Comments Add Comment

प्रेममा आजसम्म रुन परेको छैन: दीपिका प्रसाईं

नायिका दीपिका प्रसाईको डेब्यु चलचित्र ‘ऐश्वर्य’ को एउटा गीत निकै हिट भएको थियो, ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुँला, तर तिमीसँगै म रोइदिन सक्छु…’ ।

प्रेमी रुँदा उनलाई हँसाउने प्रयास गर्नुको साटो आफू पनि सँगै रोइदिने भाव व्यक्त भएको छ । त्यसो भए, वास्तविक जीवनमा चाहिँ दीपिका कत्तिको रुन्छिन् त ?

‘म त एकदमै रुन्ची छु,’ उनी भन्छन्, ‘सानो सानो कुरामा पनि मन दुख्छ र आँशु झरिहाल्छ ।’ तर, आजकाल पहिलेभन्दा रुन कम भएको उनले सुनाइन् ।

दीपिका आˆनो ड्याडीले ठुलो स्वरमा बोले भने पनि आशु बगाइदिन्छिन् । ‘मेरो ड्याडी प्रतिको लगाव बढी छ । त्यसैले होला ड्याडीले ठुलो स्वरमा केही भन्नुभयो भने पनि रुन्छु ।’ पछिल्लो समय कहिले रोइन् त्यो उनलाई थाहा छैन । उनी हाँस्दै भन्छिन्, ‘म नरोएको धेरै दिन पो भयो कि क्या हो ?’

दीपिका सबैभन्दा बढी हजुरबुबाको मृत्युमा रोएकी छिन् । ‘आˆनो परिवारको सदस्य बित्दा को नरोला र !’, दीपिका भन्छिन्, ‘म पनि त्यो समय निकै रोएको थिएँ ।’

धेरै रोएको अर्को पल पनि उनलाई याद छ । जब घर छोडेर उनी काठमाडौं होस्टलमा बस्न आएकी थिइन्, त्यो बेला पनि उनको आँखा निकै भिजेको थियो ।

प्रेम र प्रेमीको कारण भने आजसम्म दीपिका रुन परेको छैन । ‘अहिलेसम्म त प्रेममा खुसी मात्रै छ । रुन परेको छैन’, दीपिका भन्छिन्, ‘रुन नपरोस् पनि ।’ तर, प्रेमीले केही ठुलो स्वरमा बोले दीपिकाको मनमा चिसो बतास चलिहाल्छ ।

किताब पढ्दा नरुने दीपिका चलचित्र हेर्दा भने मज्जाले नै रुन्छिन् । इमोशनल चलचित्रले उनलाई छुन्छ । उनी भन्छिन्, ‘म चलचित्र हेर्दा क्यारेक्टरमा आफूलाई रिलेट गरेर हेर्छु । कतिपय कुराहरु आफ्नै भोगाई जस्तो लाग्छ । त्यसैले रुन्छु ।’ हलमा सबैले देख्ने गरी पनि दीपिकाको आँशु बगेको छ । त्यतिबेला भने उनलाई लाज लाग्छ ।

दीपिकाले काम गरेका दुई चलचित्रमा उनी रोएका दृष्यको कमी छैन । चलचित्रमा अभिनय गर्दा आफूले साँच्चिकै आशु झरेको दीपिकाको दावी छ ।

‘जति पनि रुने सिनमा काम गरेँ, सबैमा म साँच्चिकै रोएको छु ।’ उनले भनिन् ।

केटा मान्छे रुनुहुन्न भन्ने मान्यतालाई उनी मान्दिनन् । ‘आखिर इमोशन त केटा र केटी दुबैमा भइहाल्छ नि हैन ?’, उनले भनिन्, ‘नरोएर पुरुषत्व देखाउने प्रवृत्ति गलत हो ।’ दीपिका रुँदा पिडा कम हुन्छ भन्ने कुरामा विश्वास गर्दिनन् तर मन हलुका हुन्छ भन्ने कुराको अनुभव भने उनले गरेकी छिन् ।

चलचित्र ‘ऐश्वर्य’बाट डेब्यु गरेकी नायिकाले पहिलो चलचित्रबाटै चर्चा पाइन् । व्यापारिक रुपमा यो चलचित्र औसत भए पनि दीपिकाको सौन्दर्यको निकै तारिफ भएको थियो । त्यसपछि उनले छक्का पञ्जा ३ मा अभिनय गरिन्, जुन सुपरहिट भयो । अहिले उनीसँग कुनै फिल्म छैनन् । उनी निर्देशक दिवाकर भट्टराईसँग घरजमको तयारीमा छिन् । उनीहरुको ईंगेजमेन्ट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment