्ड छ ।

मौसमविद मञ्जु बासीले भनिन्, ‘सन् २०१८ को जनवरी महिनामा ६ दशमलव १ मिलिमिटर पानी परेको थियो तर, सन् २०१९ को जनवरी महिनामा १९ दशमलव ७ मिलिमिटर पानी परेको रेकर्ड छ ।’

सन् २०१९ को फेब्रुअरी महिनामा भने पानी परेको छैन । तर फेब्रुअरी महिनाको औसत वर्षा १८ दशमलव ७ मिलिमिटर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment