Comments Add Comment

संसदीय समिति सरकारको भातृ संगठन जस्तो भयो : अमरेशकुमार सिंह

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदको राज्य व्यवस्था तथा सुशासन समिति सरकारको भातृसंगठन जस्तो बन्न पुगेको आरोप लगाएका छन् । सांसद सिंह आफैँ उक्त समितिका सदस्य हुन् ।

आइतबार समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न भन्दै बैठक बोलाएको थियो । उक्त बैठकमा भाग लिँदै सांसद सिंहले जनताको जनसरोकारको विषयमा छलफल नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘खाली विधेयकको आएको बेलामा मात्रै समिति बस्ने र त्यसैमा मात्रै छलफल गर्ने र त्यो पनि लामो गर्ने ?’ सिंहले भने, ‘समितिमा जनसरोकारको विषयमा पनि छलफल हुनुपर्छ ।’

जनसरोकारका विषयमा छलफल नहुने र अहिलेकै अवस्थामा समिति अगाडि बढिरहने अवस्था आए समितिमा नबस्ने उनको चेतावनी छ । उनले भने, ‘म मिडियाको अगाडि नै भन्छु यस्तै हो भने म समिति चेञ्ज गरेर जान्छु ।’ उनले समितिमा आएका विधेयकमाथिको छलफल लम्ब्याउने काम भइरहेको गुनासो गरे ।

‘या त हामी तय गरौं समिति सरकारको भातृ संगठन हो भनेर’, ब्यङग्यको शैलीमा सिंहले थपे, ‘सरकारको काम छ भने मात्रै हामी समिति बस्ने ? म सरकारको भातृ संगठनको सदस्य भएर बस्न चाँहन्न ।’

नागरिकता विधेयक वा राष्ट्रिय परिचयपत्रका विषयमा छलफल हुँदा नेपालको राष्ट्रियता लिएर कोही भाग्ला भन्ने ढङ्गले छलफल हुने गरेको भन्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गरे । ‘

उनले भने, ‘जहाँ भुमीहिन छन्, मुसहर छन्, चमार छन्, जसको भोटबाट हामी जितेर आएका छौं । उसको जन्म दर्ता भएको छैन । नागरिकता छैन । परिचय पत्र पनि छैन । त्यसको बारेमा छलफल भएको छैन ।’

टाठाबाठाले नै नेपालको राष्ट्रियता बेचीरहेको उनको अर्को आरोप छ । उनले थपे, ‘जो बढी राष्ट्रवादको चर्चा गरिरहेछ उसैले राष्ट्रलाई बेचेको छ । हुनेखाने, एनजिओबाट डलर लिनेले नदीनाला बेचेको छ । हुम्ला जुम्लाका गरिवहरु र विश्वकर्माले राष्ट्र बेचेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment