Comments Add Comment

छापामा आज : वकिलबाट ठगिए सर्वोच्चका पूर्वन्यायाधीश

१ फागुन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले द्वन्द्वकालीन मुद्दामा अन्तर्राष्ट्रिय समुदायले देखाएको चासोदेखि व्यावसायिक रुपमा सेनाले थालेको जग्गा प्लटिङमसम्मका विषयलाई प्राथमिकताका साथ उठाएका छन् । त्यस्तै वकिलबाटै सर्वोच्चका न्यायाधीश ठगिएको, २ करोड धरौटी बुझाएर गोपाल खड्का छुटेको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।

कारोबारले नेपालीलाई १ खर्बको जलविद्युत् सेयर दिन लागिएको लेखेको छ भने अन्नपूर्णमा ४ सय वर्ष पुरानो वृक्ष चोरिएको सामग्री छ ।

केही दिनदेखि सेनाभित्रका बेथितिको समाचार सार्वजनिक गर्दै आएको नयाँ पत्रिकाले आज पनि सेनाभित्र मौलाएको पेशागत मर्यादाविपरीतका गतिविधिको चर्चा गरेको छ । समाचार अनुसार, देशको भूमिरक्षा गर्ने दायित्व बोकेको राष्ट्रिय सेना इन्चीटेप बोकेर कित्ताकाट गर्दै घडेरी बेचबिखनमा लागेको छ । जग्गा प्लटिङसँगै पेट्रोलपम्प, सडक ठेक्कालगायतमा देखिएको सेनाको संलग्नतालाई सुरक्षाविद्हरुले गलत भएको बताएका छन् ।

‘वकिलबाटै ठगिए सर्वोच्चका पूर्वन्यायाधीश’ शीर्षक दिएर नयाँ पत्रिकाले अर्को खबर पनि लेखेको छ । समाचार अनुसार, आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अभिवक्ता गोपाल सिवाकोटी चिन्तनले कानूनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै सर्वोच्चका पूर्वन्यायाधीश लगायतलाई ठगेका हुन् ।

नयाँ पत्रिकाका अनुसार २ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीबहादुर थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका सर्वोच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरु कृष्णबहादुर भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनालीलगायत पीडित बनेका छन् ।

एसईईका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक छापिन लागेको खबर पनि नयाँ पत्रिकामा छ । प्रदेशअनुसार फरकफरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

कान्तिपुरले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरुले संक्रमणकालीन न्यायको त्रुटिपूर्ण प्रक्रिया सच्याउन आग्रह गरेकोलाई मुख्य समाचार बनाएको छ । एमनेस्टी इन्टरनेशनल, अन्तर्राष्ट्रिय न्यायलय र ट्रायल इन्टरनेशनलले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्यायलाई पहिलेजसरी त्रुटिपूर्ण ढंगले अघि नबढाउन आग्रह गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै जनयुद्धको सम्झना धुम्बाराहीमा हुन लागेकोदेखि सुन काण्डमा थप दुई न्यायाधीश जनक पाण्डे र साधुराम सापकोटा तानिएकोसम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

नागरिकले नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको लेखेको छ । त्यस्तै सुपर कम्प्युटरले काम नपाएको खबर पनि नागरिकमा छ ।

अन्नपूर्णले नेकपाको जम्बो केन्द्रीय समितिको प्रभावकारिताबारे चर्चा गरेको छ । अन्नपूर्णका अनुसार, नेकपाको जम्बो समिति कामयाबी बन्न सकेको छैन ।

प्रस्तावित संघीय निजामती ऐनबारे पनि अन्नपूर्णले आज समाचार बनाएको छ । अन्नपूर्णका अनुसार कर्मचारी कस्ने गरी उक्त ऐन आएको छ ।

जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैंचाबाट ४ सय वर्ष पुरानो बोनसाई (आकारमा ल्याइएको वृक्ष) चोरिएकोलाई अन्नपूर्णले एंकर बनाएको छ । अरु ६ वटा रुखसमेत चोरिएका छन् ।

सरकारले ५ वर्षमा थिति बसाल्छ भनेर प्रधानमन्त्रीले जनाएको प्रतिबद्धतालाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment