Comments Add Comment

बँधुवा मजदुर नबनाऊ भन्दै सरकारी डाक्टरको प्रदर्शन

२८ माघ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी डाक्टहरुले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिँदा पनि प्रहरीले धरपकड गरेको थियो ।

विधेयकमा विभेदकारी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सरकारी डाक्टरहरुले सोमबार बीर अस्पतालदेखि माइतीघर मण्डलासम्म विरोध र्‍याली निकाले । र्‍यालीमा सहभागीहरुले ‘सरकारी चिकित्सकहरुलाई गाउँगाउँमा पठाऊ तर बँधुवा मजदुर नबनाऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

सबै चिकित्सकहरुलाई केन्द्र मातहत राख्न माग गर्दै उनीहरु आन्दोलनरत छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘हाम्रो एउटा मात्रै माग हो, त्यो भनेको सबै चिकित्सकहरुलाई संघीय सरकारअन्तर्गत राखी देशभर परिचालन गरियोस् ।’

उनले भारतलगायतका देशको उदाहरण दिँदै अन्तर्राष्ट्रिय परम्परा पनि यही नै रहेको तर्क गरे । स्थानीय तहमा सेवारत चिकित्सकहरुको वृत्तिविकासमा ध्यान नदिइएको आरोप उनको छ ।

डा. पाण्डेले अनलाइनखबरसँग भने, ‘संघीयता भनेको सिंहदरबारलाई गाउँ–गाउँमा लैजाने हो तर केन्द्रका केन्द्रमै रहिरहने र जो पहिलेदेखि नै गाउँमै सेवारत छन्, उनीहरुलाई गाउँमै सडाउने षड्यन्त्रअनुसार संघीय निजामती सेवा विधेयक आएको छ ।’

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment