Comments Add Comment

सात महिनामा २७ बलात्कार, बालिकाको संख्या बढी

एसपी ढकाल भन्छन्– घटना लुकाउन खोज्ने प्रवृत्ति अझै हाबी छ

२ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ता बस्ने ३४ बर्षीया महिलालाई गत माघ १७ गते साढे ७ बजेको समयमा दुईजना पुरुषले जर्बजस्तीकरणी गरे । बोलिस् भने मारिदिन्छु भन्दै धाकधम्की दिई पालैपालो करणी गरेको महिलाको भनाइ छ ।

प्रहरीले घटनामा संलग्न रहेको अरोपमा वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवा बस्ने ४० बर्षीय मतलुब मियाँ र वीरगञ्ज महानगरपालिका वडा नं २० हरपतगञ्ज बस्ने ३२ बर्षीय सम्सोद्दिन अन्सारीलाई पक्राउसमेत गरेको छ । घटनापछि फरार भए पनि प्रहरीले खोजेर पत्ता लगाई ल्याएका उनीहरु विरुद्ध जर्बजस्तीकरणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसअघि माघ महिनाकै १२ गते साँझ ६ बजे वीरगञ्ज महानगरपालिका वडा नं १४ मा तीन बर्षीया बालिकाको बलात्कार भएको थियो । घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं ११ बस्ने २० बर्षीय सुनिल चौहान पक्राउ परेका छन् । बालिकालाई चकलेट दिन्छु भनी ललाई फकाई वीरगञ्ज महानगरपालिका १६ स्थित अनिल कुमार गुप्ताको खाली जग्गामा लगेर सुनिलले जर्बजस्ती करणी गरेको दाबी प्रहरीले गरेको छ । उनीमाथि पनि अनुसन्धान जारी छ ।

माघ ३ गते पर्सागढी नगरपालिका वडा नं ३ विरुवागुठी बस्ने ९ बर्षीया बालिकामाथि जर्बजस्तीकरणीको घटना भयो । सोही गाउँका ३५ बर्षीय दिपेन्द्र सहनीले जर्बजस्ती करणी गरेको उजुरी पर्‍यो । प्रहरीले दीपेन्द्रको खोजी गरिरहेको छ ।

यी केही प्रतिनिधि घटनामात्रै हुन् । पर्सा जिल्लामा चालु आर्थिक वर्षको ७ महिनामा २७ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमा पीडित हुनेहरु अधिकांश २५ बर्ष भन्दा कम उमेरका महिला छन् ।

१६ बर्ष भन्दा कम उमेरका ३ जना, १६ देखि २५ बर्षसम्मका १२ जना, २६ देखि ३५ बर्षसम्मका ४ जना, ४६ देखि ६० वर्षसम्मका १ जना माथि बलात्कार भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा १६ बर्ष मुनिका ९ जना बालिका बलात्कृत भएका थिए । १६ देखि २५ वर्ष उमेरका ४ जना र २६ देखि ३५ बर्षसम्मका एक जना बलात्कृत भएका छन् । त्यस्तै ३६ देखि ४५ बर्षसम्म र ४६ देखि ६० वर्षसम्मका १/१ जना गरी जम्मा १६ वटा जर्बजस्ती करणीका घटना भएको प्रहरीको भनाइ छ ।

यीमध्ये थोरै घटना बाहेक अधिकांश घटनामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बालिकाहरु शारीरिक र मानसिक दुवै हिसाबले कमजोर हुने भएका कारण यौन जन्य कसुरको शिकार बन्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । बालिका बलात्कारका घटनाको अनुसन्धानमा समेत कठिनाई हुने गरेको उनीहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक ज्ञानकुमार महतो कमजोर हुने भएकोले नै बालिकालाई जर्बजस्ती करणीको शिकार बनाउने गरेको बताउँछन् । ‘बालिकाहरु नाजुक अवस्थाका हुन्छन्, शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन्, सजिलै फकाउन सकिन्छ भन्ने सोचेर नै उनीहरुले बालिकाहरुलाई फकाएर जर्बजस्ती करणी गरेको पाइन्छ,’ उनले भने ‘कम उमेरका बालिका यौन जन्य हिंसाको शिकार हुँदा डराएको अवस्थामा हुन्छन्, बोल्न गाह्रो मान्छन्, लाज मान्छन् । सत्य कुरा बाहिर नआउँदा अनुसन्धान र दोषीलाई कारबाहीमा ल्याउन पनि समस्या हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्सामा आएका जर्बजस्तीकरणी सम्बन्धी मुद्दाको तथ्यांकलाई केलाउँदा विवाहित महिलाको तुलनामा कम उमेरका बालिका र किशोरीहरुमाथि जर्बजस्ती करणी भएको घटना धेरै रहेको प्रहरीको भनाइ छ ।

घटना लुकाउन खोज्ने प्रवृत्ति अझै हाबी छ : प्रहरी उपरीक्षक ढकाल

२० वर्ष उमेर पुगेका महिला र पुरुषबीच सहमतिमा यौन सम्बन्ध हुने, तर परिवारले थाहा पाएपछि उजुरी दिन आउने, कतिपयले बार्गेनिङका लागि जर्बजस्तीकरणी जस्ता गम्भीर अरोप लगाउने समेत गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल सकेसम्म स्थानीय स्तरमै मिलाउन खोज्ने र त्यसपछि ढिलो गरी प्रहरीकोमा आउँदा अनुसन्धानमा समस्या हुने गरेको बताउँछन् ।

‘गाउँघरमा चाहे विवाहखर्चका नाममा होस वा अरु कुनै नाममा, आर्थिक लेनदेन गरेर बलात्कारका घटना मिलाउन खोज्ने गरिन्छ । त्यसो हुन नसकेको खण्डमा मात्रै प्रहरीकोमा आउने प्रवृत्ति हावी छ ।’

प्रहरी उपरीक्षक ढकालले अनलाइनखबरसँग भने ‘तत्काल प्रहरीमा दरखास्त नदिँदा सबुत प्रमाण नष्ट भइसकेको हुन्छ, ढिलोगरी प्रहरीकोमा आउँदा कसुरदारले उन्मुक्ति पाउने सँभावना बढी हुन्छ ।’

त्यसैगरी खुल्ला सीमानाका कारणले पनि आरोपीहरु छिट्टै भागेर भारततिर गएर लुक्ने गरेको ढकाल बताउँछन् ।

पर्साको धोरेमा केही दिन पहिले एक बालिकाको बलात्कार भयो । सबैभन्दा पहिले उनका बुवालाई खबर भयो, उनी बाहिर काम गर्दै थिए, घर पुग्दासम्म अपराधी फरार भइसकेछ’ ढकालले भने ‘त्यसपछि प्रहरीकोमा खबर भयो, त्यतिबेलासम्म उ सीमा पारी पुगिसकेछ ।’

प्रहरीमा आएका मुद्दामा समेत ‘भिक्टिम होस्टाइल’ को समस्या पनि आउने गरेको प्रहरी उपरीक्षक ढकालको भनाइ छ । उनी भन्छन् ‘पर्सामा प्रहरीले सामुदायिक प्रहरी साझेदारी अभियानअन्र्तगत स्थानीय पालिकासँग मिलेर सचेनामूलक अभियान सञ्चालन गरिरहेको छ ।’

अपराध संहितामा हद म्याद सम्बन्धी व्यवस्था

प्रहरीले ढिलो उजुरी आएको गुनासो गरे पनि कति ढिलो भन्ने खुलाएको छैन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२९ मा गरिएको हदम्याद सम्बन्धी व्यवस्थामा हाडनातामा करणी अन्तर्गतको कसूरमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ भनिएको छ ।

जवर्जस्ती करणी, थुनामा रहेको व्यक्ति, आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिमाथि हुने यौन दुव्र्यवहार, कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँगको दुव्र्यवहार, बालयौन दुरुपयोग अन्तर्गतको कसूरमा एक वर्षभित्र उजुरी गर्न सकिन्छ । अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन भन्ने अपराध संहितामा व्यवस्था छ ।

थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्तिविरुद्ध कसूर भएकोमा थुना वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिनाभित्र उजुरी गर्न सकिने प्रावधान छ । प्रहरीले ढिलो उजुरी आउँदा अनुसन्धानमा कठिनाइ भईरहेको गुनासो गरिरहँदा कानुनमा हदम्याद बढी नै राखिएको देखिन्छ ।

के छ नयाँ मुलुकी ऐनमा सजाय सम्बन्धी व्यवस्था ?

भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरमा करणी सम्वन्धी अपराधलाई गम्भीर अपराध मानी सजायँमा समेत वृद्धि गरिएको छ । उमेर, नाता र अवस्था हेरी सजायको मात्रा कायम गरिएको छ ।

उमेरको आधारमा हुने जबर्जस्तीकरणीमा समेत सजायँमा मुलुकी ऐनमा भन्दा वृद्धि गरिएको छ । १६ वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म, १० वर्षदेखि माथि १४ वर्ष भन्दा कम उमेरकी बालिका भए १४ वर्ष देखि १६ वर्ष सम्म, १४ वर्षदेखि १६ वर्ष भन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म, १६ वर्षदेखि माथि १८ वर्ष भन्दा कम उमेरकी बालिका भए १० वर्षदेखि १२ वर्ष सम्म र १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्ष देखि १० वर्ष सम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ ।

विगतमा १६ वर्ष भन्दा कम उमेरको लाई मात्र बालबालिकाको परिभाषाभित्र राखिएकोमा नयाँ कानूनमा १८ वर्ष भन्दा कम उमेरको बालबालिकालाई बालबालिका मानेको छ । तसर्थ १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई बालिकाको मञ्जुरी लिएर करणी गरेको भए पनि जर्बजस्ती करणी गरेको मानी सजायँको भागिदार हुनुपर्नेछ ।

पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजायँको व्यवस्था गरिएको छ । कानुनको अनविज्ञता क्षम्य हुँदैन भने पनि अधिकांश नागरिकलाई यसबारेमा थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment