Comments Add Comment

प्रेम दिवसमा सुनसान छ नेपालको ‘ताजमहल’

कालीगण्डकी किनारको रानीमहलमा कहिले फुल्ला गुलाफ ?

२ फागुन, बुटवल । आज फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन्स डे । विदेशी संस्कार भए पनि यसबाट नेपालीहरु पनि अछुतो छैनन् । आधुनिकतासँगै युवापुस्तामा प्रणय दिवसले स्थान बनाइसकेको छ ।

प्रणय दिवसका दिन प्रेमिल जोडीहरु पार्क, उद्यानमा भरिभराउ हुन्छन् । तर, प्रेमकै प्रतीक मानिने पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल दरबार भने उचित व्यवस्थापनको अभावमा भ्यालेन्टाइन डेमा समेत सुनसान हुने गरेको छ ।

तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदी किनारको रानीघाटमा यो रानीमहल बनाएका हुन् ।

कुल ५६ फिट चौडाइ, ११२ फिट अग्लो चार तले भवन वि.सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको छ । महलभित्र पोखरी, मन्दिर, बगैंचा आदि छन् ।

दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहललाई भारतको ताजमहलजस्तै प्रेमको प्रतीकका रूपमा लिइन्छ

पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटर दुरीमा रहेको रानीमहल वर्षौंसम्म केन्द्र सरकारको पुरातत्व विभाग अन्तर्गत बेवारिसे जस्तै थियो । हालै मात्र १० वर्षसम्म व्यवस्थापन र रेखदेखका लागि तानसेन नगरपालिका मातहत आएको छ ।

साविकको बौघागुम्बा गाविस वडा नं २ मा अवस्थित रानीमहल दरबार कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा बनेको छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करिब तीन घण्टा पैदल यात्राबाट पनि रानीमहल पुग्न सकिन्छ ।

यो महल युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । दरबारको मूलढोकाबाट कुँदिएका ढुंगा र ईट्टाबाट बनाइएका खुड्किला सीधै कालीगण्डकी नदीकुण्डमा जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधासहितको पौवासमेत निर्माण गरिएको छ ।

वि.सं. १९६० मा खड्ग समशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र समशेरले पाल्पामा थप सेना पठाई तैनाथी आफ्नो हातमा लिएका थिए । खड्गसमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलायन भएपछि रानीमहल बेवारिसे बन्न पुगेको भनाइ छ ।

दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहललाई भारतको ताजमहलजस्तै प्रेमको प्रतीकका रूपमा लिइन्छ ।

रानीमहलमा विशेष अवसरमा २५ सय जना र दैनिक सरदर २ सय ५० जनासम्म घुम्न जाने गरेका छन् । तर, व्यवस्थापन समिति नहुँदा अहिले त्यहाँ घुम्न जानेहरु टिकटविनै प्रवेश गर्ने गरेका छन् ।

संरक्षण र व्यवस्थापनको अभाव

पर्यटकीय विकासको राम्रो सम्भावना रहे पनि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरु नहुँदा महत्वपूर्ण सम्पदा ओझेलमा परेको छ । यहाँ न पिउने पानीको व्यवस्था छ, न सार्वजनिक शौचालयहरु नै । पुरानो र जीर्ण शौचालय पनि फोहोरले भरिएर दुर्गन्धित छ, शौच गर्न मिल्ने अवस्थामा छैन ।
रानीमहलसम्म पुग्ने सडक अझैसम्म कालोपत्रे हुन सकेको छैन । नियमित यातायात सेवा पनि छैन । उचित प्रचार प्रसार पनि छैन । सुरक्षा र रेखदेखको अभावमा दरबार जीर्ण बन्दै गएको छ ।

तर, अब रानीमहल दरबार र रानीघाटलाई यही अवस्था रहन दिनुहुन्न र कुशल व्यवस्थापन गरी आकर्षक पर्यटकीय स्थल बनाई उल्लेख्य मात्रामा आन्तरिक र वाह्य पर्यटक भित्राउनुपर्छ भन्ने निचोडमा स्थानीय सरकार र निजी क्षेत्र पुगेका छन् ।

स्थानीय सरकारले माल पाएर पनि चाल नपाएको अवस्था अब अन्त्य गरी निजी क्षेत्रसँगको साझेदारीमा रानीमहलको विकास गर्नुपर्ने पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादवसिंह कार्कीको आग्रह छ ।

कार्कीले अनलाइनखबरसँग भने, ‘ऐतिहासिक, पुरातात्विक महत्वको रानीमहल नेपालकै अनुपम पर्यटकीय गन्तव्य हुन सक्छ, यसको स्पष्ट खाका हामीसँग छ । निजी क्षेत्रलाई कम्तिमा २० वर्षका लागि दिनुस्, लाखौं आम्दानी दिन्छौं, रानीमहलको मुहार पनि फेर्छौं भनेका छौं, तर उहाँहरुले निर्णय गर्न सक्नुभएको छैन ।’

कम्तिमा भ्यालेन्टाइन डेको अवसरमा प्रेमसँग सम्बन्धित विभिन्न प्रतियोगितासहितको प्रेम महोत्सव गरेर देशकै ध्यान खिच्न र आन्तरिक पर्यटक तान्न सकिने महासचिव कार्कीको ठम्याइ छ ।

रानीमहलको उचित व्यवस्थापन गर्न जान्ने हो भने विश्वका एक से एक लभपार्कहरु भन्दा राम्रो बनाउन सकिने नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारी बताउँछन् ।

‘अरु देशमा भएको भए सामान्य स्थानलाई पनि प्रचारकै भरमा पर्यटक भित्र्याएर कसरी माथि उठाएका हुन्छन्,’ भण्डारीले भने ‘तर हामीसँग प्रामाणिक संरचना र पूर्वाधार हुँदा पनि मार्केटिङ गर्न नजानेर लाभ लिन सकेका छैनौं ।’

पर्यटकहरुलाई टिकट काटेर मात्रै रानीमहल प्रवेश गर्न पाउने व्यवस्था तत्काल शुरु गर्न, दरबार व्यवस्थापन समिति बनाउन, सो क्षेत्रमा स्तरीय होटल, रेष्टुराँ ल्याउन नगरपालिकाले तत्काल पहल थाल्नुपर्ने भण्डारीको सुझाव छ ।

‘पूर्वाधार हुने हो भने यहाँ आएर घुम्न र एक रात बिताउन जो कोही इच्छुक हुन्छन्’ उनले भने ।

रानीमहल दरबारको मर्मत सम्भार, रंगरोगन, संरक्षण र व्यवस्थापन गर्न कम्तीमा ५/६ करोड बजेट आवश्यक पर्ने । तर, उक्त बजेट नगरपालिकासँग नभएकाले खुम्चिएर बस्नुपरेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही बताउँछन् ।

अहिले थोरै बजेटले रंगरोगन, विद्युतीकरण आदि काम गरिरहेको जानकारी दिँदै प्रमुख शाहीले अरु काम गर्न संघीय र प्रदेश सरकारसँग बजेट माग गरिएको बताए । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा गएर भए पनि रानीमहल दरबार क्षेत्रलाई प्रदेशकै नमूना पर्यटकीय स्थल बनाउन नगरपालिका दत्तचित्त भएर लागेको उनले बताए ।

खासगरी प्रणय दिवसका दिन प्रेम महोत्सव गरेर एकै दिन हजारौं जोडीलाई भित्र्याउनेबारे नगरपालिकाको ध्यान गइसकेको शाहीले बताए । रानीमहल क्षेत्रको जग्गा स्थानीयले आफ्नो नाममा दर्ता गरेको पाइएकाले उक्त जग्गाको मुआब्जा दिएर भए पनि अधिग्रहण गरी गुरुयोजना नै बनाएर विकास गर्न नगरपालिकाले हरेक पक्षको सूक्ष्म अध्ययन गरिरहेको नगरप्रमुख शाहीले खुलाए ।

रानीमहलको सौन्दर्यीकरण गर्न प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेटमा इको पार्क बनाउने योजना रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

जोडीसहित तस्वीर खिचाउन मुख्यमन्त्रीको निम्तो

यसैबीच, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कम्तमिा एकपटक जोडीसहित रानीमहल आएर तस्वीर खिचाउन आग्रह गरेका छन् ।

प्रणय दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन ।

मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘प्रणय दिवसको दिन सामाजिक सञ्जालमा फोटो राख्नुहुने सबैमा कम्तमिा एकपटक जोडीसििहत प्रेमको प्रतीक पाल्पाको रानीमहल आएर फोटो खिचाउनु हुन अनुरोध छ । सबैलाई प्रणय दिवसको शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment