Comments Add Comment

विदेशबाट फर्केर बगरमा ट्राउट रुपी सुन !

२५ माघ, हेलम्बु (सिन्धुपाल्चोक) । घरपरिवार छाडेर विदेशी भूमीमा पसिना बगाउन जानेको संख्या घटेको छैन । सिन्धुपाल्चोकमा त अन्य जिल्लाको तुलनामा विदेशीनेको संख्या बढी छ । मेहनत गरे स्वेदशमै सुन फलाउन सकिने उदाहरण पेश गर्ने युवा पनि सिन्धुपाल्चोक मै छन् ।

विदेशबाट फर्केर व्यवसायीक सफलता हासिल गरेका तिन युवक हुन्- हेलम्बु गाउँपालिका-२ किउलका उत्तम भण्डारी, जयराम भण्डारी र इन्द्र भण्डारी । यी तीन भण्डारीले घरपरिवारसँगै बसेर वार्षिक लाखौं कमाइरहेका छन् । धेरैलाई रोजगारी पनि दिएका छन् ।

उत्तमले चार वर्ष कतारमा बिताए भने किउलकै जयराम दुबइ र इन्द्रले मलेसियामा पसिना बगाए । विदेशमा जति बसे पनि कमाइ नहुने देखेपछि तिनै जना गाउँ फर्केर कृषी उद्यम गर्ने योजना बनाए ।

कतारमा दुःख गरिरहेका बेला एक जना फ्रान्सेली नागरिकले ललितपुरको टोखामा गाई पालेर राम्रो आम्दानी गरेको भिडियो हेरेका उत्तम त्यही हुटहुटीमा घर फर्केका थिए ।

‘दाइहरु पनि त्यस्तै सोचेर फर्कनु भएको रहेछ’, उनले भने, ‘अनि हामीले पनि नयाँ केही गरौं भन्ने सल्लाह गरेर २०७० सालमा गाउँमै रेम्बो ट्राउट माछा पालन सुरु गर्‍यौं ।’

भण्डारीत्रयले ५० लाख रुपियाँ जुटाएर सुरु गरेको माछा फार्मको वार्षिक कारोबार अहिले १ करोडभन्दा माथि छ । ५ रोपनी क्षेत्रफल भएको पोखरीमा १० जनाले रोजगारी पाएका छन् ।

माछा व्यवसाय उँभो लागेपछि भण्डारीहरुले पोखरी नजिकै रिसोर्ट पनि खोलेका छन् । रिसोर्टको मुख्य मेनु ताजा रेन्बो ट्राउट माछा नै हो ।

ट्राउट बिडिङ सेन्टर पनि

मेलम्ची क्षेत्रमा नौ वटा ट्राउट फार्महरु छन् । भण्डारीहरुको जिल्लाकै सबभन्दा ठूलो ट्राउट फार्म हो । यो फार्मबाट वार्षिक ५४ टन ट्राउट माछा उत्पादन हुने गरेको छ ।

अन्यत्रबाट ट्राउटका भुरा ल्याएर सुरु भएको यो फार्ममा अहिले हृयाचरी पनि छ । गत वर्ष उत्पादन गरेको भुरामध्ये ५० हजार बिक्री गरेको उत्तम भण्डारीले बताए । उनले भने ‘यो वर्ष १ लाख भुरा बिक्री गर्ने लक्ष्य छ ।’

माछा पालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन । पानीभित्रको व्यवसाय भएकाले सधैं जोखिम हुने उत्तम बताउँछन् । ‘हामीले माछा पालनबारे तालिम लिएका छैनौं, तर हरबखत यस सम्बन्धी पुस्तक र इन्टरनेट हेरेर खटेका छौं’, उनले भने, ‘अलिकति भुलचुक भयो भने एकै रातमा सारा स्वाहा हुन्छ ।’

विदेशबाट फर्किएका तीन भण्डारी युवकले किउलको बगरमा माछा पाल्ने भन्दा गाउँहरुले पत्याएका थिएनन् । तर, उनीहरुले आँटेर, मेहनत गरेर अहिले माछारुपी सुन फलाएका छन् । हिजो बगरमा केही थिएनन् । आज ट्राउट फार्मले आन्तरिक पर्यटक तानेपछि स्थानीय सबैलाई केही न केही फाइदै भएको छ ।

माछा व्यवसायबाट वार्षिक करोडभन्दा बढीको कारोबार गरिरहँदा भण्डारीत्रयलाई मेलम्ची खानेपानी आयोजनाले चिन्तित पारिरहेको छ । यो चिन्ता अरु कियुलबासीको पनि हो । इटालीयन ठेकेदार कम्पनीले आयोजना छाडेपछि राजधानीबासी बेखुस भएपनि मुहान क्षेत्रका मानिसहरु खुसी भएका छन् ।

तर, राज्यको उच्च प्राथामिकतामा रहेको आयोजना ढिलोचाँडो पूरा हुन्छ नै । ‘केही समयका लागि भने हाम्रो व्यवसाय सुरक्षित बनेको छ’, उत्तम भण्डारी भन्छन् ।

उनका अनुसार, मेलम्ची आयोजना सम्पन्न भएपछि नजिकैको ट्राउट फार्म पानीबिहीन बन्ने छ । स्थानीयलाई शर्त र मापदण्डअनुसार पानी छाडियो भने चाहिँ फेरि विदेशीनु नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment