Comments Add Comment

प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिको सदस्य हेरफेर

२९ माघ, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यको हेरफेर गरिएको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आर्चायको ठाउँमा बाँकेका बाबुराम गौतम र बर्दियाको दिपेश थारूको ठाउँमा रुकुुमका तेजप्रसाद ओलीलाई राखेको हो ।

१५ सदस्यीय सो समितिले तीन महीनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्ने भनिए पनि करीब पाँच महिना बितिसकेको छ ।

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिको नाम हेरफेरको विषयलाई लिएर केही दिनअघि नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सञ्चालन गर्न अवरोध खडा गरेको थियो ।

त्यस्तै मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश ५, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिँदै सांसद नारायणप्रसाद आर्चायले उत्खनन क्षेत्रमा जटिलता भएको उल्लेख गर्दै वातावरणीय पक्षलाई ध्यान दिएर खानी उत्खनन गर्न आग्रह गरे ।

सांसद डिल्ली चौधरीले उत्खनन गर्दा पानीको स्रोतलाई बचाउनुपर्नेमा जोड दिँदै खानी उत्खनन गर्दा पहिलो प्रयोगकर्ता स्थानीय हुनपर्ने बताए ।

प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पानीको मुहान संरक्षण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment