Comments Add Comment

रिह्याबमा घिमिरेको हत्या भएको निष्कर्ष, ५ जनाविरुद्ध ज्यान मुद्दा

उत्तेजित भएपछि शान्त पार्न पिट्यौं : आरोपित

२९ माघ, काठमाडौं । ललितपुरको महालक्ष्मी–४ मा रहेको ‘वि केयर’ पुनर्स्थापना केन्द्रमा ४३ वर्षीय सीताराम घिमिरेको हत्या भएको निष्कर्ष निकाल्दै ५ जनाविरुद्ध प्रहरीले ज्यान मुद्दा दायर गर्ने तयारी गरेको छ ।

यसअघि ६ माघमा केन्द्रमा भर्ना गरिएका दोलखा वैतेश्वर–६, नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको शंकास्पद मृत्यु भएको थियो । कुटपिटबाट उनको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएपछि सञ्चालक सोलुखुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्मा, वार्डेन झापाको बिर्तामोड–४ का ४८ वर्षीय सुनिल खड्का क्षेत्रीसहित केन्द्रमा बसिरहेका थप ३ जनामाथि मुद्दा चल्ने भएको हो ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोतम मिश्रका अनुसार केन्द्रमै बसेका कीर्तिपुरका सुधीर कार्की, सिन्धुपाल्चोकका मुकुन्द केसी र दोलखा घर भइ जोरपाटी बस्दै आएका विकास सुवेदीविरुद्ध पनि ज्यान मुद्दा चल्ने भएको छ ।

घटना सार्वजनिक भएलगत्तै प्रहरीले सञ्चालक र वार्डेनलाई पक्राउ गरेको थियो भने कार्की र केसी फरार थिए । दुईजनालाई अघिल्लो साता शनिबार पक्राउ गरेपछि वयान लिने क्रममा सुवेदी पनि घटनामा जोडिएका थिए ।

‘दुई जना समातिएपछि सुवेदी पनि फरार भएका थिए’, अनुसन्धान अधिकारीहरु भन्छन्, ‘उनलाई सोमबार बिहान पक्राउ गरिएको हो ।’ हाल पक्राउ परेका सबै जना सातदोबाटो प्रहरीको हिरासतमा छन् ।

यस्तो थियो घटना

अत्यधिक मदिरा सेवन गरेर दुःख दिएका कारण परिवारले घिमिरेलाई ३ माघमा पुनर्स्थापना केन्द्रमा भर्ना गरेका थिए । तर, ६ माघमा एक्कासि उनी गम्भीर बिरामी भएको खबर सुनेपछि परिवारका सदस्यहरु आत्तिए ।

उनलाई लगिएको स्टार हस्पिटलमा परिवारका सदस्य पुग्दा घिमिरेले प्राण त्यागिसकेका थिए । शरीरको अवस्था हेरेर परिवारले उनको मृत्युलाई प्राकृतिक मान्न सकेन । र, प्रहरीमा किटानी जोहरी दियो ।

ललितपुरस्थित पाटन अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टले पनि शरीरमा चोटपटक, निलडाम र करङ्ग भाँच्चिएको देखायो । यद्यपि, रिपोर्टमा मृत्युको कारण ‘अन आइडन्टिफाइड’ लेखिएको थियो ।

प्रहरीले केन्द्रमा रहेका अन्य व्यक्तिसँग लिएको वयान, सोधपुछ र विस्तृत अनुसन्धानबाट उनीमाथि कुटपिट भएको निष्कर्ष निकालेको थियो । प्रहरीसमक्ष दिएको बयानमा सञ्चालकले पनि घिमिरेमाथि कुटपिट भएको स्वीकारेका थिए ।

‘कहिले काहीँ नपिटी हुँदैन । सम्झाउन दुई/चार झापड लाउँथ्यौं’, शेर्पाले भनेका थिए, ‘तर, त्यसरी ज्यानै जाने गरी पिटेका छैनौं ।’ पछि थप दुई जना पक्राउ परेसँगै कुटपिटको थप रहस्य खुलेको थियो ।

‘उत्तेजित भएपछि शान्त पार्न पिट्यौं’

पछिल्लो समय पक्राउ परेका व्यक्तिले घिमिरे एक्कासि उत्तेजित भएपछि उनलाई नियन्त्रणमा लिन पिटेको वयान दिएका छन् ।

‘दुइटा केटाहरुले पनि कुटपिट गरेको स्वीकारेका छन् । उनीहरुकै वयानका आधारमा अर्का व्यक्ति पनि तानिए’, एक अनुसन्धान अधिकारी भन्छन्, ‘एग्रेसिभ भएपछि कुटपिट गर्नु परेको आरोपितको बयान छ ।’

आरोपितहरुले ज्यानै मार्ने नियतले नभई नियन्त्रणमा लिन कुटपिट गर्दा भवितव्यमा परी ज्यान गएको आशयको वक्तव्य प्रहरीलाई दिएको स्रोतले बतायो ।

घिमिरेलाई केन्द्रमा राखेवापत् प्रतिमहिना १५ हजार रुपैयाँ बुझाइने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment