Comments Add Comment

फेवातालबाट निकालियो २८ हजार घनमिटर माटो

२४ माघ, पोखरा । पोखराको फेवातालभित्रबाट २८ हजार घनमिटर माटो निकालिएको छ । एक सातायता पोखरा महानगरपालिकाले तालमा थुप्रिएको २८ हजार धनमिटर माटो र गेग्र्यान निकालेको हो ।

फेवातालको बंलादी र गाईघाट क्षेत्रको माटो निकालिएको हो । त्यसमध्ये गाईघाटबाट १२ हजार घनमिटर र बंलादीबाट १६ हजार घनमिटर माटो निकालिएको महानगपालिकाले जनाएको छ ।

अघिल्लो सोमबारदेखि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा फेवातालमा थुप्रिएका माटो र गेग्य्रान निकालेको थियो । तालको ४ रोपनी क्षेत्रको करिब २० हजार घनमिटर माटो निकाल्ने भने पनि ८ हजार घनमिटर बढी माटो निकालिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले हाललाई फेवातालको माटो निकाल्ने काम रोकेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले हर्पन खोलामा सिल्ड्रेसन ड्याम बनेपछिमात्रै माटो निकालिने जानकारी दिए ।

‘सिल्ड्रेसन ड्याम कुन ठाउँमा राख्ने भन्नेबारे यकीन भइसकेपछिमात्रै बाँकी माटो निकाल्ने छौं,’ उनले भने । हर्पनखोलामा ड्याम राख्न यही महिनाभित्र टेन्डर आह्वान गरिनेसमेत उनले जानकारी दिए ।

तालको माटो झिक्ने क्रममा केही जग्ग व्यक्तिको नाममा देखिएको पनि तिमिल्सिनाले बताए । ‘बंलादीमा माटो निकालिएको ठाउँमा पनि ३ जनाले लालपूर्जा देखाउन आए,’ उनले भने, ‘यससहित व्यक्तिको नाममा भएका सबै जग्गासम्बन्धी समस्या हटाउन केन्द्र सकारलाई चिठी लेख्ने महानगरले तयारी गरिरहेको छ ।’

सर्वोच्च अदालतले २०७५ वैशाखमा ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्न र व्यक्तिको नाममा दर्ता भएको तालको जग्गा एक वर्षभित्र बदर गरी व्यक्तिको नाममा ल्याउन आदेश दिएको थियो ।

सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै गण्डकी प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । उक्त समिति र महानगरपालिकाको सक्रियतामा फेवाताल सफाइ गरिएको हो ।

फेवातालको माटो निकाल्ने अभियानको सुरुआत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्ने जिम्मेवारी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment