Comments Add Comment

चालकको लापरवाहीले सबैभन्दा बढी दुर्घटना : डीआईजी जोशी

ट्राफिक कम्प्यूनिकेशन एपको उद्घाटन

२७ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूर्णचन्द्र जोशीले सवारी दुर्घटना हुनुमा सबैभन्दा बढी सवारी चालक जिम्मेवार रहेको बताएका छन् ।

आइतबार नागढुङ्गामा ट्राफिक कम्यूनिकेशन एप्लिकेशनको उद्घाटन गर्दै उनले भने, ‘विशेषः अहिले दुर्घटना हुनुपछि ३ वटा कारण देखिन्छन् । पहिलो चालकको लापरबाही, दोस्रो यान्त्रिक गडबडी र तेस्रो सडकको अवस्था । त्यसमध्ये चालकको लापरबाहीले ८० प्रतिशत दुर्घटना हुने गरेको तथ्यांकले देखाउँछ ।’

जोशीले यसलाई निराकरण गर्न ट्राफिकले लामो दूरीमा सञ्चालित सवारी साधनमा हरेक ६ घन्टामा चालक परिवर्तन भएको/ नभएको जानकारी लिन यो एप्लिकेशन सञ्चालनमा ल्याइएको बताए । उनले प्रत्येक व्यक्ति तथा सवारी चालकले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना न्यूनिकरण हुने समेत जनाए ।

प्रत्येक यात्रुबाहक बसमा दुई चालक अनिवार्य भएको कानूनी व्यवस्थालाई सुनिश्चता गर्ने र म्यान्यूल टाइम कार्डलाई विस्थापित गर्दै एप सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ‘यो एप्लिकेशनमार्फत हुने डाटा इन्ट्री अपडेटबाट अपराध अनुसन्धानमा पनि सहयोग पुग्ने विश्वास छ’, उनले भने ।

चालकले सवारी चलाउने क्रममा निदाउँदा, मादक पदार्थ सेवन गर्दा, ओभरटेक गर्दा र अस्वस्थ प्रतिष्पर्धा धेरै दुर्घटना हुने गरेको उनको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले मुलुकभर हरेक दिन सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनले एप्लिकेशनमार्फत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने सवारी र चालकको पनि सूचना राखिने बताए ।

लामो दूरीको सवारी साधनमा एउटै व्यक्तिले सवारी चलाउँदा थकान तथा नैराश्यता उत्पन्न हुने भएकाले पनि चालक फेर्नु पर्ने उनको भनाइ छ । साथै, सवारी ऐनले पनि ६ घन्टाभन्दा बढी एउटै व्यक्तिले सवारी चलाउन रोक लगाएको उनले बताए ।

लामो दूरीको एक रात्रीकालीन बस सेवाको रेकर्ड राखिँदै । तस्वीर : रोशन दानी

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामा, चन्द्रागिरी नगरपालिका-२ का वडा अध्यक्ष गोपी सुरखेतीले पनि एप्लिकेशनले दुर्घटना न्यनिकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण धितालले प्रतिवेदन प्रस्तुत गर्दै उक्त एप्लिशनको प्रयोगकर्ताले जीपीएस लोकेशन पनि थाहा पाउन सक्ने बताए ।

एपमा लाइसेन्स नम्बर, टाइम कार्ड लगायत पनि चेक गर्ने सुविधा छ उनले भने, प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि एपमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्था पनि छ ।

पहिलो चरणमा प्रदेश नं. ३ काठमाडौंको नागढुङ्गा, प्रदेश नं.२ अन्तर्गत सर्लाहीको कर्मैया, सप्तरीको शम्भुनाथ नगरापलिका-३ शम्भुनाथ र प्रदेश नं. ५ अन्तर्गतको नवलपरासी(पश्चिम) सुनुवल नगरपालिका-१२ भुमही र बाँकेको कोहलपुरमा एप्लिशेन सञ्चालनमा ल्याइएको उनले बताए ।

एपको प्रयोगबाट लामो दूरिमा चल्ने सवारी साधनमा चालक परिबर्तन भए /नभएको पत्ता लगाउन सकिने र त्यसका लागि कुनै एक निश्चित बिन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिने ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक केशव भट्ट बताउँछन् ।

ट्राफिक प्रहरीले चेक पोइन्टहरुमा चेकजाँचको क्रममा चालकको फोटो र अनुहार जाँच तथा बिवरणको आधारमा चालक बदली भए/नभएको सहज रुपमा पत्ता लगाउन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment