Comments Add Comment

ब्याटिङ प्रशिक्षक पटवाल भन्छन् : नेपालले भारतविरुद्ध वान डे खेलेको हेर्न चाहन्छु

पारसको शतक यूएई टुरको टर्निङ प्वाइन्ट थियो

२३ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज जित्दा धेरैलाई लाग्यो, ‘समग्रमा नेपालको ब्याटिङ पनि राम्रो भएको हो ।’

यो परिवर्तनका साक्षी थिए, ब्याटिङ कन्सल्ट्यान्टका रुपमा आएका उमेश पटवाल । यसअघि अफगानिस्तान टिमको ब्याटिङ प्रशिक्षकका रुपमा काम गरिसकेका उनले खेलाडीको आत्मबल बढाउन मात्र होइन, केही ‘स्किल’मा पनि काम गरेका छन् ।

खेलशैलीसँगै फिटनेसमा विशेष ध्यान दिने उनले नेपाली टिमको ब्याटिङ लाइनअपमा समेत केही परिवर्तन गरे ।

ब्याटिङमा दुई युवा खेलाडीको विश्व कीर्तिमान, कप्तान पारस खड्काको एकदिवसीय शतकले मात्रै होइन, पहिले देख्न मुस्किल हुने ठूला साझेदारीले पनि केही सुधार भएको संकेत गर्थ्यो । स्ट्राइक रोटेट गरेर नखेल्ने र सही सट छनोट नगर्ने नेपाली ब्याट्सम्यानको खेलशैलीमा देखिएको परिवर्तन क्रिकेट विश्लेषक मात्रै होइन, सामान्य दर्शकका आँखाले पनि खुट्याएका थिए ।

आफूले अहिलेका लागि मात्रै नभएर आगामी दिनका लागिसमेत काम गरेको बताउने पटवाल पहिलोपटक नेपाली टिमलाई सहयोग गर्न आएका भने होइनन् । ४६ वर्षका पटवाललाई २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा पठाएको थियो । त्यसपछि पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) मा उनले प्रतियोगिताको निर्देशकका रुपमा काम गरे । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनी विराटनगर वारियर्सको प्रशिक्षक थिए ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए । आफ्नो जिम्मेवारी पूरा गरेर मंगलबार भारत फर्किनुअघि नेपाली टिमको अवस्था, ब्याटिङ सुधारका लागि गरेका काम, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको स्थितिबारे पटवालसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं नेपाल आउनु अघि यहाँको क्रिकेटको बारेमा कति कुरा थाहा पाउनुभएको थियो ?

अफगानिस्तानका खेलाडीले खेल्ने अवसर धेरै पाउँछन् । उनीहरु धेरैजसो पाकिस्तानमा खेल्छन् । खुला रुपमा ठूला सट हान्न सक्ने ब्याट्सम्यान उनीहरुसँग छन् । नेपाली ब्याट्सम्यानहरु त्यसरी ठूला सटका लागि चिनिँदैनन्

मैले पहिलेदेखि नै नेपाली क्रिकेटलाई पछ्याइरहेको थिएँ । नेपाली टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई २०१२ देखि नै चिनेको हो । चार जना ब्याट्सम्यानलाई अभ्यास गराउन ज्ञानेन्द्र बैंगलोर आएका बेला हामीबीच राम्ररी कुराकानी भएको थियो ।

नेपालमा स्पिन बलिङमा निकै राम्रा खेलाडी छन् तर, ब्याटिङमा केही समस्या छ भन्ने मलाई थाहा थियो । ब्याटिङमा देखिने समस्या नयाँ नभएर पुरानै समस्या हो भन्ने मैले बुझेको थिएँ । मैले अफगानिस्तान टिमलाई हेर्ने बेलामा पनि थाहा पाएको थिएँ, उनीहरु विशेषगरी ब्याटिङ टिम हुन् भने नेपाल बलिङ टिम ।

तपाईं नेपाली टिममा कसरी जोडिनुभएको हो ? ब्याटिङ प्रशिक्षकका रुपमा कोमार्फत आउनुभयो ?

ज्ञानेन्द्र मल्लसँगै मैले शरद भेषावकर र अरु केही खेलाडीलाई पनि चिनेको थिएँ । मैले अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गर्दा पनि उनीहरुमध्ये धेरैले विचार गरेका रहेछन् । त्यसैले उनीहरुले मलाई बोलाएर ब्याटिङमा केही नयाँ कुरा सिक्न पाइन्छ कि भन्ने ठानेका हुन् जस्तो लाग्छ ।

तपाईं नेपाली टिमको ब्याटिङ प्रशिक्षक भएर आएपछि के–के कुरामा सुधार गर्नुपर्ने देख्नुभयो ? चुनौती कस्ता थिए ?

यहाँ कुनै घरेलु क्रिकेट भइरहेको थिएन । त्यसैले अभ्यासमा आधारभूत कुराहरु बुझाउनु पर्ने थियो । हामीले जुन खाले अभ्यास गर्‍यौं, त्यसबारे बुझाउन केही समय लाग्यो । खेल्ने कुरा मात्रै होइन, एक खेलाडीले सोच्ने कुरामा पनि भिन्नता हुनुपर्छ । त्यसैले खेलाडीले सोच्ने कुरामा पनि काम गर्‍यौं । यसले उनीहरुले अभ्यासमा सिकेका कुरालाई व्यवहारमा उतार्न सक्छन् भन्ने लागेको थियो । हामीले जे सोचेका थियौं, त्यसको धेरै नै नजिक पुग्न सकियो ।

नेपाली टिममा मुख्य समस्या चाहीँ के रहेछ ?

उनीहरुलाई बल कसरी खेल्नुपर्छ भन्ने स्किल थाहा थियो । तर त्यही सट कुन बेला खेल्ने भन्ने निर्णय लिने सवालमा समस्या देखेँ । सही समयमा सही सट छनोटमा खेलाडी पछि थिए । यसलाई नै हामी ‘गेम सेन्स’ भन्छौँ । उनीहरुमा यो कमी पायौं । त्यसैले उत्कृष्ट क्रिकेट अभ्यासका लागि हामीले केही समय खर्चियौं ।

तपाईंले अफगानिस्तान टिमसँग पनि काम गर्नुभएको छ । अहिले नेपाली टिममा काम गर्नुभयो । दुवै टिममा के भिन्नता पाउनुभयो ?

एकदमै भिन्नता छ । अफगानिस्तानका खेलाडीले खेल्ने अवसर धेरै पाउँछन् । उनीहरु धेरैजसो पाकिस्तानमा खेल्छन् । खुला रुपमा ठूला सट हान्न सक्ने ब्याट्सम्यान उनीहरुसँग छन् । नेपाली ब्याट्सम्यानहरु त्यसरी ठूला सटका लागि चिनिँदैनन् । नेपाली टिमले पनि खुलेर सट हान्न केही कुराहरु बुझ्न आवश्यक छ ।

टेक्निक’ मा चाहिँ नेपाली खेलाडीहरु कस्तो पाउनुभयो ?

म ‘टेक्निक’मा विश्वास गर्दिनँ । मलाई लाग्छ क्रिेकटमा ‘स्किल’ महत्वपूर्ण कुरा हो । विश्वमा अहिले रहेका उत्कृष्ट ब्याट्सम्यानमा पनि स्किल नै राम्रो रहेको देखिन्छ । टेक्निकको कुरा मेसिनमा मात्र प्रयोग हुन्छ जस्तो लाग्छ मलाई । हामी मानव भएकाले ब्याट्सम्यान मेसिन बन्नु हुँदैन, ेसिनले जसरी खेलेर पनि हुँदैन ।

नेपालमा अहिले युवा खेलाडीहरुलाई पनि हेर्नुभयो । उनीहरु अफगानिस्तान या भारतका जस्तै छन् या केही भिन्नता छ ?

उनीहरु सबै उस्तै हुन् । खेल्ने रहर र त्यसमा समर्पित हुने भावना उस्तै छ । मेहनत उस्तै छ । फरक भनेको उनीहरुले पाउने अवसर र खेल्ने प्रतियोगिताको स्तर हो ।

अफगानिस्तान र भारतका युवा खेलाडीले घरेलु क्रिकेटमा नै पनि राम्ररी प्रतिस्पर्धा गर्न पाइरहेका हुन्छन्, जुन यहाँ देखिँदैन । मुम्बईकै कुरा गर्दा त्यहाँ १२ वर्षको उमेरका खेलाडीले थ्रीडे, फोरडे जस्ता स्तरीय प्रतियोगिता खेल्न थालिसकेका छन् । नेपालमा केही वर्षयता हुने टी–२० फ्रेन्चाइज बाहेक अरु केही छैन । ५० ओभरको खेल त प्रधानमन्त्री कप मात्रै छ । त्यतिले त पुग्दैन ।

भनेपछि क्रिकेट संस्कारको कुरा पनि हो ?

हो हो । भारतमा बाह्रै महिना क्रिकेट हुन्छ । यहाँ मुस्किलले केही महिना मात्रै । क्रिकेट संस्कारको विकास जति भएको छ, खेलको विकास पनि त्यति हुँदै जान्छ ।

तपाईंले २०१० मा पहिलोपटक अफगानिस्तान टिमसँग काम गर्दा कस्तो थियो ? अहिलेको नेपालको टिम जस्तै पाउनुभएको थियो कि केही फरक थियो ?

क्रिकेट ‘फन्नी गेम’ हो । एउटा खेलमा शून्यमा आउट हुने ब्याट्सम्यानले अर्को खेलमा शतक बनाउँछ । त्यसैले खेलमा गरेको प्रदर्शनले मलाई खासै प्रभाव पार्दैन

पक्कै पनि । उस्तै खालको समानता छ । दुवै देशमा भएको क्रिकेट प्यासन उस्तै छ । खेललाई लिएर हुने उर्जा उस्तै छ । दर्शकहरुले क्रिकेटलाई गर्ने माया र समर्थन उस्तै छ । मानिसहरुले क्रिकेटलाई यसरी पछ्याउनु राम्रो कुरा हो ।

त्यसले खेलाडीमा बढ्ने इच्छाशक्ति ठूलो हुन्छ । नेपालमा त दुई वर्षदेखि क्रिकेट संघ नुहँदा पनि उनीहरुले यसरी राम्ररी खेलिरहन सक्नु त्यही इच्छाशक्तिकै परिणाम हो । खेलाडी गएको दुई वर्षदेखि तलब नपाउँदा पनि यसरी लागिरहनु साच्चै ठूलो कुरा हो । उनीहरु हरेकपटक राम्ररी खेलिरहेका छन्, एकदिवसीय मान्यता पाएका छन् । सिरिज जितेका छन् ।

अहिले नेपाली टिमको विश्लेषण गर्नुपर्‍यो भने कसरी गर्नुहुन्छ ?

म टिमको विश्लेषण गर्नका लागि लायक छैन जस्तो लाग्छ । यो केही सिकेर अगाडि बढ्ने समय हो । उनीहरु जसरी अगाडि बढिरहेका छन् त्यो ठूलो कुरा हो । तपाईँले गर्न सक्ने भनेको उनीहरुलाई अगाडि बढ्न थप मद्धत गर्ने नै हो । र, आउँदो दुई वर्षमा उनीहरु कस्तो हुन्छन् त्यो हेर्ने हो । मुख्य त सबैको उद्देश्य टेस्ट क्रिकेटसम्म पुग्ने नै हो । त्यसैले मैले केही खेलाडीसँग कुरा गर्दा पनि भनिरहेको हुन्छु, नेपाल टेस्ट खेल्ने देश बन्नु पर्छ ।

युएई भ्रमणका बेला नयाँ खेलाडीले पनि अवसर पाए, उनीहरुमध्ये विशेष कसको प्रदर्शनले तपाईंमा प्रभाव पर्‍यो ?

प्रदर्शन मुख्य कुरा होइन । म प्रदर्शनबाट प्रभावित हुँदा पनि हुन्न । मलाई खेलाडीको समग्रताले प्रभाव पार्छ ।

म सँधै खेलाडीमा एउटा ‘क्यारेक्टर’ खोजिरहेको हुन्छु । त्यसैले नखेले पनि भीम सार्कीले मलाई प्रभावित तुल्याए । हरेक मान्छेमा जस्तै खेलाडीमा पनि उसको स्वभाव ठूलो कुरा हो, जुन स्वभाव भीममा देखियो त्यो मलाई राम्रो लाग्यो ।

खेलमा चाहिँ कसले राम्रो प्रभाव पार्‍यो भन्न खोजेको ….

क्रिकेट ‘फन्नी गेम’ हो । एउटा खेलमा शून्यमा आउट हुने ब्याट्सम्यानले अर्को खेलमा शतक बनाउँछ । त्यसैले खेलमा गरेको प्रदर्शनले मलाई खासै प्रभाव पार्दैन । खेलका बेला कसरी प्रस्तुत भयो भन्ने महत्वपूर्ण हुन्छ । जस्तो कि पारस खड्काले शतक बनाए । विगतमा उनले शतक हानेर पनि खेल जिताउन सकेका थिएनन् ।

यो पटक अरु खेलाडीले राम्रो साथ दिएकाले उनको शतकको महत्व बढ्यो । त्यसैले मलाई उनको शतकले भन्दा राम्रो प्रभाव उनले खेलका बेला गरेका अन्य कामले भयो ।

युएई भ्रमण तपाईंले नेपाली टिममा देख्नुभएको मुख्य विशेषता के हो ?

मुख्य टिमको एकता हो । उनीहरुको जोश र इच्छाशक्ति हो । उनीहरु हरेक खेलमा जित्ने चाहना राखेर मेहनत गरिरहेका थिए । रन लिन गरेको मेहनत राम्रो हो । खेल जिताउन २० रन आवश्यक छ भने त्यो रन बनाउनैपर्छ भन्ने इच्छा देखिन्थ्यो । त्यही जितका लागि खेल्ने उनीहरुको शैली राम्रो लाग्यो ।

पारस खड्काको शतकलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

मैले अघि पनि भनेँ, त्यसमा ‘क्यारेक्टर’ महत्वपूर्ण हो । उनी जसरी खेलमा बढे, त्यो राम्रो हो । दिनहुँ ५० ओभरको खेल खेल्नु सहज कुरा होइन । त्यो नेपाल र युएई दुवैका लागि कठीन काम थियो । त्यसैले पारसको खेल तारिफयोग्य छ ।

त्यो शतक प्रतियोगिताको ‘टर्निङ प्वाइन्ट’ हो ?

रोहित पौडेलले सचिन तेन्दुलकरको ३० वर्ष पुरानो रेकर्ड तोडिदिए । यो ठूलो कुरा हो । यहाँबाट उनले आफूलाई कसरी विकास गर्छन् भन्ने महत्वपूर्ण हुन्छ । अर्को सचिन तेन्दुलकर हुने कि विनोद काम्बली भन्ने उनकै हातमा छ

एकदमै सही कुरा । त्यही शतकले पूरै प्रतियोगितामा भिन्नता ल्याएको सत्य हो । त्यसले गर्दा नै हामीले सिरिज जित्यौं ।

नेपालको ब्याटिङ लाइनअपमा पनि धेरै परिवर्तन देखियो । जस्तो कि पहिलो एकदिवसीयमा सोमपाल कामीलाई चौंथो नम्बरमै पठाइयो । टी–२० मा पारसले ओपनिङ गरे । के यो तपाईंकै आइडिया थियो ?

हामीले यूएई प्रस्थान गर्नुअगावै सबै प्लान गरेका थियौं । वान डेमा ज्ञानेन्द्र र टी–२० मा पारसले ओपनिङ गर्ने कुरा यहीँ तय भएको हो । सबैलाई निश्चित भूमिका तोकिएको थियो ।साथै खेलको आवश्यकताअनुसार पनि हामीले लाइनअपलाई तलमाथि गरेका हौं । कस्तो सिचुयसनमा कसलाई पठाउँदा राम्रो हुन्छ भन्ने माइन्ड सेट पहिल्यै थियो । त्यसैले निर्णय लिन गाह्रो भएन ।

भनेपछि आफूले गरेका परिवर्तनहरु सफल भए जस्तो लाग्छ ?

मलाई थाहा छैन ।

तर, पारसले लामो समयदेखि नेपालको मध्यक्रम सम्हालिरहेका छन् । उनलाई ओपनिङमा नै ल्याउँदा मध्यक्रम कमजोर नहोला ?

यदि तपाईंको ओपनिङ ब्याट्सम्यानले नै पूरा २० ओभर ब्याटिङ गर्न सक्छ भने त्यहाँ मिडल अर्डरको भूमिका नै आवश्यक पर्दैन होइन ?

तर, ओपनिङ ब्याट्म्यान सँधै २० ओभर टिक्न त सक्दैन नि ?

हामी पारसको कुरा गरिरहेका छौं । उनी २० ओभर टिकेर खेल्न सक्ने ब्याट्सम्यान हुन् । फिटनेसका हिसाबले पनि उनले सक्छन् भने किन उनलाई ५–६ नम्बरमा पठाएर ५–६ ओभर मात्रै खेल्न दिने ? टी–२० राम्रा ब्याट्सम्यानलाई अगाडि पठाउनैपर्छ । हुन सक्छ, कुनै म्याचमा उनी चाँडै आउट होलान् । तर, त्यसो भनेर उनलाई पछाडि खेलाउन सकिँदैन ।

विनोद भण्डारीलाई ओडीआईमा ओपनिङ गर्न पठाइयो । प्रदिप ऐरीलाई पनि मौका दिइयो । योभन्दा अगाडि पनि धेरै टेस्ट भइसकेका छन् तर कुनै समाधान देखिएको छैन नि ?

यसपाली हामीले कुनै टेस्ट गरेका होइनौं, खेलाडीलाई निश्चित जिम्मेवारी दिएका हौं । विनोदलाई टेस्ट गरिएको होइन, टप ३ मा ब्याटिङ गर्ने जिम्मेवारी दिइएको हो । उनले अबका केही महिना यही भूमिका निभाउनेछन् ।

यसलाई टेस्ट गरिएको भन्न चाहन्न ।

हामीसँग अर्का ओपनर प्रदिप ऐरी पनि छन् । हामी पहिले ब्याटिङ गर्छौं कि बलिङ गर्छौं भन्ने आधारमा पनि ओपनरको चयन हुन्छ । प्रदिपले टी–२० मा ओपनिङ गर्न सक्छन् । अन्तिम टि–२० मा विशेष परिस्थितिका कारण पवन सर्राफलाई ओपनिङमा पठायौं किनकी हामीलाई मध्यक्रममा विष्फोटक ब्याट्सम्यानको खाँचो थियो । यो भूमिका विनोदलाई दियौं । हामीसँग क्लीयर प्लान छ । म परिक्षणमा विश्वास गर्दिन र कुनै प्रयोग गरिरहेका छैनौं ।

तपाईंको विचारमा सबैभन्दा राम्रो जोडी कुन हुन सक्छ ?

यसका लागि केही समय हेर्नुपर्छ । आजको भोलि नै थाहा हुँदैन । अहिले ट्राई गरिएका जोडीहरु कत्तिको सफल हुन्छन् भन्ने केही महिना हेरेपछि थाहा हुन्छ ।

युवा खेलाडीहरुको क्षमतालाई कसरी हेर्नुभएको छ ?

एकदमै राम्रा छन् । म उनीहरुको उमेरमा छँदा यत्तिको थिइनँ । रोहित पौडेलले सचिन तेन्दुलकरको ३० वर्ष पुरानो रेकर्ड तोडिदिए । यो ठूलो कुरा हो । यहाँबाट उनले आफूलाई कसरी विकास गर्छन् भन्ने महत्वपूर्ण हुन्छ । अर्को सचिन तेन्दुलकर हुने कि विनोद काम्बली भन्ने उनकै हातमा छ ।

हामीसँग मध्यक्रममा धेरै ब्याट्सम्यान छन् तर, प्रदर्शनमा एकरुपता छैन । यसलाई कसरी हेर्नुभएको छ ?

जब उनीहरुले एउटा म्याचमा राम्रो खेल्छन्, उनीहरु सोच्छन् कि मैले सबै कुरा जानेँ । अनि आराम गर्न थाल्छन् । इन्डियन क्रिकेट हेर्नुभयो भने जब ब्याट्सम्यानले रन बनाउँछन्, दोब्बर मिहिनेत गरेको देख्नुहुन्छ । नेपाली खेलाडीले पनि त्यो सिक्नुपर्छ । एकपटक स्कोर गरिसकेपछि ब्याट्सम्यानहरु फेसबुक, ह्वाट्सअपमा बढी व्यस्त हुने होइन कि बढिभन्दा बढि अभ्यास गर्नुपर्छ । एकपटक त झुक्किएर पनि रन बन्न सक्छ, तर, त्यसलाई निरन्तरता दिनु गाह्रो हुन्छ ।

सोमपाल र करणजस्ता बलरलाई ब्याटिङमा पनि अघि बढाउन खोज्नुभएको हो ?

हामीसँग दुई अलराउन्डर राम्रा छन् तर, विगतमा उनीहरुलाई ब्याटिङको राम्रो अवसर दिएनौं । सोमपाल र करणसँग ब्याटिङ गर्ने क्षमता देखेर नै प्रयोग गरिएको हो ।

हामीसँग फास्ट बलरको अभाव छ । सोमपाल र करणमै बढि निर्भर छ । स्पिनमा बरु विकल्प छन् । यसमा के भन्नुहुन्छ ?

अन्डर १९ एसिया कपमा नेपालले भारतलाई हरायो तर, वर्ल्डकप त जितेन। भारतले नै जित्यो । फरक भनेको त्यही हो

होइन, हामीसँग धेरै राम्रो बलिङ अप्सनहरु छन् । अविनाश बोहरा टी–२० मा म्यान अफ दि सिरिज भए । उनलाई टी–२० मा मात्रै खेलाउने भनेर पहिल्यै प्लान गरिएको थियो । तर, उनी पछि एकदिवसीयमा पनि आउन सक्छन् । खेलको परिस्थिति र विकेटको अवस्थाअनुसार हामीले प्लान बदल्नुपर्छ ।

भाग्यवस नेपालसँग धेरै अलराउन्डर छन् । पारस आफैं राम्रो अलराउन्डर हुन् । वान डेमा उनको बलिङ निकै उपयोगी हुन्छ । हामीले ज्ञानेन्द्र मल्ललाई बलिङमा प्रयोग नै गरेका छैनौं, जबकी उनी राम्रो लेगस्पिन गर्न सक्छन् ।

यो टुर राम्रो भयो । अब के त ? अर्को कुनै अर्को प्रतियोगिताको केही दिन अघि क्लोज क्याम्प गर्ने, अनि खेल्न जाने हो ? किनकी नियमित क्रिकेटको कुनै योजना छैन।

भाग्यवस यसपाली हामीसँग योजना छ । हामीले एउटा ग्रुप बनाएका छौं र खेलाडीहरुलाई ३ महिनाको लागि निश्चित कार्यभार दिइनेछ । केटाहरुले आफ्नो जिम्मेवारी बुझेका छन् र त्यसअनुसार आफूलाई विकास गर्छन् भन्ने विश्वास छ । यो बीचमा पनि म उनीहरुसँग सम्पर्कमै रहनेछु । आज एउटा वैठक पनि बसेको थियो । वैठकबाट पारस, ज्ञानेन्द्र, सोमपाल र करणलाई विशेष जिम्मेवारी दिइएको छ । उनीहरुले अब आफ्नो जिम्मेवारी निभाउनुपर्छ ।

नेपाल एकदिवसीय मान्यताप्राप्त राष्ट्र हो । तर, क्रिकेटका शक्ति राष्ट्रहरुसँग भिड्ने अवसर पाएको छैन । तपाईं भारतको एक पूर्वक्रिकेटर भएको नाताले भारत र नेपालबीच एकदिवसीय म्याच कत्तिको सम्भव देख्नुहुन्छ ?

हामीले त्यस्तो आशा गर्न सक्छौं । नेपालको ओडीआई स्टाटस २०२२ सम्मलाई छ । म चाहन्छु भारतीय भूमिमा नेपाली राष्ट्रिय टोलीले भारतविरुद्ध एकदिवसीय खेलोस् । कलकत्ता वा मुम्बईमा म्याच भयो भने म झन् खुशी हुनेछु । यसले नेपालको क्रिकेटरलाई ठूलो बुस्ट हुनेछ ।

अन्डर १९ एसिया कपमा त एकपटक नेपालले भारतलाई हराएको पनि हो नि, कत्तिको याद छ तपाईंलाई ?

म सम्झिन्छु । तर, यो एकपटक मात्रै भएर हुँदैन । नेपालले वल्र्ड कप त जितेन नि । आखिर भारतले नै जित्यो । फरक भनेको त्यही हो । त्यतिबेला इन्डियाले नयाँ क्रिकेटरहरुलाई मौका दिएको थियो । हामीले एउटा खेलको नतिजा मात्रै हेरेर हुँदैन ।

नेपाली क्रिकेटरहरुले भारतको रणजी ट्रफी खेल्ने वातावरण बनाउन सकिन्छ ?

यो बोर्ड लेभलमा कुरा हुनुपर्छ । इन्डियामा धेरै क्रिकेटर छन् । रणजी खेल्ने टिमले संसारभरीबाट दुई व्यवसायिक क्रिकेटर हायर गर्न सक्छन् । केही वर्षअघि राजस्थानले ईंग्ल्यान्डबाट ल्याएको थियो । त्यसपछि भारतमा धेरै क्रिकेटर उत्पादन भइरहेका छन् । अहिले त उनीहरुले ईंग्ल्यान्ड, दक्षिण अफ्रिकाबाट पनि क्रिकेटर ल्याउँदैनन् । नेपाल त परको कुरा । त्यहाँ एकदम ब्यालेन्स छ । त्यसैले धेरै गाह्रो छ नेपाली क्रिकेटरलाई रणजी खेल्न । म सम्भावना देख्दिनँ ।

नेपाली क्रिकेट फ्यानहरु आफ्नो टिमले एक दिवसीय विश्वकप वा टेस्ट खेलेको हेर्न चाहन्छन् । यो साकार हुन कति समय लाग्ला ?

अहिले हाम्रो ध्यान मलेसियामा हुने टी–२० क्वालिफायर्समा केन्द्रित हुनुपर्छ । त्यसमा अगाडि गयौं भने माथि उक्लिन सजिलो हुन्छ । एकैपटक ठूलो कुरा हासिल गर्न खोजेर हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment