Comments Add Comment

कथा : ऊ र उसको प्रेम

जब फेब्रुअरी १४ आउँछ, ३७ वर्षीय ऊ सधैँ बेचैन हुन्छ । आजको यो दिन प्रेम गर्नेहरुका लागि विशेष दिन । अर्थात्, प्रणय दिवस । करिब १४ वर्ष अघि उसको खुसीमाथि आफ्नी प्राण प्रिय प्रेमिकाले तुषारापात गरिदिएकी थिइन् ।

ऊ अझैँ सम्झन्छ, त्यसवेला प्रेमिकाका लागि कोरेका पत्रहरु । प्रेमका सुमधुर मुस्कानरुपी मुक्तक र सायरीहरु । अनि, उनीसँग विताएको पल ।

‘त्यति बेला लाग्थ्यो संसारको सारा चिजहरु मेरै पक्षमा छन्’, भावविहृल हुँदै ऊ भन्छ, ‘तर, प्रेम पापी हुँदो रहेछ । अन्धो हुँदो रहेछ । यो त क्षणिक रहेछ ।’

उसको जन्म दिन भ्यालेन्टाइन डेको अघिल्लो दिन पर्दो रहेछ । ‘मेरो जन्म दिनमा उनले मलाई गिफ्ट दिन्थिन्’, केही दिनअघि भेटिएको उसले उनीसँगको साथलाई सम्झँदै भन्यो, ‘अनि भ्यालेन्टाइन डेमा भोलिपल्ट म उनलाई गिफ्ट दिन्थें ।’

उसको यति विलौना सुन्दै गर्दा उसको कथाप्रति मेरो चाख बढ्दै गयो । उसको कुराको गहिराइमा म डुब्दै गएँ ।

ऊ क्याम्पसमा पढ्दैताका एउटी युवतीसँग गहिरो प्रेममा रहेछ । उनले पनि उसलाई असाध्यै मन पराउँथिन् । ‘त्यति वेला टेलिफोनको त जमाना थिएन । म पत्र कोरिरहन्थें’, ऊ भन्छ, ‘पत्र लेख्दालेख्दै ४/५ पन्ना सिध्याउथें, एकै रातमा । पत्रमा ऊ फिल्मका नामहरु जोडिदिन्थ्यो । कहिले प्रेमसँग सम्बन्धित कविता त कहिले गजल ।’

तर, ५ वर्षसम्म जारी रहेको उनीहरुबीचको सम्बन्ध छैठौं वर्षमा धमिलिन्छ । उसको विलौना सुन्दै गर्दा मलाई लाग्थ्यो यो कतै फिल्मी कथन त होइन । तर, उसको कथा कुनै फिल्मी कथावस्तु नभएर प्रेम जीवनको वास्तविक कहानी थियो ।

युवतीको घर परिवारसँग पनि उसको राम्रो चिनजान थियो । तर, उनीहरुबीचको सम्बन्ध बारे घरमा कसैलाई थाहा थिएन । साथीहरु भने उनीहरुको सम्बन्ध बारे जानकार थिए ।

युवतीको घरमा एक दिन एउटा युवक विवाहको प्रस्ताव लिएर आइपुग्छन् । सम्पन्न परिवारको युवा भन्ने बित्तिकै परिवारले विवाहको निर्णय लिन्छन् । तर, युवती भने उसँगै जीवन बिताउन चाहन्थी । अन्ततः युवतीले उसलाई भेटेर तत्काल विवाह गर्ने प्रस्ताव राखिन् ।

तर, उसको पारिवारिक स्थितिले त्यति बेला विवाहको माहोल सिर्जना गर्न सक्दैनथ्यो । यहाँ यो प्रेम जोडी ठूलो धर्म सङ्कटमा पर्‍यो ।

त्यस दिन युवती घर गइन् । भोलिपल्ट विहानै उसलाई युवतीका साथीहरुले एउटा खबर सुनाए । त्यो खबर सुन्दा ऊ आकाशबाट खसेझैँ भयो । उसका आँखा रसाए । ‘तिम्रो ५ वर्षसम्मको जोडी त आजबाट टुक्रिएछ नि !’, युवतीकी नजिककी साथीले उसलाई भनिन्, ‘तिम्रो प्रियसी त हिजो एउटा केटासँग भागिछे नि !’

गौरव पोखरेल

उसका साथीभाइहरुले उसले नै उनलाई भगाएर लगेको छ भन्ने सोचेका रहेछन् । तर, उसलाई बिहान घरमै देख्दा सबै तीन छक्क परे । उसले पनि बिहानीको मुहुर्तमै त्यस्तो खबर सुन्न पर्ला भनेर सोचेको पनि थिएन । धेरै दिनसम्म नसुतेको व्यक्तिझैँ उसका आँखा राता भए ।

‘यो हुनै सक्दैन । उनले मसँग खाएको कसम । उनका वाचा यसरी एक रातमै परिवर्तन हुनै सक्दैन’, ऊ त्यति बेला नै चिच्याएको थियो, ‘उनी कुनै परिबन्धमा परिन् होला ।’

पछि उनको घर जादाँ पो उसले सबै कुरा थाहा पायो । एक रातमा उनी त अर्कैकी भइसकिछन् । ‘माया एउटासँग….. बिहे अर्कैसँग….’, उसको कथा सुन्दा सुन्दै म यो गीत गुन्गुनाउन पुगेँ ।

ऊ पनि भावनामा निमग्न हुन पुगेछ । बेलुकीको ८ बजिसकेको थियो । यद्यपि, उसको कथाले पूर्णाहुती पाउने छाँटकाँट थिएन ।

‘त्यसपछि, उनले तिमीसँग भेट गरिनन् त ?’, म जवाफ लिन हतारिँए । यस्तो अनेकौं प्रश्नहरु मानसपटलमा घुमिरहेका थिए । भावुक हुँदै उसले भन्यो, ‘उनले मसँग त्यसपछि भेटेरै पो के गर्न सक्थिन् र !’ उसले अरु कुराहरु पनि थप्दै गयो । सबै कुरा यहाँ उल्लेख गरिसाध्ये छैन ।

उनी भागेर अर्कैसँग गएको दिनको भोलिपल्ट चाहिँ एउटा रोचक घटना भएछ । ऊ भोलिपल्ट बेलुकी बाटो हिँड्दै गर्दा उनी त्यही बाटोबाट हिँड्दै रहेछिन् । ‘अहो ! के खोज्छस्, कानो आँखो भनेझैँ भयो होला है ?’, मैले सोधेँ ।

उसले त्यति बेला उनलाई नहेरी हिँडेछ । अलिक पर पुगेपछि ऊ उनको समीपमा पुग्यो । तर, उसले वास्ता गरेन । उनीहरु कट्नै लागेका थिए । युवतीले उसलाई च्याप समातिन् र अंगालोमा बाधिन् ।

‘न छो मलाई ! हिजो कोसँग गएकी थिइस् ?’, ऊ यसो भन्न पुगेछ । ‘म मावल गएकी थिएँ’, उनले रुन्चे स्वरमा भनिछिन् । तर, यसो भन्दै गर्दा ऊ पत्याउने वाला थिएन । किनकी, उसले सम्पूर्ण वास्तविकता उनकी नजिककी साथीबाट थाहा पाइसकेको थियो ।

ऊ आफैँ त्यस दिनदेखि युवतीसँग टाढिन खोजेको रहेछ । आखिर उनको त्यही केटासँग विवाह भयो । अहिले उनको एउटा बच्चा पनि छ रे । तर, सम्पन्नताको लोभमा अर्कैसँग विवाह बन्धनमा बाँधिएकी उनलाई त्यस केटाले धोका दिएछ । अहिले उनी वैदेशिक रोजगारको क्रममा अर्कै देशमा छिन् ।

उसको पनि विवाह भैसकेको छ । ‘कहिलेकाहिँ बेला मौकामा उनीसँग भेट हुन्छ । म मेरो श्रीमतिलाई पनि सँगै लिएर जान्छु’, ऊ भन्छ, ‘मेरी श्रीमतीलाई पनि मैले सबै कहानी सुनाइसकेको छु ।’

उसलाई त्यस घटनाले साहित्यकार बनाएको थियो । घटनापछि उसको मष्तिस्कमा धाराप्रवाह रुपले कविता, गजल अनि मुक्तकहरुका हरफहरुको वर्षा भइरहन्छन् । अहिले ऊ आफैं पनि पत्रकार हो । भ्यालेन्टाइन्स डे जब आउँछ, ऊ आफ्नै कथा, व्यथा लेख्ने सुर गर्छ । तर, उसले आजसम्म आफ्नो कथालाई शब्दमा उतार्न सकेको छैन ।

उसले आफ्नो कथा लेखनी सुरु गर्नेवित्तिकै आँसुका फोहोराले कापीका पाना भिज्छन् । उसले आफ्नो कथा भ्यालेन्टाइन डेमा प्रकाशन गर्ने सुर गरेको धेरै भइसक्यो । मैले उसको यो सपनालाई आज साकार गर्ने प्रयत्न गरेँ । हिजो उसको जन्मदिन पनि थियो । उसलाई आज यही लेख मार्फत जन्मदिनको शुभकामना ।

५ वर्षको लामो प्रेमले उसलाई अरु केही नदिए पनि अपरम्पार सिर्जनाशक्ति दिएको छ । ऊ पत्रकारिता क्षेत्रमा चम्किएको छ । ‘पैसा तिरेर पनि नपाइने शिक्षा प्रेममा मैले पाएँ’, ऊ अहिले भन्छ, ‘अरु केही नभए पनि अहिले मैले प्रेममा ग्राजुयट गरिसकेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment