Comments Add Comment

‘मुगल-ए-आजम’ चलचित्र कसरी बनाइएको थियो ?

पचासको दशकमा बनेको भारतिय इतिहासकै सर्वोत्तम चलचित्र ‘मुगल-ए-आजम’का निर्देशक के. आसिफ हुन् । उनका काका नजीर त्यसबेलाका अभिनेता थिए ।

सुरुमा काका नजीरले उनलाई चलचित्र क्षेत्रमा ल्याउन प्रयास गरेका थिए, तर त्यसबेला आसिफले यस क्षेत्रमा खासै जाँगर देखाएनन् ।

नजीरले उनका लागि एक दर्जीको पसल खोलिदिए । तर, केही समयमै पसल बन्द गर्नुपर्‍यो । कारण, आसिफ पसल चलाउन भन्दा पनि छिमेककी एक युवतीसँग रोमान्स गर्नमै तल्लिन भए । त्यसपछि भने नजीरले जबरजस्ती उनलाई चलचित्र क्षेत्रमा ल्याए ।

के. आसिफले आफ्नो जीवनमा केवल दुई चलचित्र निर्देशन गरे । सन् १९४४ मा प्रदर्शित ‘फूल’ र ‘मुगल-ए-आजम’ ।

संख्यात्मक हिसाबले अत्यान्तै कम चलचित्र गरेपनि उनी भारतिय चलचित्र इतिहासका स्वर्ण दस्तावेजमा संग्रहित भए । हालै प्रकाशित पुस्तक ‘ये उन दिनो की बात है’ का लेखक यासिर अब्बासी भन्छन्, ‘मुगल-ए-आजम मैले कम्तिमा एक सय पटक हेरेको छु ।’

आज पनि टेलिभिजन च्यानलमा उक्त चलचित्र देखाइएमा च्यानल परिवर्तन नगर्ने उनले बताएका छन् । ‘कमालको भिजन र प्यासन थियो आसिफमा’ उनले भनेका छन्, ‘केवल दुई वटा चलचित्र गरेर पनि आसिफ अब्बल निर्देशकमा दरिए ।’

त्यसो त यस चलचित्रको हरेक पक्ष उत्तिकै बलियो छ । यद्यपी त्यसमा पनि ‘मुगल-ए-आजम’को संवाद जोडदार थियो । त्यही संवादले दर्शकलाई औधी उत्साहित बनाएको थियो, यस चलचित्रप्रति ।

चलचित्रमा एउटा गीत छ, ‘मोहे पनघट पे नन्दलाल छेड गयो ।’ यो गीतलाई दृश्यांकन गर्नका लागि आसिफ नृत्य निर्देशक लच्छु महाराज नौशादकहाँ गएर भने, ‘नौशाद साहब यो गाना यस्तो बनाउनुहोस् कि, वाजिद अली शाहको दरबारको जमनाको झल्को दिलायोस् ।’

नौशादले भने, ‘कथक नृत्यमा अनुहार र हातको भाव सबैभन्दा महत्वपूर्ण हुन्छ । यस चलचित्रमा मधुबालालाई फिचरिङ गराइदैछ । तर, के उनले यसलाई न्याय गर्न सक्छे ? किनभने उनी कत्थक नृत्यागना त होइनन् ।’

लच्छु महाराजले भने, ‘यो काम ममाथि छाड्नुहोस् ।’ उनले मधुबालालाई सुटिङ अगाडि नृत्यको घन्टौ अभ्यास गराए । र, पुरा गीत उनीमाथि दृश्यांकन गरियो, कुनै डुप्लिकेटको प्रयोग गर्नु परेन ।

घतलाग्दो त के भने उक्त गीतको छायांकन भइरहँदा चीनका प्रधानमन्त्री चू एन लाई, जुल्फ्रिकार अली भुट्टो छायांकन हेर्न आउँथे ।

त्यसबेला भुट्टे मुम्बईमा बसेका थिए । र, गीतको जति दिन छायांकन भयो, त्यती दिने नै उनी सुटिङ स्पटमा पुग्थे । भुट्टो र आसिफको गहिरो मित्रता थियो । त्यसबेला कसैले कल्पना गरेका थिएनन् कि मुगल-ए-आजमको सेटमा उपस्थित हुने ति व्यक्ति पाकिस्तानका प्रधानमन्त्री बन्नेछन् ।

यस चलचित्रमा अति स-साना कुरामा पनि निकै ध्यान पुर्‍याइएको थियो । यस चलचित्रको प्राण थियो, के. आसिफको ‘अटेन्शन टु डिटेल’ अर्थात स-सना कुरा पनि ध्यानपूर्वक नियाल्ने कला ।

फिल्ममा जोधाबाईले लगाएको पहिरन हैदरबादका सालारजंग म्यूजियमबाट उधारोमा ल्याइएको थियो । सेटको खम्बा, भित्ता आदि बनाउनका लागि महिनौ लागेको थियो । खतीजा अकबर आफ्ना पुस्तक ‘द स्टोरी अफ मधुबाला’मा लेख्छन्, ‘शीशाको महल सेट बनाउनमा पुरा दुई बर्ष लागेको थियो ।’

आसिफलाई यसको प्रेरणा जयपुरको आमेरको किल्लामा बनेको शीशामहलबाट मिलेको थियो । त्यसबेला भारतमा उपलब्ध रंगीन शिशाको गुणस्तर त्यती राम्रो थिएन । त्यसैले उक्त शिशा धेरै मूल्य चुकाएर बेल्जियमबाट झिकाइएको थियो ।

मुगल-ए-आजम चलचित्रको सबैभन्दा चर्चित गीत थियो, प्यार किया तो डरना क्या । यसलाई लेख्न र संगीतमा ढाल्नका लागि नौशाद र शकील बदायुंनीले पुरा रात गुजारेका थिए ।

यासिर अब्बासी भन्छन्, ‘जतिबेला आसिफले नौशादलाई त्यस गीतको सिचुएशन बताए, तब त्यस बेला अर्को चलचित्र बनिरहेको थियो अनारकली । त्यो चलचित्र पनि यस्तै कथामा आधारित थियो ।

नौशादले निर्देशकल आसिफलाई भने ‘दुबै चलचित्रमा धेरै समानता छ । त्यस चलचित्रको गीत रेकर्ड भइसक्यो, जसलाई मैलें सुनिसकें । यदि हामीले त्यस्तै गीत छनौट गर्‍यौं भने त्यो दोहोरिएको जस्तै भान हुनेछ । के तपाईं यो सिचुएसनलाई बदल्न सक्नुहुन्न ?’

आसिफले भने, ‘म त्यस्तो गर्न सक्दिन ।’

तब नौशादले उक्त चुनौती स्विकार गरे । साँझ ६ बजेपछि जब घाम ओझेल हुँदै थियो, नौशाद र शकील बदायुंनीले आफुहरुलाई एक कोठामा बन्द गरे । शकीलले करिब एक दर्जन स्थायी लेखे, जसमा उनले कहिले गीतको साहारा लिए, त कहिले गजलका । तर, चित्तबुझ्दो भएन । केही समयमै नौशादको कोठा कागजै कागजले भरिएको थियो ।

उनीहरु पुरा रात केही खाएनन्, पिएनन् । केही समयपछि नौशादलाई एक पूर्वी गीतको स्थायी फुर्‍यो, जो उनले आफ्नो बाल्यकालमा सुनेका थिए । गीत थियो, ‘प्रेम किया का चोरी करी ।’ उनले यो गीत शकीललाई सुनाए । उनले मन पराए । अनि हारमोनियममा त्यसको धुन बनाए । त्यसबेला शीकलले लेखेका थिए, ‘प्यार किया तो डरना क्या

प्यार किया कोई चोरी नहीं की…’

‘जब हामी बिहान यो गीत कम्पोज गरेर बाहिर निस्कियौं, तब हाम्रो शिरमा घाम चम्किरहेको थियो । मलाई अक्सर सोधिन्छ कि पुरानो गीतको लोकपि्रयताको राज के हो ? मेरो जवाफ हुन्छ कि त्यस गीत तयार गर्नका लागि पुरा रात बिताएको थिएँ ।’

मुगल-ए-आजम बन्ने अन्तिम चरणमा मधुबाला र दिलीप कुमारबीच बोलचाल बन्द भएको थियो । किनभने मधुबालाले आफ्ना परिवारको दबावको कारण दिलीप कुमारको विहेको प्रस्ताव अस्विकार गरेकी थिइन् ।

चलचित्रमा दुर्जन सिंहका भूमिका गर्ने अजीतले एक पटक लेखेका छन्, ‘एक दृश्यमा दिलीप कुमारले मधुबालालाई थप्पड हान्नुपर्ने थियो । जब क्यामेरा रोल भयो तब दिलीप कुमारले मधुबाललाई यति जोडले थप्पड हाने कि, त्यहाँ उपस्थित सबैजना स्तब्ध भए । शट त ओके भयो, तब कसैलाई थाहा दिएन कि अब के हुन्छ ?’

के मधुबाला सेटबाट बाहिरिनेछिन् ? के शुटिङ रोक्नुपर्नेछ ? यसअघि मधुबालाले केही भने । आसिफले उनलाई एक कुनामा लगेर भने, ‘म आज एकदम खुसी छु । किनकी यो प्रष्ट छ कि, अहिले पनि ऊ तिमीलाई प्रेम गर्छ ।’

आसिफलाई अप्ठ्यारो के थियो भने, मधुबालाका पिता अताउल्लाह खाँ अक्सर चलचित्रको छायांकनमा उपस्थित हुन्थे ।

चर्चित चलचित्र इतिहासकार रयुबेनले आफ्ना किताबमा लेखेका छन्, ‘जुन दिन दिलीप कुमार र मधुबालाबीच अन्तरंग प्रेम दृश्य फिल्मांकन हुँदै थियो, आसिफले मधुबालाका पितालाई सेटबाट टाढा राख्ने एक उपाय निकाले ।’

आसिफलाई थाहा थियो कि अताउल्लाह खाँ रमी खेल्नेका एकदम सौखिन थिए । उनले आफ्ना पब्लिसिस्ट तारकनाथ गान्धीलाई केही हजार रुपैयाँ दिएर भने, ‘आजदेखि तिम्रो काम आगमी केहि दिनसम्म खाँ साहेबसँग रमी खेल्नु हुनेछ । तिमीले जानीबुझी हर बाजी हार्नुपर्नेछ ।’

बर्षौसम्म छायांकन भएको कारण यो चलचित्रको बजेट अत्याधिक बढेको थियो । निर्देशक आसिफले पानीको बदलामा पैसा बगाइरहेको भान हुन्थ्यो । किनभने उनी पैसा र समय होइन, क्वालिटीमा बढी फोकस थिए । कतिसम्म भने, निर्देशकको यस्तो हर्कत देखेर फाइनान्सरले निर्देशक बदल्ने सोंच समेत बनाएका थिए ।

अन्नतः उनले एकदिन सोहराब मोदीलाई लिएर शीशामहल पुगे । त्यहाँ आसिफ पनि उपस्थित थिए । निर्देशक आसिफले दुबैलाई यसो भने, ‘सेठ जी तपाई जसलाई चाहनुहुन्छ, उसलाई लिएर चलचित्र पुरा गर्नुहोस् । तर, यो सेट मैले लगाएको हुँ । र, यहाँ म नै सुटिङ पुरा गर्नेछु । यदि कसैले यहाँ कदम राख्यो भने म उसको खुट्टा भाँचिदिनेछु ।’ – बीबीसीहिन्दीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment