Comments Add Comment

पानी जहाज कार्यालयमा १६ कर्मचारी रहने

२ फागुन, काठमाडौं । नेपालमा पहिलोपटक ‘पानी जहाज कार्यालय’ स्थापना भएको छ । ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेका छन् । कार्यालय उदघाटन गर्दै प्रधानमन्त्री ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताए ।

पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले उद्घाटन गरे नेपाल पानी जहाज कार्यालय

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक/एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानी जहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानी जहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।

यो पनि पढ्नुहोस केही महिना पर्खिनुस्, पानी जहाजको टिकट पाइन्छ : प्रधानमन्त्री

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानी जहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।

नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । त्यसको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनको क्रममा नेपालले आफ्नै पानी जहाज चलाउने बताउँदा मजाकमा उडाइएको थियो । त्यसैले ओली नेतृत्वको वर्तमान सरकारले पानी जहाज चलाउने योजनालाई प्रतिष्ठाको विषय बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment