Comments Add Comment

सरकारले भन्यो-जापानको रोजगारीबारे म्यानपावरवालाले चलाएको हल्ला झुटो

२७ माघ, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले जापानमा कामदार पठाउने काममा व्यवसाय नै संलग्न हुने आशयको सूचना प्रकाशित गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले जारी गरेको सूचनामा इजाजत प्राप्त वैदेशिक रोजागर व्यवसायीले जापानमा कामदार लैजाने प्रक्रिया टुंगो लाग्न केही महिना लाग्ने उल्लेख छ ।

तर, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले संघको सूचनाको खण्डन गर्दै जापानमा कामदार पठाउने प्रक्रियामा कामदार ठगिने गरी कुनै पनि मध्यस्तकर्ता नराखिने स्पष्ट गरेको छ । जापानको रोजगारीबारे म्यानपावरवालाले चलाएको हल्ला झुटो भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्रोतकाअनुसार जापान लैजाने प्रक्रियालाई सरकारी स्तरमै टुंग्याउन नेपालले प्रस्ताव गरेको छ । र, जापान पनि त्यसमा सहमत छ । ‘व्यवसायीले आफैंले जिम्मा पाउँछु भनेर कामदार ठग्न चलखेल थालेको देखिन्छ । यसमा सबै सचेत हुनुपर्छ,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे पनि जापानमा कामदार पठाउन विधि र संयन्त्र टुगो लाग्न बाँकी रहेको बताउँछन् । उनकाअनुसार जापानबाट कस्तो संयन्त्र र विधि प्रस्ताव गरिन्छ पर्खाईमा नेपाल सरकार छ ।

नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नाममा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् ।

सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले केही समयअघि सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।

सरकारले फेरि पनि जापानमा तत्कालै रोजगारी पाइने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । श्रम मन्त्रालयले यस्तो प्रलोभनमा परेर राहदानी तथा पैसा नबुझाउन आग्रह गरेको हो ।

जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल भएर टुंगो लगाउन बाँकी छ । त्यसैले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन अपील गरिएको छ ।

अहिले हल्लाकै भरमा ठगहरुले जापानको नाममा पैसा उठाउन सुरु गरिसकेको सूचना सरकार समक्ष पुगेको छ । कसैले राहदानी लिएर पैसा उठाए उने मन्त्रालय, विभाग वा प्रहरीलाई सूचना दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

जापान पठाउने काम सरकारी संयन्त्रमार्फत पारदर्शी रुपमा गरिने भएकाले कसैको आश्वासनका भरमा रकम नबुझाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

विज्ञापन निकालेर कामदार ठग्ने काममा संलग्न नहुन त्यस्ता म्यानपावर र कन्सल्टेन्सीहरुलाई पनि सरकारले सचेत गरएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment