Comments Add Comment

हिउँले सेताम्मे चन्द्रागिरि : आन्तरिक पर्यटकको घुइँचो

२६ माघ, काठमाडौं । उपत्यकाको पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको चन्द्रागिरि डाँडामा शनिबार बाक्लो हिउँ पर्‍यो । एक फिटसम्म हिउँ जम्मा भएको छ ।

भालेश्वर मन्दिर, रेस्टुरेन्ट, अन्य भौतिक संरचनाहरुका साथै बाटो र रुखका बुट्यानहरु समेत सेताम्मे भएका थिए ।

हिउँ परेसँगै आन्तरिक पर्यटकको घुइचो लागेको छ । शनिबार दिउँसो चन्द्रगिरि पुग्दा हिउँको डल्ला बनाएर कुदिरहेकादेखि हिउँको डल्लाले हानाहान गरेर रमाइरहकाहरु देखिन्थे ।

शनिबार मध्यान्ह ३ बजेसम्म चन्दागिरि डाँडामा ९ हजार बढी आन्तरिक पर्यटक पगेका छन् । साँझसम्म यो संख्या १२ हजार पुग्ने चन्द्रागिरि हिल्सको अनुमान छ । विगत एकदिनमा ५/६ हजारसम्म आएका थिए ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चद्र ढकालले भने हिउँकै कारण यतिधेरै आन्तरिक पर्यटक आउलान भन्ने कहिल्यै नलागेको सुनाए । ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउन थालेकोमा खुसी व्यक्त गर्दै उनले चन्द्रागिरिलाई बाहृय पर्यटकहरुको समेत ध्यान खिच्ने गरी विकास गरिने बताए । त्यसका लागि पाँचतारे सुविधासम्पन्न होटल निर्माण भइरहेको छ । केहि समयभित्रै होटलको निर्माण सम्पन्न हुने ढकालले बताए ।

उसो त यो वर्षमात्र चन्द्रगिरिमा चार पटक हिउँ पर्‍यो । तर, शनिबार अहिलेसम्मकै धेरै हिँउ परेको चन्द्रागिरि हिल्सका जनरल म्यानेजर -जीएम) अभिशेक विक्रम शाह सुनाए ।

हिउँ खेल्न पुग्नेहरुले भने उपत्यकाबाट नजिक दूरी पर्ने र सहज तरिकाले पुग्न सकिने भएकाले चन्द्रागिरि रोजेको बताएका छन् ।

दाङ स्थायी घर भई काठमाडौं बस्दै आएका मोहन डाँगी पनि लामो समय पछि चन्द्रागिरिमा हिउँ खेल्न पाएको भन्दै निकै खुसी देखिन्थे । ‘म थानकोट क्षेत्रमा बसेको करिब १२ वर्ष भयो, यो अवधिमा यतिधेरै हिउँ परेको जस्तो लाग्दैन’ उनले भने, ‘अझ पहिले त हामी साथीहरु मिलेर घण्टौ लगाएर हिडेर हिउँ खेल्न जानु पथ्र्यो । केवलकार बनेपछि सहज भएको छ ।’

कोटेश्वरबाट पुगेका सरोज थापाको भनाइ पनि डाँगीको जस्तै छ । लामो समय पछि बाक्लो हिउँ परेका कारण निकै रमाइलो गर्न पाइएको थापाले बताए । उसो त ललितपुरको फुल्चोकी डाँडामा पनि हिउँ पर्छ तर, अलि टाढा र बाटोसमेत नराम्रो भएका कारण धेरैको रोजाईमा चन्द्रागिरि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment