Comments Add Comment

२५ वर्षदेखि बाँझो जग्गामा सामूहिक खेती, वार्षिक २५ लाख आम्दानी

Photo Credit : फाइल तस्वीर

२८ माघ, परशुराम । डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन् ।

यस क्षेत्रका अन्य युवा मिलेर बाँझो जग्गामा विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका छन् । तराईमा बसाइँ सरेपछि गाउँको बाँझो जग्गाको उपयोग गरी मुनाफा हुन थालेपछि अन्य युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको रामचन्द्रले बताए ।

अर्का सञ्चालक सदस्य सीताराम पहिलो पटक १०० क्विन्टल आलुको बीउ उत्पादन भएको बताउँछन् ।  उनले भने,  ‘रु दश लाख लगानी गरी यस वर्ष २५ लाख रुपैयाँ कमाइ भएको छ ।’  बजारमा शुद्ध आलुको बीउको अभाव हुँदा बीउ उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

सीतारामका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमीनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुषलाई वर्षमा झण्डै १२० दिन रोजगारी दिएको छ ।

आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । सञ्चालक सदस्य दत्तराजले भने, ‘कम्पनी गठन गरी व्यावसायिक खेती शुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौँ रुपैयाँ मुनाफा भएपछि सबै आश्चर्यचकित भएका छन् ।’

सिँचाइ अभाव र खेतीबारे ज्ञान नहुँदासमेत युवाको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट बताउँछन् । यहाँ उत्पादन भएको आलुको बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment