Comments Add Comment

वनकरिया : पहिले घुमन्ते, अहिले होमस्टेका ‘साहुजी’

बाबुराम बास बसेको घरपछि अन्यमा पनि खोलिने

२८ माघ, हेटौंडा । २०५५ अघिसम्म वनकरिया समुदाय व्यवस्थित थिएन । राउटेजस्तै घुमन्ते जीवन बिताउनु उनीहरुको दैनिकी थियो ।

०५५ पछि व्यवस्थित जीवनमा फर्किएका वनकरिया समुदाय विस्तारै व्यवसायिक जीवनको लयमा आउन थालेका छन् । योसँगै उनीहरुको परिचयसमेत बदलिन थालेको छ । कुनै बेला घुमन्ते जीवन बिताउने उनीहरु आन्तरिक तथा वाह्य पर्यटकलाई गाँस–बासको प्रबन्ध गर्न सक्ने हैसियतमा उक्लिएका छन् ।

जिल्लाको मनहरि गाउँपालिकाले लोपोन्मुख वनकरिया वस्तीमा होमस्टे सञ्चालनको चाँजोपाजो मिलाएपछि वनकरिया होमस्टेका मालिक बन्दै छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई बास बसेको बनकरियाको घरमा गाउँपालिकाले होमस्टे सञ्चालनको तयारी गरेको हो ।

गाउँपालिकाको यो प्रयासले घुमन्ते जीवनबाट व्यवस्थित जीवनमा फर्किएका वनकरियाको खानपानसँगै रहन-सहन र संस्कृति नजिकबाट नियाल्ने अवसर जुट्ने भएको छ भने वनकरियालाई अर्थोपार्जनको बाटो खुल्दै छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा महिनामा १ दिन जनताको घरमा गएर बास बस्ने अभियान चलाएका थिए । यही क्रममा उनी ०६९ माघ २२ गते लोपोन्मुख वनकरियावस्ती पुगेका थिए ।

मनहरी गाउँपालिका-४, हाँडीखोलास्थित माया वनकरियाको घरमा बाबुराम बास बसेका थिए । राज्यका उच्च ओहोदाका व्यक्ति आफ्नो झुप्रोमा पाएर फुरुंग मायाले भट्टराईलाई गिठ्ठा-भ्याकुर र कोदाको ढिँडो भोर्लाको पातमा राखेर खुवाएकी थिइन् ।

मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भट्टराई बास बसेको घर ऐतिहासिक भएकाले गाउँपालिकाले होमस्टे सञ्चालनको तयारी गरेको बताए । उप्रेतीका अनुसार यसका लागि ५ लाखको बजेट छुट्याएको छ ।

वनकरिया वस्तीमा होमस्टे सञ्चालनका लागि आइतवार वनकरिया वस्तीमा गाउँपालिकाका अध्यक्ष उप्रेती, उपाध्यक्ष मनिला विष्टलेदेखि वडा नं. ४ का अध्यक्ष ध्रुव खड्कासम्म पुगेका थिए । वनकरिया समुदायसँग लामो अन्तरक्रिया गरेर माया वनकरियाको घरमा होमस्टे सञ्चालन गर्ने निधो गरेको वडाध्यक्ष खडकाले बताए ।

होमस्टे सञ्चालनका लागि गाउँपालिकाले माया वनकरियाको संयोजकत्वमा होमस्टे सञ्चालन व्यवस्थाापन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा सन्तमाया वनकरिया चयन भएकी छन् भने कान्छीमाया वनकरिया, सुन्तली वनकरिया, धोवे वनकरिया, सानु सोमलाल वनकरियाले सदस्यको जिम्मेवारी पाएका छन् । समितिले वनकरिया वस्तीको सरसफाइदेखि व्यवस्थापनसम्मका काम गर्नेछ ।

गाउँपालिकाले माया वनकरियाको घरवाट सुरु गरिने होमस्टेको प्रभावकारिता हेेरर यसको विस्तार गर्ने सोच बनाएको छ । यो वस्तीको १८ घरधुरीमा बसोबास गर्ने वनकरियाको संख्या ८९ छ ।

२० वर्ष अघिसम्म चुरेघाँचमा फिरन्ते जीवन बिताउने गरेका वनकरिया समुदाय ०५५ बाट व्यवस्थित जीवनमा फर्किन थालेका थिए । सरकारले यो समुदायलाई राज्यको मुलधारमा ल्याउने उद्देश्यले ०६६ देखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जन्मदर्ता गर्ने बितिक्कै वनकरिया जातिले मासिक प्रतिव्यक्ति २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउछन् । मुलुकको अन्य भागमा वनकरिया समुदायको वसोवास रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment