Comments Add Comment

जनताको जलविद्युत आयोजना : कसरी पाउँछन् नागरिकले सेयर ?

२ फागुन, काठमाडौं । सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रमले सबै नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने सरकारको दाबी छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते पहिलो सेयर आफूले किन्ने बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले जलविद्युत आयोजनामा सर्वसाधारणलाई पनि लगानीको अवसर दिन यो कार्यक्रम अघि बढाइएको बताए । स्वदेशका साथै विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर प्रदान गर्ने मन्त्रालयको योजना छ ।

६ प्रदेशका १९ आयोजना

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा १९ वटा आयोजनालाई लगानी जुटाईंदैछ । सबै आयोजनाको कूल क्षमता ३ हजार ४ सय ७९ मेगावाट छ ।

प्रदेश १ का अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (४८२), अरुण–४ (३७२ मेगावाट), इखुवा (३० मेगावाट) घुन्सा खोला (७२ मेगावाट), सिम्बुवा खोला (७० मेगावाट) समावेश छन् ।

प्रदेश नम्बर ३ बाट तामाकोशी–५ (९६ मेगावाट) र त्रिशुली–३बी (३६ मेगावाट) रहेका छन् भने गण्डकी प्रदेश बुढीगण्डकी प्रोक–२ (२४० मेगावाट), बुढीगण्डकी प्रोक–१ (१०० मेगावाट), बुढीगण्डकी ग्वारखोला (६० मेगावाट) र बुढीगण्डकी (क) (७५ मेगावाट) छन् ।

प्रदेश नम्बर ५ बाट भेरी बबई डाईभर्सन (४८ मेगावाट) को जम्मा एउटा आयोजना छ भने कर्णाली प्रदेशबाट फुकोट कर्णाली (४९२ मेगावाट) जगदुल्ला–१ (९२ मेगावाट), जगदुल्ला–२ (६५ मेगावाट) तथा सुदूरपश्चिम प्रदेशबाट चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (१६३ मेगावाट) र अपर सेती (५० मेगावाट) समावेश छन् ।

झण्डै ७ खर्ब लागत

‘जनताको जलविद्युत आयोजना’ मा समावेश १९ वटा आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) तयार पारेको अवधारणा पत्र अनुसार आयोजना सम्पन्न गर्न ६ खर्ब ९५ अर्ब ८० करोड लाग्नेछ । यसमध्ये ७० प्रतिशत अर्थात ४ खर्ब ८७ अर्ब ६ करोड ऋण लगानी हुनेछ भने ३० प्रतिशत अर्थात २ खर्ब ८ अर्ब ७४ करोड स्वँपुजी लगानी हुनेछ ।

ऋण रकम कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल दुरसञ्चार, राष्ट्रिय बीमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको कल्याणकारी कोषबाट जुटाउने योजना रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

आयोजनामा ५१ प्रतिशत सरकारी संस्थान र कम्पनी (संस्थापक सेयरधनी) तथा ४९ प्रतिशत सर्वसाधारणको सेयर हुनेछ । ४९ मध्ये ३९ प्रतिशत अधिराज्यभरका सर्वसाधारण र १० प्रतिशत आयोजना प्रभावितका लागि छुट्याइनेछ । यसअनुसार १९ वटा आयोजनामा १ खर्ब २ अर्ब २८ करोड बराबरको सेयर आम जनताका लागि हुनेछ ।

कसरी किन्ने सेयर ?

कार्यक्रम शुरु भएसँगै प्रवद्र्धक कम्पनीले बिक्री प्रवन्धकमार्फत सेयरको सार्वजनिक निष्काशन गर्नेछ ।

तोकिएका आयोजनामा सेयर लगानी गर्न इच्छुक ब्यक्तिले आस्वा प्रणाली अनुसार सेयर आवेदन दिनुपर्नेछ । हरेक कम्पनीको छुट्टाछुट्टै सेयर निष्काशन र आवेदन हुनेछ । कार्यक्रम अन्तर्गत आवेदकको डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्नेछ ।

सेयर बिक्री खुला भएपछि आवेदकले आवेदनका साथ खरिद गर्न चाहेको रकमको १० प्रतिशत पहिलो किस्तामा भुक्तानी गरे पुग्नेछ । आयोजनको न्युनतम् ७५ प्रतिशत भौतिक निर्माण सकिएपछि बाँकी ९० प्रतिशत दोस्रो भुक्तानीमा दिए हुनेछ ।

एक जनाले न्यूनमत १०० र अधिकतम १० हजार कित्ता आवेदन दिन सक्नेछन् । प्रति सेयर मूल्य १०० रुपैयाँ छ ।

साथै विपन्न वगृका लाथि विपन्न कर्जामार्फत सेयर आवेदन दिने व्यवस्था मिलाइने मन्त्रालयले नामाएको छ । स्थानीय तहले विपन्न बर्ग भनेर सिफारिस गरेपछि यो ऋण पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment