Comments Add Comment

भरतपुर अस्पतालको ‘सी ब्लक’ निर्माणको २५ प्रतिशत काम सकियो

२ फागुन, चितवन । भरतपुर अस्पतालको महत्वकांक्षी भवनका रुपमा रहेको ‘सी ब्लक’ निर्माणको २५ प्रतिशत काम सकिएको छ । भवनलाई तीन खण्डमा विभाजन गरी काम थालिएको हो ।

तीन खण्ड मध्ये दुई खण्डको दोस्रो तला ढलान गर्ने तयारी भैरहेको छ । फागुन ७ गते दोस्रो तला ढलान गर्ने योजना रहेको अस्पतालका तर्फबाट काम गरिरहेको इन्जिनियर उपेन्द्र सुवेदीले जानकारी दिए ।

पहिलो ढलान भएको ठाउँमा वाल लगाउने काम थालिएको छ । बाँकी एक खण्डमा लोअर बीमको काम सकिएको छ । इन्जिनियर सुवेदीले भने, ‘बीचमा काम अवरोध भएपनि अहिले स्पीड लिएको छ । दैनिक २०/२५ जना कामदारले नियमित काम गरिरहेका छन् ।’

अस्पतालको डायगोनेष्ट्रिक भवनका रुपमा रहेको सी ब्लकको निर्माणको जिम्मा आशिष श्यामसुन्दर प्रतिष्ठा जेभीले लिएको छ । ठेकेदारका तर्फबाट भवन हेर्ने इन्जिनियर सुवास पोखरेलले आगामी असार भित्र ढलानको सबै काम सकिने दावी गरे । सम्झौताको म्याद सकिन जम्मा ९ महिना मात्रै बाँकी छ ।

निर्माणाधीन सी ब्लक

ठेकेदार तर्फका इन्जिनियर सुवास पोखरेलले भवन निर्माण गर्ने स्थानमा खानेपानीका पाइप, बिजुलीका लाइन र खानेपानीको ट्यांकी भएका कारणले निर्माणमा ढिलाई भएको दावी गरे । उनले निर्धारित मितिभित्र काम नसकिने भएकोले म्याद थपका लागि पहल गरिने बताए । ६ देखि ९ महिनासम्म म्याद थप हुन सक्ने इन्जिनियर पोखरेलको भनाई छ ।

३० महिनाभित्र भवन निर्माण गरिसक्ने गरी २०७३ बर्ष जेठ २८ गते सम्झौता भएको थियो । अस्पतालले भवन बनाउने साइड क्लियरेन्स समयमा नै नगरेका कारण ढिलाई भएको दावी ठेकेदारले गर्दै आएका छन् ।

ठेकेदारले पहिलो किस्ता वापत ४ करोड २४ लाख मोविलाइजेसन पेश्कीमा रुपमा लिएको छ भने दोस्रो किस्ता ३ करोड गरी ७ करोड २४ लाख रकम ठेकेदारले भुक्तानी लिएको छ । चालु आर्थिक बर्षमा भवन निर्माणका लागि २ करोड रकम आएको  थियो ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले सी ब्लकको काम पछिल्लो दिनमा केही अघि बढेको बताए । कुल २४ करोडको लागतमा निर्माण गर्न लागिएको भवनको २० प्रतिशत हुन आउने रकम ४ करोड ८० लाख अस्पताल विकास समितिले र ८० प्रतिशतको १९ करोड २० लाख नेपाल सरकारले व्यहोर्ने छन् ।

भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओगट्ने छ । भवनको तल्लो भूई तलामा सिटी स्क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे, ईसीजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोस्कोपी लगायतका सेवा सुविधा उपलब्ध हुने छन् ।

दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छन् । भवनको तेस्रो तलामा डायलासिस् सम्वन्धी काम हुने छ ।

२०७३ असोज ६ गते तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले टेण्डर नहुँदै भवन निर्माणको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment