Comments Add Comment

अझै सञ्चालनमा आएन द्वन्द्वकालमा बन्द भएका आठ विमानस्थल

Photo Credit : फाइल फाेटाे

२५ माघ, अमरगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् ।  विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताए ।

सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।

बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ ।

सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरे पनि हालसम्म उडान हुनसकेका छैनन् ।

सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।

सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुननसकेको पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले बताए ।

‘नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएका छन्, जबसम्म बन्द विमानस्थल सञ्चालन हुँदैनन्, तबसम्म पर्यटन विकास हुन सक्दैन’, उनले भने ।

विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment