Comments Add Comment

राजेन्द्र खड्गीका १० किस्सा : भूवनले जुत्ता चोरेको आरोप लगाए, राजेशले काँधमै बजाए

नेपाली चलचित्र क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा सर्वाधिक रुचाइएको नाम हो, राजेन्द्र खड्गी । एक दशक पहिला निर्माण भएका प्रायः चलचित्रको द्वन्द्व निर्देशकमा राजेन्द्रको नाम हुन्थ्यो । चलचित्रमा द्धन्द्ध निर्देशक मात्र होइन, खलनायक भएर पनि उनी आफै काम गर्थे ।

लामो कपाल, जतिबेला पनि रिसाएको जस्तो देखिने अनुहार, ठूला आँखा । हेर्दा लाग्थ्यो, उनी रिल लाइफमा मात्र हैन रियल लाइफमा नै खलपात्र हुन । राजेन्द्र खड्गीले चलचित्रको पर्दामा आफूलाई सधै नकारात्मक भूमिकामा देखाएका छन् । यसैले पनि होला, उनलाई देखेर बाटोमा भाग्ने, कराउनेहरुको संख्या धेरै छ । खड्गीलाई चलचित्रमा हेर्नेहरु वास्तविक जीवनमा पनि उनी उस्तै छन् भन्ने सोच्नेरहेछन् ।

राजेन्द्रले आफ्नो चलचित्र करिअरमा पाँच सय बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् । पाँच सय बढी चलचित्रमा काम गर्दा उनी कैयौ पटक घाइते भएका छन् भने कति हिरोको त उनले मुक्का समेत सहनुपरेको छ । ‘म घाइते नभएको कुनै चलचित्र नै छैन होला’, उनले भने, ‘मेरो कारणले भन्दा पनि अरुको कारण घाइते बढी भएको छु । अब मेरो टुट्न बाँकी कमै मात्र अंग होला ।’

राजेन्द्र पर्दामा हेर्दा जती डरलाग्दा छन्, रियल लाइफमा त्यती नै फरासिला छन् । पाँच सय चलचित्रमा काम गरेका राजेन्द्रको जीवनमा चलचित्रसँग जोडिएका अनेकौ किस्सा छन् । त्यसमध्ये, उनले १० किस्सा अनलाइनखबरलाई सुनाएका छन्ः

१. पेटमा ढुंगा राखेर हम्मरले फुटाएँ
कुरा बि.सं. २०४३ साल तिरको हो । राजेन्द्रले चलचित्र क्षेत्रमा आफ्नो करिअर सुरु गरेका थिए । त्यस्तैमा उनलाई ‘कोकोकोला’को विज्ञापनमा अभिनय गर्ने अफर आयो । उक्त विज्ञापनमा पेटमा ढुंगा राखेर फुटाउनु पर्ने दृष्य थियो । त्यसका लागि राजेन्द्र तयार भए ।

राजेन्द्रका साथी लाक्पा लामाले बाजी थापोका कारण पनि उनी त्यो काममा सुरिएका थिए । ‘हामीले पाँच–पाँच सयको बाजी राखेका थियौँ’, राजेन्द्रले भने, ‘सुरुमा त लामा हम्मर हान्न डराएको थियो । पछि मैले नै हान हान भनेपछि हान्यो ।’
राजेन्द्रको पेटमा ढुंगा फुट्यो । त्यसको असर उनलाई तीन दिनसम्म पर्यो । उनले तीन दिनसम्म त केही खान सकेनन् । पेटमा ढुंगा राखेर हम्मरले हान्दा राजेन्द्र मर्छ र हामी फस्छौ भनेर गौरीशंकर धुजु पनि निकै आत्तिएका थिए । पछि राजेन्द्रले कागजमा नै सही गरेपछि उनीहरु हम्मर हान्न तयार भएका थिए ।

२. जब राजेशले धुपिको लौरोले गर्धनमा हाने
चलचित्र ‘शंकर’मा राजेन्द्र द्वन्द्व निर्देशक सँगै भिलेन पनि बनेका थिए । चलचित्रको एक दृश्यमा राजेन्द्रले नायिकालाई जवरजस्ती गरिरहेको दृश्य खिच्नुपर्ने थियो । सो दृश्यमा नायक राजेश हमालले नायिकालाई बचाउनुपर्ने थियो । नायिकालाई बचाउने दृश्यमा राजेन्द्रले सुरुमा राजेशलाई धुपीको लौरोले हान्नुपर्ने दृश्य खिचियो । राजेन्द्रले हानेको धुपीको लौरो राजेशले छले र त्यही लौरो खोसेर राजेन्द्रलाई हाने ।

त्यो दृष्यको लागि मात्र थियो, तर राजेशले त राजेन्द्रको गर्धनमा साच्चिकै हागो बजारे । राजेन्द्र सम्झिन्छन्, ‘राजेशले यस्तो मज्जाले हान्यो कि, मैले तीन तारा देखेँ । तीन दिनसम्म त पीडा कम गर्ने औषधी खानुपर्यो ।’

३. भुवनले डिङ्गो चोरको आरोप लगाए
नायक भुवन केसी हरेक चलचित्रमा डिङ्गो जुत्ता लगाउथ्य । उनको स्टाइलमा जो कोही प्रभावित थिए । राजेन्द्र पनि भुवनको डिङ्गो स्टाइलमा फिदा थिए । त्यसैले राजेन्द्रले पनि डिङ्गो जुत्ता किनेर लगाउने विचार गरे र डिङ्गो किने ।
सुटिङ सेटमा पहिलो पटक डिङ्गो लगाएर पुगेका राजेन्द्रलाई भुवनले चोर दोष लगाए । तर, राजेन्द्र र भुवनले किनेको जुत्ता एउटै परेछ ।

राजेन्द्र सम्झिन्छन्, ‘मलाई भुवन दाईले चोर भन्नुभयो । मैले मेरो हो भन्दा पनि उहाँ मान्नु भएन । त्यो बेला त त्यही नै हान्दिम जस्तो लागेको थियो ।’ पछि भुवनको जुत्ता होटलमा नै भेटियो । शर्त अनुसार होटलमा जुत्ता भेटिए त्यो जुत्ता राजेन्द्रले नै लाने भन्ने थियो । त्यो जुत्ता पनि राजेन्द्रले आफ्नै बनाए ।

४. ‘सपना’मा दात भाच्चियो
चलचित्र ‘सपना’को छायांकनमा राजेन्द्रको दात भाच्चिएको छ । चलचित्रमा भुवन केसीले पुलबाट हाम फाल्नुपर्ने दृष्य थियो । तर, भुवनले त्यो गर्न मानेनन् । एक पटक राजेन्द्र आफैले हाम फालेर पनि देखाए तर, पनि भुवनले आट गर्न सकेनन् ।

पछि भुवनको आग्रहमा उनको डमी बनेर राजेन्द्र हाम फाल्न तयार भए । ‘भुवन दाईले नगर्ने भनेपछि म उसको डमी बनेर हाम फालेको थिए । तल पुग्दा त मेरो दात कोसीको ढुंगामा ठोकिएर भच्चिएछ नि’, राजेन्द्र भन्छन्, ‘त्यो गरेको मलाई जम्मा १ हजार भूवन दाइले दिएका थिए । अहिले राजेन्द्रले उक्त भाँच्चिएको दातमा सुनको दात हालेका छन् ।

५. ‘साथी म तिम्रो’मा लडेर खुट्टा मा स्टिल हाल्नु पर्यो
चलचित्र ‘साथी म तिम्रो’मा काम गर्दा पनि राजेन्द्र घाइते भएका छन् । भ¥याङमाथि बाट हाम फाल्नु पर्ने दृष्यमा काम गर्दा उनी घाइते भएका थिए । त्यहाँ सुरुमा राजेन्द्र त्यसपछि भुवन केसी र हेमन्त बुढाथोकी हाम फाल्नुपर्ने थियो । सुरुमा हाम फालेका राजेन्द्र घाइते भए ।

राजेन्द्र भन्छन्, ‘खास त्यो सिनको काम पनि थिएन । मैले नगरौ भन्दा भन्दै जवरजस्ती गर्न लगाए । सुरुमा हाम फालेको म नै घाइते भए ।’ पछि उक्त सिन चलचित्रमा समावेश पनि गरिएन । त्यहाँ घाइते हुदाँ राजेन्द्रको खुट्टाको हड्डी भाचिएको थियो । त्यहाँ अहिले पनि राजेन्द्रले स्टिल हालेका छन् ।

६. अशोक शर्माले नाक भाँचिदिए
‘गरिब’ नामक चलचित्रमा अशोक शर्मा र राजेन्द्रको फाइटको सिन थियो । त्यो समयमा अशोक शर्माको मुक्का लागेर राजेन्द्रको नाक भाच्चिएको थियो । राजेन्द्र सम्झिन्छन्, ‘त्यो बेला अशोकले यस्तो मज्जाले नाकमा हानेछ कि मैले अइया भन्न पनि सकिनँ ।’

अशोकको पञ्चले उनको नाकको अपरेशन गर्नुपर्ने भएको थियो । उनले भने, ‘हस्पिटल गएको डाक्टरले अपरेशन गरेर हड्डी काट्नुपर्ने भने । पछि रगत आइरहन्छ भनेर गरिन । त्यसको असर अहिले पनि छ ।’ त्यो पञ्चले राजेन्द्रलाई अहिले पनि सास फेर्न गाह्रो बनाइरहेको छ ।

७. रेखालाई पुलबाट हुत्याइदिए
नायिका रेखा थापालाई ‘हिरो’ नायिका पनि भनिन्छ । कारण, रेखाले चलचित्रका फाइट हान्ने देखि गुण्डाहरुलाई तह लगाउने सबै गर्थिन् । रेखालाई फाइटर बनाउने पनि राजेन्द्र नै थिए । यस्तैमा चलचित्र ‘हिम्मत’को छायांकन भइरहेको थियो । चलचित्रमा रेखा पुलबाट हाम फाल्नुपर्ने दृष्य थियो । त्यस सिनको छायांकनको लागि सब तयार भयो । डमी स्वरुप पहिला राजेन्द्र हाम फाले । अनि रेखाको डमी गर्न ल्याएको केटी हाम फालिन् । तर, रेखा डराएर त्यहाँबाट हाम फाल्न सकिनन् ।

आखिर डमी हाम फालेको खिचिएकै थियो । रेखाको डर देखेर राजेन्द्रले रेखालाई हाम फाल्न पर्दैन भने । तर, निर्माता छविराज उक्त कुरामा सहमत भएनन् । रेखाले हाम फाले वितरकले पाँच लाख थपिदिने शर्त गरेको छ भन्दै छविले जवरजस्ती रेखालाई हाम फाल्न लगाए ।

राजेन्द्र रेखासँगै छेउमा थिए । रेखा डराइरहेकी थिइन । सबै तयारी पुरा भयो । उताबाट एक्सनको आवाज आयो, राजेन्द्रले रेखालाई पुलबाट हुत्याइदिए । राजेन्द्र सम्झिन्छन्, ‘पछि रेखा तल पुगे पछि मलाई नि झर्न लगायो । तल पुगेर मलाई रेखाले खुसी भएर अंकमाल पनि गरिन्, रिसाएर कुटिन पनि ।’

८. विराजलाई फ्याँ–फ्याँ
चलचित्र ‘चिनो’को छायांकन चलिरहेको थियो । त्यहाँ विराज भट्टको एक्सन सिन खिच्नुपर्ने थियो । त्यो समय राजेन्द्रले विराजलाई धेरै दुख दिएका रहेछन् । राजेन्द्रले लगतार ट्रेनिङ गराएर विराजलाई फ्याँ फ्याँ बनाइदिएका रहेछन् ।
‘सुरु सुरुमा आएको मान्छे । त्यो पनि एक्सनमा काम गर्छु भनेर । अनि मैले त्यसको बोसो पगाल्नु परेन त’, राजेन्द्र भन्छन्, ‘पछि दाई म बेहोस हुन्छ । १० मिनेट आराम चाहियो भनेपछि छोडिदिएँ ।’ राजेन्द्रले क्यामेरा ‘अन’ नगरी पनि ‘एक्सन’ भनेर धेरै कलाकारलाई दुख दिएका रहेछन् । त्यसमा विराज पनि थिए ।

९. श्रीकृष्णलाई हिरो दिएर आफू फाइटर
चलचित्र ‘भुमरी’ निर्माणको तयारीमा थियो । निर्मातामा राजेन्द्रका साथी लक्ष्मीदाश मानन्धर थिए । लक्ष्मीले राजेन्द्रलाई चलचित्रमा लिने शर्तमा नै लगानी गरेका थिए । राजेन्द्र पनि चलचित्रमा अभिनय गर्न तयार भए ।
पोखरामा चलचित्रको छायांकन हुने तयारी भइरहेको थियो । राजेन्द्र आफ्नो लुगाहरु बोकेर हिरो बन्न सुटिङ सेटमा पुगे । तर, उनले हिरो हुने अवसर पाएनन् । उनी सम्झिन्छन्, ‘श्रीकृष्ण श्रेष्ठ, कोरियोग्राफर वसन्त श्रेष्ठका चेला थिए । उहाँहरुले नै श्रीकृष्णलाई हिरो बनाउने भनेर मलाई धेरै फकाउनु भयो । र, मैले छोडिदिएँ ।’

श्रीकृष्णलाई हेर्दा राजेन्द्रले ‘हिरो’ बन्ने खुबी देखे । ‘नेवार नै भएकाले एक प्रकारको सहानुभुती पनि भयो ।’ उक्त चलचित्रमा उनी एक्सन निर्देशक बने । पछि श्रीकृष्णले हिरोको भूमिका पाएपछि राजेन्द्र फाइटर बन्न बाध्य भए ।

१०. चेलाको लागि हिरो बनेनन्
राजेन्द्रलाई ‘रोमान्टिक भिलेन’ पनि भनिन्थ्यो । कारण, भिलेन बनेर खेलेको चलचित्रमा पनि राजेन्द्रले नाच्न पाउथे । उनले नाचेको केही गीतहरु एकदमै हिट थियो । त्यसपश्चात् राजेन्द्रलाई धेरै चलचित्रबाट नायक बन्ने अफर पनि आए । तर, राजेन्द्र नायक बन्न तिर लागेनन् ।

‘म त्यो समय द्वन्द्व निर्देशक, भिलेनसँगै चलचित्रमा नाचेर पनि हिट थिए । त्यही बेला धेरै चलचित्रबाट हिरो बन्ने अफर आयो ’, उनी भन्छन्, ‘तर, चेलाहरुले तपाई हिरो बन्नुभयो भने हामी के गर्ने भन्न थाले । उनीहरुको मायाले नै हिरो बनिन् ।’ यदी आफू त्यो समय हिरो बनेको भए राजेश हमललाई गाह्रो बनाउने राजेन्द्रले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment