Comments Add Comment

थाइल्याण्डकी राजकुमारीले प्रधानमन्त्रीको चुनाव लड्ने

२५ माघ, काठमाडौं । थाइल्याण्डकी राजकुमारीले सबैलाई आश्चर्यचकित पार्दै प्रधानमन्त्रीमा चुनाव लड्ने घोषणा गरेकी छन् ।

हालकी राजाकी दिदी ६७ वर्षकी उबोरत्ना माहिडोलले पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको निकट रहेको दलबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।

उनको निर्णयले राजनीतिबाट टाढै रहने थाई राजपरिवारको परम्परा तोडिएको छ । थाइल्याण्डमा आउँदो २४ मार्चमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । यो निर्वाचनलाई ५ वर्षको सैनिक शासनपछि थाइल्याण्डमा पुन प्रजातान्त्रिक प्रणाली सुरु गर्ने मौका हुन सक्ने भन्दै महत्वका साथ हेरिएको छ ।

राजकुमारी उबोरत्ना राजकन्या श्रीबन्दना बर्नाभदी सन् १९५१ मा थाइल्याण्डका पूर्वराजा भूमिबोल अदुल्यादेजको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा पढेकी उनले सन् १९७२ मा अमेरिकी नागरिकसँग बिहे गरी राजपरिवार त्यागेकी थिइन् ।

सम्बन्धविच्छेदपछि सन् २००१ मा थाइल्याण्ड फर्किएकी उनी फेरि राजपरिवारका कार्यक्रमहरुमा सहभागी हुन थालिन् ।  राजकुमारी उबोरत्ना सामाजकि सञ्जालमा निकै सक्रिय छिन् भने धेरै चलचित्रहरुमा पनि देखिएकी छन् । उनको तीन छोराछोरीमध्ये एक जनाको सन् २००४ को सुनामीमा परी मृत्यु भएको थियो, अरु दुई सन्तान थाइल्याण्डमै बसोबास गर्छन् ।

राजकुमारी उबोरत्ना थाई रक्षा चार्ट पार्टीबाट उम्मेदवार बनेकी हुन् । यो दल सिनावात्रा परिवारसँग निकट मानिन्छ ।

प्रधानमन्त्री पदको अर्को उम्मेदवारमा थाइल्याण्डका सेनाप्रमुख प्रयुथ चान औचा पनि रहेका छन्, जसले सन् २०१४ मा देशको सत्ता आफ्नो हातमा लिएका थिए । अहिले उनी पालुङ प्रचारत पार्टीबाट उम्मेदवार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment