Comments Add Comment

डीपीएलका ६ टिमः कुन कति बलियो ?

२५ माघ, काठमाडौं । नेपाली क्रिकेटको व्यावसायिकतामा योगदान दिइरहेको धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करण नजिकिएको छ । माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगिताका लागि लगभग तयारी पूरा भएको छ ।

आसन्न डीपीएलले यो पटक कस्तो रौनक ल्याउला ? स्वदेश तथा विदेशका कुन-कुन खेलाडी चम्किएलान् ? उपाधि कसका पोल्टामा जाला ? यसखालका अड्कलवाजीहरु क्रिकेटप्रेमीबीच भइरहेका छन् ।

यसअघिका  दुई संस्करण एसएसपी क्रिकेट मैदानमा भएका थिए । तर, यो संस्करणदेखि धनगढी क्रिकेट एकेडेमीले आफ्नै अभियानमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको रंगशाला ड्रिम फाप्लामै प्रतियोगिता सम्पन्न गर्ने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । उनले भने, ‘लगभग सबै तयारी भइसकेको छ । अब सजावटको काम मात्रै बाँकी छ ।’

प्रतियोगिताको लागि मैदानमा पाँचवटा पिच तयार पारिएको छ । करिब ६ हजार दर्शक क्षमता भएको प्याराफिट पनि तयार भएको छ । प्रतियोगिता अवधिभर ब्यवस्थापनमा कुनै कुराको कमी हुन नदिन सबै बन्दोबस्त मिलाएको अध्यक्ष शाही बताउँछन् ।

‘हामी निकै उत्साहित छौं । हामीले ‘ड्रिम फाप्ला’ भनेर अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियान चलायौं । त्यही मैदानमा हुने प्रतियोगिता विश्वले प्रत्यक्ष रुपमा हेर्ने अवसर पाउनेछ,’ उनले अघि थपे ।

दर्शकलाई अफर रै अफर

योपटक डीपीएल टिमले मैदानमै पुगेर खेल हेर्ने दर्शकलाई विशेष अफर दिएको छ । सम्भवत यो आयोजकको दर्शक तान्ने नयाँ रणनीति पनि हुन सक्छ ।

यदि कुनै दर्शकले ब्याट्सम्यानले प्रहार गरेको छक्कालाई बाउन्ड्री बाहिर क्याच गरेमा नगद १० हजार पाउने छन् । यस्तै प्रत्येक दिन एक जना भाग्यशाली दर्शकले पाँच हजार नगद प्राप्त गर्ने छन् । टिकट काटेर खेल हेर्ने दर्शकमध्ये ‘लक्की ड्र’ बाट प्रत्येक दिन एक जना दर्शकलाई सो पुरस्कार दिइने छ ।

खेल हेर्नका लागि लिगमा दर्शकका लागि ५० रुपैयाँ टिकट दर तोकिएको छ भने प्ले अफको खेलमा ७० र फाइनलमा १०० रुपैयाँ छ ।

कुन टिम कस्ता ?

यो पटक पनि डीपीएलमा पुरानै ६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा राष्ट्रिय स्तरका, अन्तर्राष्ट्रिय र स्थानीय खेलाडीको मिश्रण छ । स्मरणीय के छ भने यसपालीको डीपीएलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का सहभागी हुने छैनन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता नखेल्ने भएका हुन् ।

सबै टिमको सेट हेर्दा यो चाहिँ दावेदार भन्न सकिने स्थिति छैन । सबैसँग केही राम्रा खेलाडीहरु छन् । त्यसैले कसले उपाधि लैजान्छ भन्ने आँकलन गर्न कठिन छ । कुन टिम कस्ता छन् त ? आउनुस चर्चा गरौं ः

धनगढी स्टार्स

धनगढी पि्रमियर लिग -डीपीएल) क्रिकेट प्रतियोगिताको दुवै संस्करणको उपाधि विजेता टिम हो, टिम चौराह धनगढी । यो तेस्रो संस्करणदेखि भने टिमको नाम परिवर्तन गरेर धनगढी स्टार्स राखिएको छ ।

के घरेलु टिम धनगढीले लगातार तेस्रोपटक उपाधि जितेर ह्याटि्रक गर्ने सोचेको छ ?

यसबारे टिम मालिक कृष्ण बोहरा भन्छन्, ‘जित्नै पर्छ भन्ने त छैन । हामीले मात्रै जित्दा प्रतियोगिता बोरिङ पनि हुन्छ जस्तो लाग्छ । खेलाडीले शतप्रतिशत खेलुन् । अन्य टिमले जिते भने पनि हामी दुखी हुने छैनौं । यद्यपि, हाम्रो लक्ष्य भनेको उपाधि उचाल्ने नै हो । टिम पनि सन्तुलित नै छ । त्यसमा पनि रोहन मुस्तफा र सागर त्रिबेदीको उपस्थितिले बलियो भएको छ ।’

धनगढीको सवल पक्ष भनेको ब्याटिङ लाइनअप हो । यूएईका रोहन मुस्तफाको ब्याट चलेको खण्डमा कुनै पनि अवस्थाबाट म्याच जिताउन सक्छन् । यस्तै घरेलु टी-२० मा सौरभ खनाल निकै खतरनाक ब्याट्सम्यान मानिन्छन् । सुनिल धमला, राजु रिजाल, अमित श्रेष्ठ, पवन सर्राफ जस्ता युवा ब्याट्सम्यानहरु धनगढीसँग छन् । बलिङतर्फ भने सोमपाल कामीमा धेरै निर्भर देखिएको छ ।

रणनीतिक खेलाडी

सोमपाल कामी

विदेशी खेलाडी 

रोहन मुस्तफा, सागर त्रिवेदी

अन्य खेलाडी

दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सन्दीप रजाली, सुनिल धमला, पवन सर्राफ, धिरज शाही, कृष्ण अयर ।

काठमाडौं गोल्डेन्स

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स औसत टिम हो । टिमको ब्याटिङभन्दा बलिङ पङ्ति राम्रो छ । यसपाली आफूहरुले उपाधिकै लक्ष्य राखेको प्रशिक्षक प्रशिक्षक राजु बस्न्यात बताउँछन् ।

‘टिम  सन्तुलित छ । विशेषगरी राम्रा स्पिन बलर छन् । विदेशी खेलाडीको उपस्थितिले ब्याटिङ पनि बलियो भएको छ । हामी गत वर्षको पनि उपविजेता भएकोले योपटक उपाधिकै लक्ष्यमा छौं,’ प्रशक्षिक बस्न्यातले भने ।

ललितनारायण राजबंशी र राशिद खानको स्पिन जोडी यो टिमको सबैभन्दा सवल पक्ष हो । ब्याटिङमा भने त्यति धेरै भर गर्न सकिँदैन । उपकप्तान ज्ञानेन्द्र मल्ल र भारतीय खलाडी गौरभ टमोरमा काठमाडौंको ब्याटिङ बढी निर्भर छ ।

रणनीतिक खेलाडी

ज्ञानेन्द्र मल्ल

विदेशी खेलाडी

गौरभ टमोर, अंकित दबास

अन्य खेलाडी

विक्रम कुमार भूषाल, अभिनभ यादव, राशिद खान, ललितनारायण राजवंशी, नन्दन यादव, अनिलकुमार शाह, सोनु तामाङ,  सुर्य तामाङ, योगेन्द्रसिंह कार्की, मेहबुब आलम, सुधिर चौधरी, विक्रम ठगुन्ना ।

विराटनगर किंग्स

करण केसीको कप्तानीमा रहेको विराटनगर किंग्समा युवा खेलाडीको बाहुल्य छ । करणले पहिलोपटक टिमको कप्तानी पाएका हुन् ।

भारतीय खेलाडी अविनास यादव र शिभकान्त शुक्लालाई बिराटनगरले हायर गरेको छ । ब्याटिङमा आसिफ सेख, राजेश पुलामी, हरिशंकर शाह, कुशल भुर्तेल, पृथु बास्कोटा लगायत रहेका छन् । बलिङ तर्फ भने टिम केही कमजोर देखिन्छ । करणले नै बलिङको नेतृत्व गर्नेछन् । टिम मालिक प्रफुल्ल बैद्य पनि उपाधि जित्ने नै लक्ष्य रहेको बताउँछन् ।

रणनीतिक खेलाडी

करण केसी

विदेशी खेलाडी

अविनाश यादब, शिभकान्त शुक्ला

अन्य खेलाडी

आसिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी मगर, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवास ऐयर ।

महेन्द्रनगर युनाइटेड

महेन्द्रनगर  युनाइटेड यो पटक निकै बलियो देखिएको छ । राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका खेलाडीको बाहुल्यता यो टिममा छ ।

शरद भेषावकरको कप्तानीमा उत्रिने महेन्द्रनगरमा आरिफ शेख, रोहितकुमार पौडेल र अविनाश बोहोराजस्ता राष्ट्रिय खेलाडी छन् । त्यस्तै, विकेटकिपर दिलिप नाथसँग पनि अन्तर्राष्ट्रिय म्याचको अनुभव छ । टिमले ब्याटिङबाटै म्याच जित्ने क्षमता राख्छ ।

यस्तै, विदेशी खेलाडीको कोटामा यूएईका अनुभवि खेलाडी मोहम्मद नाभिदलाई टिमले भित्र्याएको छ । विष्फोटक ब्याटिङ गर्ने समेत क्षमता भएका नाभिदबाट प्रशिक्षकले धेरै आशा राखेका छन् ।

महेन्द्रनगरका टिम मालिक निरज चन्दले भने, ‘अघिल्लो संस्करणमा हाम्रो लागि वषर्ा बाधक बन्यो । यो पटक उपाधि जित्नेमा विश्वस्त छु ।’

रणनीतिक खेलाडी

शरद भेषावकर

विदेशी खेलाडी

मोहम्मद नाभिद

अन्य खेलाडी

अविनास बोहोरा, आरिफ शेख, अमरसिंह रौटेला, सागर ढकाल, दीपेन्द्र चन्द, दिलिप नाथ, रोहित कुमार पौडेल, शाहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ल, सुशिल खड्का ।

रुपन्देही च्यालेन्जर्स

बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्समा अनुभवी खेलाडीहरु भरिभराउ छन् ।  बसन्त रेग्मी, प्रदीप ऐरी, विनोद भण्डारी र भीम सार्की गरी चार जना राष्ट्रिय टिमका खेलाडी छन् । त्यस्तै, ललित भण्डारी नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुन् ।

पाकिस्तानका राजा अलि डर र हङकङका कप्तान बाबर हायतको आगमनसँगै यो टिमको मनोबल झनै उच्च भएको हुनुपर्छ । बाबर हायात कुनै पनि बलरलाई हायलकायल पार्न सक्ने ब्याट्सम्यान हुन् । उनी एक्लै आफ्नो टिमलाई जिताउने क्षमता राख्छन् ।

रणनीतिक खेलाडी

बसन्त रेग्मी

विदेशी खेलाडी

राजा अलि डर, बाबर हायात

अन्य खेलाडी

ललित भण्डारी, प्रदीप ऐरी, पुरन विके, सन्दीप सुनार, अनिल खरेल, सुमित महर्जन, विनोद भण्डारी, कृष्ण कार्की, सुरज दराई, विक्रम सोब, भीम शार्की, शेर मल्ल ।

सीवाईसी अतरिया

युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सीवाईसी अत्तरियाको ब्याटिङ र बलिङ दुवै औसत छ । पोखरा पि्रमियर लिग र एभरेष्ट पि्रमियर लिग क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीहरु टिममा छन् ।

टिमको ब्याटिङलाई कप्तान ऐरीले नै दिशा दिनुपर्ने छ । त्यसो त भारतीय ब्याट्सम्यानहरु जयकिसन कोल्सवाला र सन्नी पटेलबाट पनि टिमले धेरै आशा राखेको छ । अर्कोतर्फ हालै राष्ट्रिय टिमबाट डेब्यू गरेर छाप छोड्न सफल सन्दीप जोरा पनि यो टिमका लागि उत्तिकै महत्वपूर्ण छन् ।

बलिङतर्फ रामनरेश गिरी, भुवन कार्की, कमलसिंह ऐरी लगायत छन् ।

रणनीतिक खेलाडी

दीपेन्द्रसिंह ऐरी

विदेशी खेलाडी

सन्नी पटेल, जयकिसन कोल्सवाला

अन्य खेलाडी

जितेन्द्रसिंह ठकुरी, भुवन कार्की, दीपेन्द्र रावत, प्रेम तामाङ, आदिल अन्सारी, रामनरेश गिरी, कमलसिंह ऐरी, सन्दीप जोरा, खगेन्द्र जोशी, सुभेन्दु पाण्डे, रित गौतम, ज्ञानेन्द्र कुँवर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment