Comments Add Comment

शरीरबाहिर मुटु भएकी बालिका १४ महिनापछि घरमा

२७ माघ, काठमाडौं । जन्मदै शरीरभन्दा बाहिर मुटु भएकी एक बालिका अस्पतालबाट १४ महिनापछि डिस्चार्ज भएर घर गएकी छन् ।

२२ नोभेम्बर २०१७ मा बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड हस्पिटलमा जन्मेकी भेनेल्लोप होप विल्किन्सलाई पहिलोपटक घर लगिएको हो ।

दुर्लभ समस्या लिएर जन्मेकी विल्किन्स बाँच्ने सम्भावना १० प्रतिशत मात्र रहेको त्यतिबेला डाक्टरहरुले बताएका थिए । उनलाई अस्पतालमा उच्च स्याहार दिएर राखिएको थियो । उनका बाबुआमा नोआमी र डिन विल्किन्सले नौ महिनामा अल्ट्रा साउन्ड गर्दा बच्चाको अप्राकृतिक अवस्थाबारे जानकारी पाएका थिए । मुटुको आंशिक वा पूर्ण भाग शरीरबाहिरै रहने समस्यालाई मेडिकल भाषामा एक्टोपिया कोर्डिस भनिन्छ ।

डाक्टरहरुका अनुसार यस्तो समस्या लिएर हरेक वर्ष एक लाख २६ हजार बच्चाहरु विश्वभर जन्मिने गर्छन् । उनीहरुमध्ये अधिकांश मृत जन्मन्छन् वा जन्मिएलगत्तै मर्छन् । तर, विल्कन्सको हकमा भने नसोचेको कुरा भएको छ ।

‘डाक्टरहरुले जब उनलाई मेरो कोखबाट बाहिर निकाले, त्यतिबेला उनी हातले आफ्नो मुटु चलाइरहेकी थिइन्,’ नाओमी विल्किन्सले द सनलाई भनिन्, ‘मलाई लाग्यो कि उनले आफ्नो मुटु जोगाउन खोजिरहेकी छन् ।’

जन्मेको एक घन्टाभित्रै भेनेल्लोपको पहिलो शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत उनको मुटुलाई छातिभित्र धकेल्न डाक्टरहरु सफल भएका थिए । यसपछि विभिन्न शल्यक्रिया गरेर उनको पाखुराबाट लिइएको छालाले उनको छातीको भ्वाङ टालिएको थियो ।्

‘हरेक पटक उनलाई अपरेसन थिएटरमा लगिँदा म उनको हातमा चुमेर गुड बाई भन्थेँ,’ नोआमी भन्छिन्, ‘मलाई निकै कम आशा हुन्थ्यो कि उनी जिवित त्यहाँबाट निस्किनेछिन् ।’

गत मे २०१८ मा भेनेल्लोपलाई घर नजिकै रहेको अस्पतालमा सारियो । अन्तत जन्मेको १४ महिनापछि उनी आफ्नो घर आएकी छन् ।

अहिले पनि आफ्नी छोरीले स्वस्थ भएर सामान्य जीवनयापन गर्न सक्नेमा बाबुआमा निश्चिन्त छैनन् । उनको अझै पनि केही शल्यक्रिया आवश्यक हुने चिकित्सकहरु बताउँछन् ।

‘अझै पनि धेरै कुरा बाँकी नै छ, तर अब हाम्रो यात्रा अलि सरल हुने आशा गरेका छौं,’ नोआमीले भनिन्, ‘उनी घरमा बस्दा निकै खुशी देखिएकी छिन् । यो आफ्नो घर हो भन्ने उनलाई सायद महसुस भएको छ ।’

भेनेल्लोप आफ्नो दाजुसँग निकै खुशी भएर खेल्ने गरेको नोआमीले बताइन् ।

‘यस्तो क्षण आउला भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं,’ नोआमीले भनिन् । हुन पनि उनले छोरी जन्माउँदा डाक्टरहरुले एउटा प्लास्टिकको थैलो ठीक पारेका थिए, बच्चाको शव हाल्नका लागि । भेनेल्लोप जिवित जन्मिए पनि उनी बाच्छिन् भन्ने खासै आशा थिएन । यस्तो घटनामा जिवित रहने बेलायतकी उनी पहिलो बालिका हुन् ।

भेनेल्लोपका पाँच वर्षिय छोरा ज्याकोब र नौ वर्षिय क्यालेब छन् । उनीहरु दुवै सामान्य र स्वस्थ छन् ।
नाओमी भन्छिन्, ‘क्यालेबले अस्पतालमा आफ्नी बहिनीलाई पहलोपटक देख्दा निकै रोएको थियो । अहिले दुवै दाजुहरुले बहिनीलाई निकै माया गर्छन् ।’

क्यालेब भन्छन्, ‘उनी सँधै मेरो औंला अँठ्याउँछिन् र कतै जान दिन्नन् । मलाई उनको धेरै माया लाग्छ ।’
नाओमी एक कस्टमर सर्भिस सुपरभाइजर हुन् । छोरी जन्मेयता भने उनको दिनचर्या पूर्णरुपमा अस्पतालमा नै बित्ने गरेको थियो । अब भने चाँडै नै आफ्नो पुरानो काम सुरु गर्ने योजनामा छिन् उनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment