Comments Add Comment

सारंगीको धुन पछ्याउँदै साकिराको देशदेखि बाटुलेचौरसम्म

बिहे, व्रतबन्ध, झ्याउरे धुन सुनाउँदै एरिक भन्छन्, सांरगीबारे नेपालीलाई नै थाहा छैन

२७ माघ, पोखरा । थिएटरको अँध्यारो कोठा । बीचबीचमा बल्ने उज्यालो दृश्य । झल्याकझुलुक बल्ने बत्तीमा स्टेजमा देखिन्छ पुरानो शैलीका माटाका घर । कोठाभरि लुङदर । हेर्दा आकासैमा टाँगिएजस्तो । घरको अघिल्तिर केही विशिष्ट व्यक्तिका पोट्रेट फोटो छन् । जस्तो कि अरुणा लामा, नारायण गोपाल, अशोका आदि इत्यादि ।
स्टेजमा उक्लिए एक खैरो वर्णका विदेशी नागरिक । तर उनले हातमा समाएका थिए – नेपाली वाद्यवादन सारंगी । बिस्तारै आˆनो परिचय दिए – ‘नमस्कार सबैलाई । मेरो नाम एरिक बोङकाम । मेरो घरचाहिँ दक्षिण अमेरिका कोलम्बिया हो ।’

पोखरामा लाइभ एफएमले गरेको पोखरा लिट्रेचर फेस्टिबलमा एरिकले सारंगी रेटेर धुनमात्रै बजाएनन्, गन्धर्व जातिबारे तथ्य पनि बाहिर ल्याए । ‘सारंगी एउटामात्रै यस्तो बाजा हो । जसमा एक ठाउँ पनि धातू प्रयोग भएको छैन । मैले देखेकामध्ये सबैभन्दा यही प्राकृतिक नेेपाली बाजा हो,’ ढिलो तर सकेसम्म शुद्ध उच्चारण गर्दै उनले भने, ‘यसको विशेषताबारे नेपालीलाई नै थाहा छैन ।’

संगीतमा एरिकले डिग्री गरिसकेका छन् । यसबाट पनि उनलाई संगीतप्रति कति रुचि छ भन्ने कुरा थम्याउँन सकिन्छ । करिब ४ वर्षपहिले मेक्सिकोमा एक भारतीयले सारंगी बजाएको देखेर उनलाई त्यससँग माया बसेको सुनाए । ‘सारंगी मन परेपछि यसबारे खोजी गर्दा नेपालको मौलिक बाजा भन्ने थाहा पाएर आएँ,’ उनले भने, ‘साह्रै प्राकृतिक धुन निस्किन्छ । तर पछिल्लो समय यसको प्रयोग कतै भएको देख्दिनँ ।’

एरिकले आफू पनि अरुले बजाएको देखर प्रभावित भएको बताउँदै नेपाली युवालाई पनि त्यसबारे सिकाउनुपर्ने सुझाव राखे । उनले भने, ‘मैले यहीँ आएपछि थाहा पाएँ । यो बाजा गन्धर्व जातिसँग एकदमै नजिकको सम्बन्ध रहेछ ।’ पहिले सारंगी बजाउन नजान्ने गन्भर्वको बिहे नै नहुने गरेको तथ्य बाहिर ल्याउँदै उनले अहिले सो परम्परा हटिसकेको सुनाए ।

फेस्टिबलमा उनले गन्धर्वकोे बिहे व्रतबन्धमा बजाउने धुन र झ्याउरे धुन बजाए । उनले सारंगी बजाउँदा दर्शकदिर्घामा शान्त छाएको थियो । सबैले उनले सारंगी बजाएको टोलाउँदै हेरिरहेको देख्न सकिन्थ्यो ।

फेस्टिबलमा दर्जनभन्दा बढी विभिन्न सेसन भए । महिला अधिकारवादी सावित्री गौतमले साहित्यको भित्र र बाहिर सेसन चलाइन् । उनले धर्मग्रन्थदेखि नै नारीलाई तल्लोस्तरमा राखेको बताइन् ।

सुदूरपश्चिमका नीरज पन्थले सुदूरपश्चिेमी शैलीमै आˆना भोगाइ सुनाए । उनले पोखराजस्तै सुदूरपश्चिम पनि प्राकृतिक रुपमा एकदमै धनी भएकाले सबैले घुम्नुपर्ने बताए । ‘पहिले सुदूर थियो । तर, अहिले सुन्दर पनि भइसकेको छ,’ उनले भने । ‘मेन्टर हेल्थ’ सेसन चलाएका हृवाट द बुक क्लबका सदस्यले अभिभावक र सन्तानबीच गहिरो खाडल बन्दै गइरहेको औंल्याए ।

भात पकाउँदा गिलास र थाल बजाउँथें

फेस्टिबलमा इतु पाल जोजिजूलाई अरुणा थापा सम्मान र बिनोद बानियाँलाई स्वर सम्राट नारायण गोपाल सम्मान दिइएको थियो । भिन्नाभिन्नै सेसन चलाएका उनीहरुले आफूले संगीत सुरु गर्दाताका दिनदेखि आजसम्मको भोगाइ र अनुभव सुनाए ।

‘सानो हुँदा म बज्ने डेस्कमा र बजाउँथें । भात पकाउँदा गिलास र थाल बजाउँथें । बाटोमा भएका काठका पोल बजाएर संगीतको आनन्द लिन्थें,’ गायक विनोद बानियाले भने, ‘त्यसपछिका दिनमा गीत गाउन थालिसकेपछि १८ वर्ष साँझमा आमासँग बसेर खाना नखाएको रहेछु । अब परिवारलाई समय दिँदैछु ।’ गायिक जोजिजूले सुगमसंगीतकोल स्तरियता हराउँदै गएको दाबी गरिन् ।

कार्यक्रममा मञ्जुश्री सेसन, कवि सञ्जिव पौडेलले तीन घुम्ती, विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले वैकल्पिक राजनीतिमा चुनौतीहरु र वसन्त गौतम र दीपक पराजुलीसमेतले प्रस्तुति राखे । भाषामा कविता सेसनमा कविले मातृभाषामा कविता वाचन गरेका थिए ।

-विकास रोकामगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment