Comments Add Comment

कथा : प्यारो आइतु !

Photo Credit : प्रकाश तिवारी (लेखक)

हिजो मात्र फौजदारी अभियोगमा सजायँ काट्दै गरेको एकजना रोगग्रस्त कैदीसँग कुराकानी भयो । ऊ पैँसठ्ठी वर्ष हाराहारीको जस्तो देखिन्थ्यो । अन्य कैदीहरू उसलाई ‘आइतु’ भनी बोलाउँथे ।

आइतु र ममा समानता र असमानता दुबै थिए । समानता यो मानेमा कि म पनि ऊ जस्तै कैदी थिएँ । असमानता त्यो अर्थमा, म फौजदारी नभई राजनैतिक बन्दी थिएँ ।

आइतुले तपाईं जेलभित्रको पट्यारलाग्दो समय कसरी काट्नुहुन्छ ? भनी मसँग सोध्योे ।

‘म समयलाई शब्दहरूमा कैद गर्छु । विचारका दुई सुक्ष्म डिब्बाहरू खोल्छु, शब्द घोल्छु । अनुभूतिको खिचडी पकाउँछु । अनि जतनसाथ कागजका ठेलीहरूमा बन्द गरेर राख्छु । मभित्र अतीत चियाइ हेर्छ । मभित्र वर्तमान खेल्छ । मभित्र ओरिपरीको समाज र यथार्थले आवाज दिन्छन् । खाली समय म तिनलाई मनका लय र भावमा उतार्छु । मनका ध्वनिहरूलाई कथा, कहानी वा गीत बनाई लेख्छु । कसैले नसुनेका अन्र्तआत्माकोे आवाज सुन्छु । शताब्दीयौँ देखिका मैला चित्रहरू धुन्छु, उजिल्याउँछु । पढ्न, हेर्न र बुझ्न सक्ने बनाउँछु । यसो गर्दा मलाई अपार आनन्द मिल्छ ।’ मैले यस्तै केही भन्दा उसले केही अप्यारिलो गरी कान थापिरहेको छ भन्ने महसुस मैले गरिरहेको थिएँ ।

आइतु छिनछिनमा खोकिरहन्थ्यो । भन्थ्यो, ‘औषधी खाइरहेको छु । जीवनरेखा धेरै लामो छैन मेरो ।’

उसले भुइँमा प्याच्च थुक्यो । खकारमा रगतको बाक्लो लेघ्रा देखिन्थ्योे । उसले थकित आवाजमा भन्यो, ‘म पनि लेखक बन्न चाहन्थेँ तर कहिल्यै मसीसँग बग्न सकिनँ । कलमको निवबाट जीवनका भोगाइहरू सुरक्षित गरी राख्न सकिनँ । चाहँदैमा हुने भए सबै लेखक बन्थे होलान् । साँचो लेखक कहिल्यै मर्दैन । म तपाईंको कलमको निवबाट टुकुटुकु हिँड्न चाहन्छु । पोखिन चाहन्छु । बग्न चाहन्छु । मेरो हिँड्ने, पोखिने, बग्ने चाहना पूरा गरी दिनुभयो भने तपाईं धन्य हुनुहुनेछ ।’

आइतुको अन्तर्आत्माको आवाज सुनेर मैले उसलाई कथाको आयामभित्र छिराउने अठोट गरेँ ।

आइतु बूढो बोल्दै गयो- ‘मभित्र प्रवाहित तरङ्गहरूलाई छेक्नु म भत्किनु हो । आफूले भोगेका झरी बादलहरूलाई नजरअन्दाज गर्नु स्वयंमा कृत्रिम बन्नु हो । म मेरो सफेद कपालमा कृत्रिम भष्म लेपन गरी अरूलाई उल्लु बनाउन सकूँला तर आफैले आफैलाई कसरी उल्लु बनाउन सक्छु ? त्यो पीडा थियो र म बोल्छु । त्यो पीडा निर्देश गर्छ र म देख्छु । म आफूलाई जीवनभर साथदिने प्यारो पीडाको बसमा छु ।

मेरो ओठको कृत्रिम मुस्कुराहटसँग एक बुँद पीडा हाँस्छ । ईटा, सिमेण्ट जोडी बनाएको घरभित्र मैले उपहार पाएको घृणा नाँच्छ । चाउरी परेका मेरा निधारका लम्बीकृत रेखाहरूले मैँले कोशेली पाएका अपहेलनाहरूको ताँती प्रस्तुत गर्दछ ।

घडीको टिकटिक आवाजसँगै समयले अग्रगामी छलाङ् हान्छ । एकजना विद्वान्लेे समयबारे भनेका थिए ‘मेन मे कम, मेन मे गो, बट आई गो फर एभर ।’ जीवन छोटो छ । वृद्धावस्थामा सुनाइने बाल्यकालका कथा कहानीहरू हिजै मात्र घटित भएजस्ता लाग्छन् तर पत्तै नपाई बाल्यकाल र वृद्धावस्थाबीचमा समयले लामो फड्को मारिसकेको हुन्छ । कुञ्जो बुढ्यौली लठ्ठीको सहारामा औँला भाँच्दै हिसाब गर्छ, मैँले जीवनमा यो गरेँ, यो गरिनँ । यसो गर्नु पथ्र्याे, त्यसो गरिनँ । यति गरेँ, यति गर्न सकिनँ ।

दिनको दुई पेज नै सही हरेक दिन जीवन्त साहित्यको जोहो गर्दै गएको भए वर्ष दिनमा सात सय तिस पेजको ग्रन्थले आकार पाउँथ्यो । तर हामीमध्ये कतिले ती उर्वर दिनहरूलाई समात्न सक्यौँ, कतिले सकेनौँ । कैयौँ दशकहरू अनुत्पादक र बेकार फाल्यौँ । जीवन कहिले फगत जिउनकै लागि जियौँ । कहिले पिउनकै लागि जियौँ । आलश्यमा जीवनको उन्नति खोज्यौँ । वैमनस्यतामा प्रगतिका खुड्किलाहरू तोड्यौँ । अरूको मृत्युलाई आफ्नो जीवन सम्झ्यौँ । अरूको प्रगतिलाई आफ्नो अवनति ठान्यौँ । हात बाँधी भाग्यलाई धिक्कार्‍यौँ । कर्महीन भै भगवान्लाई पुकार्‍यौँ । बुढ्यौलीमा तेस्रो नेत्र खुलेपछि घोर पछुताउ आउँदोरहेछ । हामी भन्न पुग्छौँ, समयको अग्रगामी धारालाई पछ्याउन सकेको भए म यो हुन्थेँ, त्यो हुन सक्थेँ । जीवनको उत्तरार्द्धमा पुगेपछि यसो भन्नुबाहेक अरूके नै गर्न सक्छौँ र !

तपाईं अध्यात्मवादी भए भन्न सक्नुहुन्छ, मर्नु फेरि जन्मनु हो । मत्र्यलोकका पुरा गर्न नसकेका कर्म परलोकमा फत्ते गरौँला । यस अनुत्तरित आशाको कमजोर त्यान्द्रो समाएर मन बुझाउनुु सिवाय तपाईं अरू के नै गर्न सक्नुहुन्छ ? तर निँदाउनु जाग्रत हुनु नभएजस्तै मर्नु फेरि बाँच्नु होइन । मृत्यु यात्रा हुन सक्दैन । मृत्यु अनन्त विश्राम हो । मृत्यु ढुङ्गो हो । मृत्यु पहरो हो । पहराले कहिल्यै चल्ला कोरलेको देख्नुभएको छ र ?

अभिव्यक्तिद्वारा मनलाई हलुका बनाउन सकिन्छ । दुईचार अक्षर पढेकाहरू मनोभावनाको लाठी टेक्दै मनलाई चङ्गा बनाउँछन् । तर यस समाजमा कैयौँ यस्ता मानिसहरू छन्, जो चाहेर पनि बोल्न सक्तैनन्, लेख्न सक्तैनन् । के तपाईं ले कहिल्यै बुझ्ने कोशिस गर्नुभएकोे छ ती शब्द विहीनहरूको शारीरिक इसारा ? कति पीडा, वेदना, छटपटी र उकुसमुकुस स्फुरित भएको होला उसको ईसारामा । भाषणबाजझैँ मञ्चमा उक्लेर पेटभरि कुर्लने धोको त्यो निशब्द मानवको कहिल्यै पूरा भएन । विविध प्राकृतिक, आर्थिक र सामाजिक कारणहरूले गर्दा संसारलाई पढ्ने, बुझ्ने र छाम्ने उसको धोको सँधै अपुरो रहृयो । अभिव्यक्तिहीन हुनु पशुसमान जिन्दगी जिउनु हो । एउटा पशु पारिवारिक वियोगमा शोककाव्य लेख्न सक्दैन । आफन्तको अन्त्येष्टिमा सहभागी बन्दैन । मालिकको दाम्लोमा बाँधिनु, उसले दिएको घाँसमा दङ्ग पर्नु नै पशुको नियति हो ।

यहाँ कोही आजन्म दृष्टिहीन भई बाँच्छ त कोही निशब्द, विकलाङ्ग जिन्दगी जिउँछ ! हाम्रा धर्मग्रन्थ, पुराणहरूको परिभाषामा तमाम विकलाङ्ग, शब्दहीन, श्रवणहीन, गरिब, भोका-नाङ्गा, महारोगीहरू पूर्वजन्मका पापी हुन् ! जसले यस जन्ममा करनीको फल भोगिरहेछन् । यस जुनीमा अबौँअर्ब कुम्ल्याउन सफल हुनेहरू पूर्वजन्ममा सत्कर्मको लाइसेन्सधारी महामानव ! तमाम शोषित, पीडित, दलित, उत्पीडित, दृष्टिविहीन, विकलाङ्ग, दीनहीनहरू उस जन्मका घोर पापी ! कति निठूरी छाति अध्यात्मका रचयीताको ! तिनी झुपडीतिर चोर औँला देखाउँदै आलिशान महलको आरती उतार्छन् ! तिनी बाचाल भाषणबाजलाई दोसल्ला ओढाउँदै आर्तहरूलाई दुष्टात्माको पगरी गुथाउँछन् !’

आइतु धाराप्रवाह बोली रहेको थियो, ‘जेलभित्रका सबै बन्धक अपराधी होइनन् । त्यसो त सडकमा डुक्रिँदै हिँड्ने सबै सुकिलामुकिला साँढेहरूलाई सज्जन भन्न कहाँ सकिन्छ र ? समयले रत्नाकरलाई वाल्मीकि बनायो । वाल्मीकिहरू रत्नाकर भए ।’

आइतुले यति मात्र के भनेको थियो ऊ गर्लम्म ढल्योे अनि अन्तिम सास लियो । भिड पन्छ्याउँदै जेलर आइपुग्योे । पण्डित बोलाइयो । वैदिक मन्त्रोच्चारणसहित पण्डितले आइतुलाई नर्कको स्थानान्तरण पत्र बुझायो । नजिकैको अग्लो रुखबाट एकहुल गिद्धले कर्कस ध्वनि निकाल्यो- ‘नर्क आइतुको स्वागतको लागि तम्तयार छ ।’

मृत्युसगै आइतु बूढो स्वतन्त्र भयो । ऊमाथि सोझिएका राइफल र संगीन हटे । मलाई एकाएक खलिल जिब्रानको भनाइ याद आयो- ‘मर्नु के होला र ! हावामा नग्न उभिनु । घाममा बरफझैँ पग्लनु ।’

खलिल जिब्रानले भनेजस्तै आइतु हावामा अदृश्य भै उभियो । घाममा बरफझैँ पग्लियो ।

मैँले राति गजवको सपना देखेँ । सपनामा आइतुको मृत शरीर पुष्प मालाहरूमा पुरिएको थियो । लम्पसार उसको अनुहारमा अद्भुत चमक थियोेेे । मानिसहरू भन्दैथिए- ‘ऊ पुण्यात्मा हो । ऊ महात्मा हो । ऊ लाखौँमा एक हो ।’

जयजयकारसहित उसको शवयात्रामा हजारौँ मानिस सामेल भए । चिरस्मरणीय याद छोडेर आइतु बिदा भयो । ऊ मरे पनि मैँले कलमको निवबाट टुकुटुकु हिँड्ने उसको धोको पूरा गरेँ ।

आइतु तिमी मेरो कथाका एक महान पात्र हौ । तिमी नर्फकने गरी गए पनि भोली कसैलेे मेरो कथाको पाना पल्टाउँदा तिमी फेरि फर्की आउनेे छौ । पाठकले तिम्रो यादमा एक बुँद आँसु खसालिदिए तिमी तृप्त हुने छौ । सदासर्वदा जीवित रहनेछौ । प्यारो आइतु तिमीलाई दर्विलो अभिवादन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment